आज बुद्द जयन्ती , विभिन्न कार्यक्रम गर्दै मनाईदै


प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।

छत्तीस वर्षका उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गरेका थिए, जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ ।

“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ,  दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”,

बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेको बताइन्छ । “भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ वटा मार्ग(आर्य अष्टाङ्गिक मार्ग) छन् भनी बुद्धले ज्ञान दिएका छन् ।

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि(प्रज्ञा, शील र समाधि) पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् ।

यस वर्ष दुई हजार ५६२ औँ बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: