आगामी सागमा नेपालले धेरै भन्दा धेरै मेडल ल्याउने : खेलकुद मन्त्री विश्वकर्मा


युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री विश्वकर्माले आगामी डिसेम्बर १ देखि १० सम्म हुने उक्त प्रतियोगिता आयोजना र सफलतापूर्वक सम्पन्न गर्न सरकार तयारीमा जुटिरहेको बताए।

आव २०७६/७७ को नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन क्रममा भनिसकेको र कार्यक्रम पारित भइसकेको उनले बताए।

हिजोमात्रै आफ्नै अध्यक्षतामा उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिए।

‘हिजोको समिति बैठकमा छलफल भएअनुसार हामी छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं,’ उनले भने, ‘सहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने निर्णय पनि भएको छ।’

नेपालले तेस्रो पटक साग आयोजना गर्न लागेको भन्दै उनले यो प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्ने लक्ष्य र विश्वास रहेको दाबी गरे।

‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेका छौं,’ उनले भने। सन् १९९९ मा नेपालले दोस्रो स्थान र १८ औं एसियन गेममा ३३ औं स्थान हासिल गरेको थियो। त्योबेला नेपालले २० वर्षपछि रजतपदक हासिल गरेको थियो।

उनका अनुसार तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा र खेलाडी छनौट गर्नेछन्। खेलाडी छनौट गरिसकेपछि बन्द शिविरमा आवश्यक प्रशिक्षण दिइने र जेठसम्म सबै काम सक्ने उनले बताए। प्रतियोगितामा २७ वटा खेल आयोजना गरिनेछन्।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: