लोकसेवाले ठुलो संख्यामा विज्ञापन माग गर्दै, कहिले खुल्छ विज्ञापन ?


लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ ।  लामो समयदेखि अवरुद्ध हँुदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो ।

आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको जनाएको छ । आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारांै कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो । लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।

आयोगले स्थानीय तहका लागि श्रेणीगत नभएर तहगत पदमा विज्ञापन गर्ने गृहकार्य थालेको छ । कर्मचारी समायोजन गर्दा स्थानीय र प्रदेश स्तरमा तहगत पदको व्यवस्था गरिएकाले आयोगले सोहीअनुसार स्थानीय तहमा रिक्त रहेका विभिन्न तहमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको हो । आयोगले हालको श्रेणीगत पदको पाठ्यक्रमलाई नै तहगत पदको लागि पनि मिल्ने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारबाट स्थानीय तहमा रिक्त पदमा पदपूर्तिको माग भई आएकाले त्यससम्बन्धी गृहकार्य अघि बढाइएको जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार लोकसेवालाई पत्र पठाउँदै ४३७ वटा स्थानीय तहमा ११ हजार ४९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

मन्त्रालयले अझै केही स्थानीय तहबाट रिक्त पदको विवरण आउने क्रम रहेकाले केही पद थप गरेर पठाउन सकिने जानकारी आयोगलाई दिएको छ । सोहीअनुसार अयोगले थप भएका पदलाई समेत समेटेर विज्ञापन गर्ने तयारीमा जुटेको हो ।

लोकसेवा आयोगले केही अन्यौलता अन्त गर्नुपर्ने बताएको छ । यसअघि श्रेणीगत रूपमा लिइँदै आएको परीक्षा अब तहगत रूपमा लिनुपर्ने भएकाले श्रेणीलाई तहमा लैजाँदा तहअनुसार आवश्यक पर्ने शैक्षिक योग्यताको निर्धारण सरकारले गर्नुपर्ने आयोगले जनाएको छ । यसैगरी श्रेणीलाई तहमा लैजाँदा अपनाउनुपर्ने विधिका बारेमा समेत सरकारले निर्णय गर्नुपर्ने भएको छ । यसैगरी स्थानीय तहको कर्मचारी प्रशासनसम्बन्धी कानुन पनि बनिनसकेकाले मन्त्रिपरिषद्ले पनि भर्ना प्रक्रियाका लागि त्यससम्बन्धमा विशेष निर्णय गर्नुपर्ने आयोगको सुझाव छ । आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: