बार अध्यक्ष र न्याय परिषद सदस्य बीच झन्डै कुटाकुट


 

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र न्याय परिषद सदस्य रामप्रसाद सिटौलाबीच बाझाबाझ भएको छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतमा बिहीबार आयोजित समारोह सकिएपछि जलपानका क्रममा श्रेष्ठ र सिटौलाबीच झन्डै हात हालाहालको अवस्था बनेको हो ।

उनीहरुबीच विवाद चर्किंदै गएपछि केही न्यायाधीश र कानुन व्यवसायीले छुट्याएका थिए। बारका पूर्वअध्यक्ष शेरबहादुर केसीसँग सर्वोच्च अदालत परिसरमा एक टेलिभिजनसँग अन्तर्वार्ता दिएर हिँड्ने क्रममा बार अध्यक्ष श्रेष्ठको न्यायपरिषद सदस्य सिटौलाको जम्काभेट भएको थियो।

त्यसलगत्तै दुवैजना एक आपसमा विवाद गरेका हुन्। ‘तपाईले बारको मर्यादा बुझ्नुभएन’ श्रेष्ठले भने, ‘न्याय परिषदमा बसेर जथाभावी गर्ने?’ त्यसपछि सिटौलाले ‘के गर्न सक्ने हो? गरे हुन्छ’ भन्ने जवाफ दिएका थिए। त्यसपछि दुवै ‘तँ तँ, म म’ को तहमा गालीगलौजमा उत्रिएका थिए।

बाझाबाझका क्रममा श्रेष्ठले बारको मर्यादा भूलेको भन्दै गालीगलौज गरेका थिए भने सिटौलाले ‘तैँले के गर्न सक्छस्, गर’ भनेर जवाफ फर्काएका थिए।

छुट्याएपछि बाहिरिने क्रममा समेत दुवैबीच भेट भएपछि फेरि सवाल जवाफ भयो। बाझाबाझ गर्न थालेपछि कानुन व्यवसायीका साथै केही न्यायाधीशले छुट्याएका थिए। त्यसपछि न्यायपरिषद सदस्य सिटौला आफ्नो गाडी चढेर सर्वोच्च अदालतबाट बाहिरिएका थिए। गाडीभित्र चढेपछि समेत उनले श्रेष्ठलाई औला ठड्याउँदै गाली गरेका थिए। सिटौला हिँडेपछि समेत बार अध्यक्ष श्रेष्ठले न्यायपरिषदमा गएर बारको मर्यादा भूलेको भन्दै गाली गरेका थिए।
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: