सरकारका नीति र कार्यक्रम बहुमतले पारित


प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताउनुभयो । आव २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासामा आफूले दिएको जवाफबारे सांसदले राखेका थप जिज्ञाशाको सम्बोधन गर्दै उहाँले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

त्यसअघि सांसदले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासाको प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पुनः प्रतिप्रश्न गरेका थिए । प्रधानमन्त्रीले सांसदले उठाएको प्रतिप्रश्नको जवाफ दिने क्रममा प्रतिपक्षी काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटक पटक सांसदलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: