प्रदेश ३ मा मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम


मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सिन्धुलीबाट सुरु भएको छ । सिन्धुली अस्पतालमा विशेष कार्यक्रम गरी आइतबार कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमले विषेश गरी अति विपन्न, सीमांकृत, लोपोन्मुख, शसस्त्र द्वन्द्वका घाइते, सहिद तथा बेपत्ता परिवार, दलित तथा महिला स्वास्थ्य स्वयं सेविकाको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्ट सुमित्रा गौतमका अनुसार कार्यक्रमको पहिलो दिन नै कमलामाई नगरपालिकाका १४ वडाका ३० देखि ७० वर्षका नागरिकलाई समावेश गरिएको छ । चालू आर्थिक वर्ष ०७५/०७६ को अन्त्यसम्ममा दुई हजारजनालाई यो सुविधा दिने डा. गौतमले बताइन् ।अति विपन्न, सीमांकृत, लोपोन्मुख, सशस्त्र द्वन्द्वका घाइते, सहिद तथा बेपत्ता परिवार, दलित तथा महिला स्वास्थ्य स्वयं सेविकालाई लक्षित गरी कार्यक्रम ल्याइएको प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए ।

उनले मुटु तथा रक्तनली, दीर्घ श्वासप्रश्वास, मधुमेह तथा क्यान्सरका बिरामीको समयमै पहिचान गर्ने र उपचारमा सहयोग गर्ने गरी कार्यक्रम ल्याइएको बताए । अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता, मदिरा सेवनलगायत कारणले दीर्घ रोगी बढेको र प्रदेश ३ मा यो  समस्या निरन्तर बढिरहेकाले कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।

धादिङ अस्पताल, हेटौँडा अस्पताल, सिन्धुली अस्पताल, चौतारा अस्पताल र भक्तपुर अस्पतालमा परीक्षणका रूपमा कार्यक्रम सुरु भइसकेको छ । यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० लाख बजेट छुट्याएको छ । यही बजेटमध्ये सिन्धुली अस्पतालमा ४४ लाख पठाइसकेको मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए ।  आजको नयाँ पत्रिकाबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: