समाजवादी पार्टी,नेपाललाई पनि प्रचण्ड ओलीकै पार्टीलाई जस्तो नामको समस्या


संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको ‘समाजवादी पार्टी, नेपाल’ नाम पाउन कानुनी समस्या देखिएको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता छ । एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी व्यवस्था छ ।

आयोगमा विष्णुराज अर्याल अध्यक्ष रहेको ‘समाजवादी पार्टी नेपाल’ दर्ता छ । गत निर्वाचनमा उक्त पार्टीले उम्मेदवारी नदिए पनि कानुनी हैसियतमा भने सम्पूर्ण प्रक्रिया पूरा गरेको दलका रूपमा आयोगमा सूचीकृत छ । उक्त दलका लागि चुनाव चिह्न ‘सुकुन्दा’ तय गरिएको थियो ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले दुई दल एकीकरण भएको औपचारिक जानकारी आयोगमा आइनसकेको बताए । ‘औपचारिक रूपमा एकीकरणको जानकारी, पार्टीको नामलगायत विषय प्राप्त भएपछि आवश्यक छानबिन गर्नेछौं,’ उनले भने, ‘एउटै नामको अर्को पार्टी दर्ता गर्न मिल्दैन । आवश्यक छानबिनपछि मात्रै नाम जुधे/नजुधेको निक्र्योल गर्न सकिन्छ ।’ फोरमका राजेन्द्र श्रेष्ठ, शिवजी यादवलगायत नेताहरू आइतबार आयोग पुगेर प्रस्तावित नामबारे जानकारी लिएका थिए । आयोगका कर्मचारीले उक्त नामको पार्टी पहिले नै आयोगमा दर्ता रहेको जानकारीगराएका थिए ।

फोरम अध्यक्ष यादव र समाजवादी पार्टीका अध्यक्ष अर्यालबीच पनि भेट भएको थियो । ‘नामका विषयमा स्पष्ट छलफल भएको थियो, तर पनि जानीजानी उहाँहरूले मैले नेतृत्व गरेको पार्टीकै नाम राख्नुले आश्चर्यचकित बनेको छु,’ अर्यालले भने, ‘आयोगले पक्कै पनि उक्त नामबाट अर्को दल दर्ता गर्नेछैन । त्यस्तो गर्न खोजिए अदालत जानेछौं ।’ एकीकरण प्रक्रियामा अर्याललाई मिलाएर पनि उक्त नाम राख्न सकिने विषयमा छलफल भएको थियो । तर, कुरा नमिलेको अर्यालले बताए ।

हाल घोषित नाममा रहेको ‘नेपाल’ हटाएर समाजवादी पार्टी राख्ने वा नेपाललाई अगाडि ल्याएर नेपाल समाजवादी पार्टी नाम राख्न सकिने विषयमा नेताहरूबीच छलफल भएको थियो । घोषणाका बेला नसच्याईकनै अन्य पार्टीको नामसँग हुबहु मिल्ने गरी ब्यानर तथा सहमतिपत्रमा नाम लेखियो ।

राजनीतिक दलहरूले दल एकीकरण गर्दा नाम घोषणापूर्व कानुनी व्यवस्था तथा निर्वाचन आयोगमा दर्ता रहेका नामहरूको सूची नहेर्दा पटक-पटक यस्ता समस्या दोहोरिँदै आएका छन् । गतवर्ष दुई ठूला दल एमाले र माओवादी केन्द्र एकीकरण हुँदा राखिएको ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम पनि जुधेको थियो । पछि कोस्टभित्र नेकपा थपेर सच्याइयो ।

उक्त नामका विषयमा अझै सर्वोच्चमा मुद्दा विचाराधीन छ । त्यस्तै, त्यसभन्दा अगाडि ६ मधेसवादी दल एकीकरण भएर घोषणा गरिएको राष्ट्रिय जनता पार्टीको नाम पनि जुधेपछि नाम पछाडि नेपाल थपएकिो थियो । फोरम निर्वाचन समिति प्रमुख नेता शिवजी यादवले नाम जुधेको विषयमा आफूहरू अवगत रहेको बताए । आजको कान्तिपुर दैनिकबाट |
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: