नयाँ शक्ति र फोरम बीच एकता : फोरमले सरकार छोड्ने


संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्रबीच पार्टी एकता गर्ने सहमति भएपछि निर्णय सार्वजनिक गरिएको हो ।

पार्टी एकतासँगै नयाँ पार्टीको नाम पनि जुरेको छ । भट्टराई र यादवले नेतृत्व गर्ने नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । बाबुराम र उपेन्द्र पनि केपी-प्रचण्डकै जस्तो गरी दुबै अध्यक्ष हुने सहमति भएको छ । नयाँ पार्टीको पहिलो नम्बरको अध्यक्ष यादव र दोस्रो नम्बरको अध्यक्ष भट्टराइ हुने बताइएको छ । त्यो जिम्मेवारीका अाधारमा हुनेछ ।

पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । पार्टी एकता घोषणा कार्यक्रम २३ गते तोकिएको छ ।

सरकार बाहिर रहेको नयाँ शक्ति र सरकारमा रहेको फोरमबीच सरकारबारे धारणामा सहमति भएपछि दुबै पार्टी एकतामा पुगेका हुन् ।

यसअघि नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

नयाँ पार्टीले अब सरकारलाई संविधान संशोधनसहितका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिनेछ । माग पूरा नभए सरकार छाड्ने सहमति भएको छ ।

प्रतिनिधि सभामा अब नयाँ पार्टीमा १७ जना सांसद भएका छन् । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: