चारतारे, लालतारे कोहि नछोडिने सरकारका प्रवक्ताको भनाई


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका चारतारे, लालतारे जो भए पनि सत्य प्रमाण देखिए कारबाही गरिने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेकपा, नेपाली कांग्रेस जुनसुकै पार्टीका नेता वा पूर्वमन्त्री जोसुकै जोडिए पनि दोषी देखिए कारबाही गर्ने दृढता व्यक्त गरेका हुन् ।

बालुवाटारको जग्गा व्यक्तिको नाममा पुगेको विषय बाहिर आएपछि सरकारले छानबिन समिति बनाएर काम अघि बढाइरहेको बेला उल्टै सरकारको खेदो खन्ने गरिएको भन्दै उनले आपत्ति जनाए। सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘यो विषय उठान भएपछि सरकारले काम गरिँरहँदा उल्टो खेदो खनेकोमा टिठ लागेर आउँछ।’

नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन सरकार तयार भएको हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘सरकारले क्षतिपूर्ति दिँदैन। जसले ठग्यो, त्यही गिरोहले तिर्छ।’

सरकारी सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएको उल्लेख गर्दै यसमा कसैलाई पनि छुट दिन नसक्ने भनाइ सञ्चारमन्त्री बाँस्कोटाले दोहोर्‍याए।टुँडिखेललगायत देशका विभिन्न ठाउँमा सार्वजनिक जग्गा बेचिएको भन्ने सिलसिला सुरु भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सरकार यस विषयलाई गम्भीर रुपमा लिइ छानबिन र कारबाही अगाडि बढाउने दाबी गरे।
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: