मदिरा महासंघको उपाध्यक्षका उम्मेदवार महर्जन भन्छन्, जित सुनिश्चित छ


यही बैशाख २१ गते काठमाडौंमा हुन लागेको नेपाल मदिरा व्यवसायी महासंघको चुनावलाई लक्षित गरी मदिरा व्यवसायीहरु २ ध्रुवमा विभाजित भएका छन् । एक पक्षको नेतृत्व २ कार्यकाल महासचिव भइसकेका विष्णु खड्काले गरेका छन् भने अर्को पक्षको नेतृत्व हाल महासंघका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं मदिरा व्यवसायी संघका अध्यक्ष सोनाम शेर्पाले गरेका छन् । चुनाव नजिकिँदै गइरहेको अहिलेको अवस्थामा अबको निर्वाचनलाई लक्षित गरी व्यवसायीहरुले आ–आफ्नो पक्षमा माहोल तयार पारिरहेका छन् । 

यसैै सन्दर्भमा विष्णु खड्का टिमबाट नेपाल मदिरा व्यवसायी महासंघमा हाल सहकोषाध्यक्षको भूमिकामा रही जिम्मेवारी निर्वाह गर्दै आएका पाटनका मुकुन्द महर्जन पनि चुनावी मैदानमा होमिएका छन् । विभिन्न प्रचारमूलक तथा भेटघाटमा आफूलाई व्यस्त बनाइरहेका महर्जन मदिरा व्यवसायका एक अनुभवी पात्र हुन् । साथै उनी विभिन्न सामाजिक गतिविधिहरुमा पनि निरन्तर सक्रिय रहँदै आएका छन् ।

महासंघमा आफूले विभिन्न भूमिकामा रहेर निर्वाह गरेको भूमिका बमोजिम महासंघमा यसपटक आफ्नो विजय सुनिश्चित रहेको बताउने महर्जन अबको निर्वाचनबाट निर्वाचित भएपश्चात् महासंघलाई प्रभावकारी रुपमा गति दिन आफ्नो प्रभावकारी भूमिका रहने बताउँछन् ।

उपाध्यक्ष पदका उम्मेद्वार महर्जन अहिलेको निर्वाचनमा अध्यक्षले घोषणा गरेका कार्ययोजनाहरुलाई सार्थक बनाउने कार्यमा आफ्नो निरन्तर साथ रहने र ती प्रतिवद्धता पूरा गरेरै छोड्ने बताउँछन् ।

महासंघले राम्रो गति लिए सबै व्यवसायीको भविष्य सुरक्षित हुने हुनाले यसलाई सही दिशानिर्देश आवश्यक रहेको बताउँदै अबको कार्यसमितिले महासंघको भवन निर्माण, संगठनलाई व्यवस्थित गर्ने, नीतिगत पहलमा जोड दिने, मूल्यमा एकरुपता कायम गर्ने, लिकेज ब्रिकेज लगायतका समस्याहरुलाई व्यवस्थित गर्नुपर्ने लगायतमा विशेष ध्यान जानुपर्ने बताउँछन् ।

मदिरा कारोबार बिना बिल र बिना अन्तःशुल्क गर्न नहुने मान्यतामा प्रतिवद्ध महर्जन बजारमा मूल्य एकरुपता कायम नहुनुमा व्यवसायीहरु नभई कम्पनीले सञ्चालन गर्ने स्किम बढी जिम्मेवार रहने बताउँछन् । साथै अबको नेतृत्वले मूल्यको एकरुपता कायम गर्न प्रभावकारी भूमिका गर्नुपर्ने कुरामा समेत महर्जनको विशेष जोड रहँदै आएको छ ।

निर्वाचन पश्चात् आफूहरुको नेतृत्वले गर्नुपर्ने कार्यबारे बताउँदै महर्जन महासंघबाट प्रकाशन हुने ‘मदिरा आवाज’लाई निरन्तरता दिने, भवन निर्माणार्थ रकम सङ्कलन गरी भवन निर्माण कार्य अघी बढाउने, सबै मदिरा व्यवसायीहरुलाई एउटै दायरामा ल्याउन पहल गर्ने लगायतका कामहरु गर्नुपर्ने कुरामा समेत विशेष जोड दिए ।

महासंघको भवन निर्माणार्थ व्यावसायिक पक्षबाट सबैभन्दा बढी रकम सहयोग उपलब्ध गराएका महर्जन सफल व्यवसायीको रुपमा समेत परिचित छन् । हाल महर्जनले ललितपुरबाट टेन टु टेन लिक्वर स्टोर, मुकुन्द ट्रेड लिंक र जे.वि.एल. स्नुकर सञ्चालन गर्दै आएका छन् । विष्णु खड्का नेतृत्वको महर्जन सहितको टीमलाई मदिरा व्यवसायीहरुको बलियो साथ रहेको देखिन्छ ।

मदिराको व्यवस्थित कारोबारमा जोड दिँदै आएका उनी मदिरा व्यवसायी संघ ललितपुरका सल्लाहकार पनि हुन् । यसैगरी उनी होम साकोसका अध्यक्ष पनि हुन् ।

पछिल्लो समय ललितपुरको अलाबा नक्सालमा समेत भवन निर्माण गरेका महर्जनलाई भवन निर्माणको प्रयोजनबारे प्रश्न गर्दा उनले आफ्नो फरक योजना सुनाउँदै भने, ‘मैले नक्सालमा निर्माण गरेको भवनमा पूरै भवन भरि नै सबै गुणस्तर र ब्राण्डका स्वदेशी तथा विदेशी सबै किसिमका मदिराहरुको स्टोर हाउस बनाउने योजना बनाएको छु, जुन सम्भवतः नेपालको निम्ति नयाँ पहल हुनेछ ।’

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: