हुम्लाको पर्यटन प्रवर्धनको विशेष योजनामा होटल एलिस द वन्डर इन


होटल एलिस द वन्डर इन लिमिटेड. हुम्लाको सबैभन्दा ठूलो होटल हो । यस होटलमा २७ कोठा रहेकाछन् । उक्त होटलमा २ ओटा सभा हलहरु रहेका छन् । होटल यसै बर्षको जेठ देखि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ्र ।
इमर्जिङ नेपाल लिमिटेड मुख्य लगानीकर्ता रहेको होटल एलिस द वन्डर इन लिमिटेड हुम्ला जिल्लाको सबैभन्दा ठूलो होटल हो । करिब ८ करोड रकम लागतमा निर्माण भएको होटल एलिस द वन्डर इन लिमिटेडमा इमर्जिङ नेपाल लिमिटेडको ९२ प्रतिशत रकम लगानी भएको छ ।
सिमीकोटमा स्तरीय होटल नभएको अवस्थामा सुविधा सम्पन्न ‘होटल एलिस द वन्डर इन लिमिटेड’ स्थापना सँगै विभिन्न उद्धेश्यले हुम्ला पुगेका व्यक्तिहरुले निकै सहजताको महसुस गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा पर्यटनमा सम्भावना ः
पछिल्लो समय नेपाल सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघी बढाइरहेको छ । नेपालमा पर्यटनको राम्रो सम्भावना समेत रहेको कुरालाई विचार गर्दै दुर्गम क्षेत्रको पर्यटन प्रवद्र्धनको योजना सहित हुम्लामा होटल सञ्चालन गरिएको इमर्जिङ नेपालका निमित्त सिइओ तथा होटल एलिस द वन्डर इन लिमिटेडका सञ्चालक सुवर्ण पौडेलले बताउनुभयो ।

इमर्जिङ नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार उक्त होटल नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धन, रोजगारी सृजना, स्थानीय उत्पादनहरुको विस्तार एवं बजारीकरण लगायतका कुराहरुमा व्यापक परिवर्तन ल्याउने योजना बमोजिम यस होटलको निर्माण गरिएको हो ।
आरसिसि स्ट्रक्चरमा बनेको उक्त होटलबाट चारै तिर हिमाल लगायतका विभिन्न आकर्षित दृश्यहरुको अवलोकन गर्न सकिन्छ । साथै होटल क्षेत्रमा पुगेका पर्यटकहरुले खार्पुनाथ मन्दिर, लिमी उपत्यका, बुराउसे, रलिङ्ग गुम्बा, डाँडाफया, वरगाउँ, कर्णाली नदी लगायतका दृश्यहरुमा समेत भ्रमण तथा अवलोकन गर्न सक्नेछन् । साथै होटलमा पुगेका पर्यटकहरुको लागि स्किङ अर्थात हिउँमा चिप्लिने खेल समेत पर्यटक आकर्षणको लागि विशेष आकर्षित गर्ने माध्यम हुनेछ ।

कसरी जान सकिन्छ हुम्ला ?
हिन्दूहरुका आस्था केन्द्र शिवजीको बसोवास रहेको मानिने कैलाश मानसरोवरमा हरेक बर्ष नेपाल र भारतबाट ठूलो सङ्ख्यामा पर्यटकहरुको आवागमन हुने गर्छ । हरेक बर्ष पर्यटकहरुको वृद्धि हुँदै गइरहेको तथ्यलाई दृष्टिगत गर्दै होटल निर्माण गरिएको हो ।

सुवर्ण पौडेल, निमित्त प्रमुख कार्यकारी अधिकृत, इमर्जिङ नेपाल लिमिटेड

हरेक बर्ष भारतबाट करिब १५ हजार पर्यटकहरु कैलास मानसरोवर यात्रामा आउने गरेका छन् । आगामी दिनमा समेत पर्यटकहरुको आकर्षण बढिरहेको कुरालाई लक्षित गर्दै उक्त होटल सञ्चालनमा ल्याएको इमर्जिङ नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवर्ण पौडेलले सेतोघर डट कमलाई बताउनुभएको छ ।
होटल सञ्चालन पश्चात् पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको हुम्ला क्षेत्रको आर्थिक स्तर माथि उठाउन उल्लेख्य सहयोग पुग्ने इमर्जिङ नेपालको विश्वास छ । पर्यटकीय गतिविधि बढाउन र स्थानीय स्रोत साधनमा आधारित नयाँ सम्भावनाहरुको खोजी एवं पहिचान गर्ने र वस्तुहरुको बजारीकरण तथा रोजगारी सृजना लगायतका गतिविधि सञ्चालन गर्न समेत होटलको सञ्चालनले विशेष सहयोग पुग्नेछ ।

खासगरी कैलाश मानसरोवर क्षेत्रमा घुमफिरको लागि जाने पर्यटकहरुलाई लक्षित गरी निर्माण गरिएको उक्त होटलले १ बर्षमा नेपाली आन्तरिक र भारतीय गरी २ सिजनलाई लक्षित गरी पर्यटकीय गतिविधिहरु सञ्चालन गर्नेछ । खासगरी बैशाख देखि कात्तिक सम्मको ६ महिना अवधिलाई भारतीय पर्यटकहरुको लागि राम्र्रो सिजनको रुपमा लिइने गरिन्छ । यसैगरी कात्तिक देखि बैशाख सम्मको अवधिमा भने नेपाली पर्यटकहरुलाई लक्षित गरी पर्यटनमूलक गतिविधिहरु सञ्चालन गरिनेछ ।

यातायात र लागत :
हुम्ला अहिले सम्म सडक यातायातबाट सिधै जोडिएको छैन । काठमाडौंबाट नेपालगञ्ज सम्म सडक यातायातबाट जान सकिने अवस्था छ भने नेपालगञ्जबाट हुम्ला सम्म हवाई यातायात हुँदै जान सकिने अवस्था छ । हाल नेपालगञ्ज बाट हुम्ला सम्मको हवाई भाडा ११ हजार रुपियाँ कायम रहँदै आएको छ । स्मरण रहोस्, नेपालगञ्जबाट ४० मिनेटमा हुम्ला सदरमुकाम पुग्न सकिन्छ । ट्राभल एजेन्सीसँग सम्पर्क गरी यात्रा तय गर्दा सहज तवरले यात्रा सफल गर्न सकिन्छ ।

होटलका आगामी योजना :
होटलले आगामी दिनमा स्पा सेन्टर समेत सञ्चालनको योजना बनाएको छ । साथै होटलले हर्स राइडिङ र रिक्रिएसन सेन्टर समेत सञ्चालन गर्न योजना बनाएको इमर्जिङ नेपालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवर्ण पौडेल बताउनुहुन्छ । यसैगरी होटल क्षेत्रमा रारा क्षेत्रमा पुग्ने पर्यटकहरुलाई समेत आकर्षित गर्ने किसिमले नयाँ योजनाको साथ कामहरु अघी बढाएको छ ।

आगामी सम्भावना :
करिब ३००० मिटरको उचाइमा रहेको सिमिकोट नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकामको रुपमा समेत प्रसिद्ध छ । हाल सम्म सडक सञ्जालले नजोडिएको उक्त क्षेत्र केही समय भित्र नै बाजुराबाट जोडिनेछ । साथै चीनको हिल्साबाट मुगु सम्म १ बर्षमा नै सडक सञ्जाल समेत जोडिनेछ ।

पर्यटक आगमन वृद्धिको लक्ष्य :
अघिल्लो बर्ष करिब १५ हजार पर्यटकहरुको आगमन भएको हुम्लामा २० हजार पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको छ । नेपाल सरकारले समेत सन् २०२० लाई पर्यटन बर्षको रुपमा घोषणा गरी सोहीबमोजिम विभिन्न गतिविधिहरु अघी बढाइरहेको र नेपालको मध्य र सूदुर पश्चिम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको अवस्थामा आगामी बर्ष करिब १ लाख भारतीय पर्यटकहरु नेपालमा भित्रिन सक्ने अनुमानगरिएको छ ।

इमर्जिङ नेपालका लगानी क्षेत्रहरु :
इमर्जिङ नेपाल लिमिटेड नेपाल सरकार तथा नेपालका मुख्य औद्योगिक घरानाहरु एवं प्रतिष्ठित व्यक्तिहरुको लगानीमा स्थापित लगानी कम्पनी हो । यसले हालसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक, केयर रेटिङ नेपाल, होटल एलिस द वन्डर इन लिमिटेड, नेशनल पेट्रोलियम लिमिटेड तथा बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालमा लगानी गरेको छ ।
पौडेल इमर्जिङ नेपाल लिमिटेको, निमित्त प्रमुख कार्यकारी अधिकृत तथा होटल एलिस द वन्डर इन लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक हुन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: