एउटै बोकाको ३ लाख मुल्य ?


सामान्यतया एउटा बोकाका मूल्य कति पर्ला ? सहजै अनुमान गर्न सकिन्छ, २० देखि बढीमा ५० हजार । तर, एउटै बोकाको मूल्य ३ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । त्यो कुनै सुविधामुखी सहरमा बिक्रीका लागि राखिएको होइन । उदयपुर जिल्लाको पूर्वी क्षेत्र बेलका नगरपालिकाले आयोजना गरेको तीनदिने जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा सोही नपाको वडा–२ का पाण्डव कार्कीले प्रदर्शनीमा राखेको वयरवन जातको बोकाको मूल्य हो ।

मेलामा कार्कीले पालेको बोका प्रमुख आकर्षक रहेको थियो । बाख्रा फार्म सञ्चालन गरेर बसेका कार्कीले सो बोका अस्ट्रेलियाबाट झिकाएका हुन् । जन्मिएको ३ महिनामा २ लाख ५० हजार मूल्य लगाएर अस्ट्रेलियाबाट झिकाएको उनले बताए । ‘व्यावसायिक रूपमा बाख्रापालन गर्न अस्ट्रेलियाबाट तीन महिनाको पाठो २ लाख ५० हजार मूल्य तरेर झिकाएको हुँ त्यसैले सस्तोमा बिक्री गर्दिनँ । घरमा पालेकै ११ महिना भइसकेको छ,’ कार्कीले भने, ‘धेरैले ३ लाख ५० हजारसम्म दिइसके, मैले मानेको छैन । ४ लाख घटी बिक्री गर्दिनँ ।’

कार्कीले व्यावसायिक रूपमा बाख्रापालन गर्न बिहाडका रूपमा बोका ल्याएको बताए । वयरवन बोका प्रतिकेजी १ हजार ५ सय रुपैयाँले बिक्री हुने गरेको उनले बताए । खानका लागि स्वादिष्ट र स्वस्थ पनि रहने भएकाले यसको माग अधिक बढेको उनको भनाइ छ । कृषकलाई कृषि पेसातिर व्यावसायिकता र आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा भागलपुर दुग्ध कृषि सहकारी संस्था बेलका–२ को संयोजनमा २३ गतेदेखि तीनदिने मेला आयोजना गरेको हो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: