मेगा पब्लिक स्कुलमा अभिभावक दिवस सम्पन्न


मेगा पब्लिक स्कुलमा अभिभावक दिवस सम्पन्न गरिएको छ । ‘मेगा प्यारेन्ट्स मिट’ नाम दिइएको उक्त कार्यक्रम तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर वोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अन्य अतिथिहरुको रुपमा तारकेश्वर वडा नम्बर ८ का अध्यक्ष मनोज घिमिरे, वडा नम्बर १० का अध्यक्ष अमृत थापा, एनप्याब्सन तारकेश्वर नगरकार्यसमितिका अध्यक्ष गोविन्द भट्ट लगायत स्थानीय समाजसेवी, शिक्षासेवी राजनीतिकर्मी लगायतको उपस्थिति रहेको थियो ।

शनिवार आयोजना भएको कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई पुरष्कार वितरण कार्यक्रम समेत सम्पन्न भएको छ । यस विद्यालयले कक्षा ७ मा अध्ययनरत छात्रा एन्जिला महर्जनलाई ‘वेष्ट स्टुडेन्ट अफ द इयर–२०७५’ को रुपमा समेत पुरष्कृत गरेको छ ।

विद्यालयको औपचारिक कार्यक्रम वैदिक हिन्दू संस्कृति झल्कने गरी गणेशको पूजाआराधना सम्बन्धी सन्देश प्रवाह गरी शुरुवात भएको थियो । त्यसैगरी विवाह तथा रत्यौली सम्बन्धी नृत्य प्रस्तुत गरि विद्यालयले औपचारिक शिक्षाको अलावा संस्कृति र चरित्र निर्माणमा पनि विद्यार्थीहरु सबल बन्दै गएको सन्देश प्रवाह गरेको छ ।

 

विद्यालयमा उपस्थित सोही विद्यालयका पूर्व व्यवस्थापन समितिका प्रतिनिधिहरुले समेत विद्यालयले पछिल्लो समय प्रगतिपथमा अघी बढेको बताउँदै थप प्रगतिको कामना गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख रामेश्वर वोहोराले विद्यालयले विद्यार्थीको मनोवैज्ञानिक पक्षलाई समेत विशेष ख्याल गर्दै सोहीबमोजिम समाजमा नयाँ सन्देश प्रवाह गर्न सफल हुन सक्ने शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

साथै नगरपालिकाले पछिल्लो समय सरकारी र संस्थागत दुवै शिक्षालाई समान तवरले अघी बढाउनको निम्ति सरकारी विद्यालय सुधारमा केन्द्रित रहेको बताउँदै यसबाट निजी विद्यालयलाई कुनै अप्ठ्यारो नपर्ने समेत स्पष्ट पारेका छन् । विद्यालयहरु स्वस्थ प्रतिष्पर्धामा जानुपर्ने उनले बताएका छन् । साथै पछिल्लो समय स्थानीय निकायले आफू अनूकुल शैक्षिक कार्यक्रम तय गर्ने अधिकार प्राप्त गरेको र सोहीबमोजिम तारकेश्वरको भूगोल र इतिहास सम्बन्धी विषयवस्तु समेटिन लागेको समेत बताएका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: