निजी शैक्षिक संस्थाहरुकाे याेगदानलाइ सम्मान गरिनुपर्छ : प्रिन्सिपल अधिकारी


विगत २० वर्ष देखि शिक्षाको माध्यमबाट समाजको रुपान्तरण गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ निरन्तर शिक्षा क्षेत्रमा लागिरहनुभएका नेशनल मोडल ई. सेकेण्डरी स्कुल (बालाजु)का प्राचार्य डि.एन. अधिकारीसँग वर्तमान अवस्थाका शिक्षा क्षेत्रको समग्र अवस्था बारे गरिएको कुराकानीको सम्पादित अंश :

डि.एन. अधिकारी प्रिन्सिपल, नेशनल मोडल इङ्गलिस स्कुल

१. नेपालको अहिलेको शिक्षा प्रणालीलाई कसरी हेर्न सकिन्छ ?

अहिलेको शिक्षा प्रणाली समय अनुकूल परिवर्तन हुन नसकेको, सैद्धान्तिक शिक्षालाई मात्र बढी महत्व दिइएको, विद्यार्थीहरुले प्राप्त गरेको ज्ञानलाई हुबहु व्यवहारमा उतार्न कठिनाई भएको र नयाँ अभ्यासमा जान अझै समस्या नै कायम रहेको अवस्थामा छ । यसलाई अहिलेको समय अनुसार परिवर्तन गर्नु आवश्यक छ ।

 

२.निजी शिक्षाको आवश्यकतालाई नेपालको सन्दर्भमा कसरी हेर्न सकिन्छ ?

शिक्षाको विकास बिना कुनै पनि राष्ट्र प्रगतिको पथमा अगाडि बढ्न सक्दैन । आज विश्वका समृद्ध राष्ट्रहरुले शिक्षा र प्रविधिको विकासबाट फड्को मारेको देखिन्छ । यसैकुरालाई मध्ये नजर गर्दै निजी शिक्षण संस्थाहरुले बालमैत्री , व्यवहारिक,जीवनउपयोगी , प्रविधिमय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको हुनाले नेपालको सन्दर्भमा निजी शिक्षाको ठूलो आवश्यकता रहेको देखिन्छ ।

३.निजी शिक्षा सेवामुखी भन्दा बढी व्यवसायमुखी भएको आरोप छ , निजी शिक्षालाई अहिलेको संरचना वमोजिम चलाउन नहुने भन्ने पक्षमा राज्य देखिन्छ, यो कत्तिको औचित्यपूर्ण छ?

निजी शिक्षाले प्रदान गरेको योगदानलाई व्यवसायमुखी नजरबाट मात्र हेरिनु हुँदैन । यसले समग्र शिक्षा क्षेत्रमा ल्याएको परिवर्तनलाई सबैले स्विकार गर्नुपर्दछ । आजको युगमा नराम्रोलाई राम्रो बनाउने हो तर राम्रोलाई बन्द गर्ने होइन । त्यसकारण राज्यले विश्व परिवेश सुहाउँदो पाठ्यक्रम, निरन्तर अनुगमन, व्यवस्थित राष्ट्रिय परीक्षा निर्माण तथा संचालन तर्फ ध्यान केन्द्रित गर्नुपर्दछ । तर लामो समयदेखि शिक्षाको विकासमा विभिन्न कठिनाइहरुलाई पार गर्दै लागि परेका शैक्षिक संस्थाहरुलाई निरुत्साहित तुल्याउनु हुँदैन । आजको प्रतिष्पर्धात्मक युगमा सबैले आ-आफ्नो क्षेत्रबाट उन्नति र प्रगतिमा लाग्नु पर्दछ । तसर्थ निजी शिक्षाको सन्दर्भमा आएका टिकाटिप्पणीहरुको कुनै औचित्य हुँदैन ।  

४.निजी क्षेत्रबाट संचालित शिक्षा र राज्य पक्षबाट संचालित शिक्षा वीच बढ्दो खाडल कम गर्न के कसरी अघि बढ्नुपर्दछ ?

नेपालमा खासगरी दूई किसिमको शिक्षाप्रणली देखिन्छ, एउटा सरकारबाट संचालित सरकारी स्कुलहरु र अर्को निजी क्षेत्रद्वारा संचालित विद्यालयहरु हुन् । यी बीचमा ठूलो खाडल हुनाका पछाडि सरकारी स्कुलमा कमजोर व्यवस्थापन, चरम राजनीतिकरण, अभिभावकहरुको निस्कृयता , निरन्तर अनुगमन र निरिक्षणको अभाव एवं दूरदराजका विद्यालयहरुमा पाठ्यपुस्तकको पर्याप्तता नहुनु आदि कारणहरु छन् भने निजी शैक्षिक संस्थाहरुले सम्पूर्ण ध्यान आजको आवश्यकता अनुसारको शैक्षिक गुणस्तरको विकास तथा विद्यार्थी एवं अभिभावकहरुको चाहनालाई मध्य नजर गर्दै आफ्नो शैीक्षक गतिविधिहरु अगाडि बढाएको हुनाले यो खाडल देखिएको छ । तसर्थ सरकारी विद्यालयहरुमा निजीको जस्तो हरेक प्रकारले चुस्त एवं राजनितीकरणबाट मुक्त पारी ज्ञान प्राप्तिको एक मात्र थलोको रुपमा राख्नुपर्दछ ,साथै अभिभावहरुको सकृय सहभागिता पनि अपरिहार्य छ ।

५.नेपालको शिक्षा प्रणाली कत्तिको व्यवहारिक छ?

हालको शिक्षा प्रणाली व्यवहारिक भन्दा पनि बढी सैद्धान्तीक देखिन्छ । जस्तै एक वर्षभरी सिकेका कुराहरुको मूल्याङ्कन तिन घण्टाको परीक्षाबाट लिने गरिन्छ । विद्यार्थीहरुको व्यावहारिक पाटोलाई मजबुत बनाउने भन्दा पनि घोकन्ते शिक्षालाई बढी जोड दिइएको छ । वर्तमान शिक्षा प्रणालीले विद्यार्थीहरुलाई उद्यमशील, सृजना तथा अनुसन्धान गर्न सक्ने र सवल बनाउने पक्षमा त्यति ध्यान पुर्याएको देखि‌दैन ।

६.अहिलेको शिक्षा प्रणाली वमोजिम उत्पादित जनशक्तिले हाम्रा आगामी उद्देश्य र आवश्यकता पूरा गर्न सक्ने अवस्था छ कि छैन?
अहिलेको शिक्षा प्रणालीबाट उत्पादित जनशक्तिले आम्रा आगामी उद्देश्य र आवश्यकताहरु पूरा गर्न सक्ने अवस्था न्युुन देखिन्छ । किनकी आजको विश्व नया“ नया“ वैज्ञानिक आविष्कार, अनुसन्धान एवं सूचना प्रविधिमा आधारित हु“दै अगाडि बढिरहेको छ । यसैले हाम्रो सैद्धान्तीक ज्ञानमा आधारित शिक्षा प्रणालीबाट उत्पादन भएको जनशक्तिले समयको मागलाइृ पूरा गर्न कठिन देखिन्छ । कतिपय नविन सोच र उत्कृष्ट क्षामता भएका विद्यार्थीहरु पनि उपयुक्त अवसर, वातावरणको कमीका कारण विभिन्न अन्य मुलुकहरुमा पलायन हुने क्रम यथावत छ ।

७. तपाई शिक्षा क्षेत्रमा लागेर विभिन्न राष्ट्रिय स्तरका सम्मानहरुबाट समेत सम्मानित भएको व्यक्तित्व हुनुहुन्छ, यस क्षेत्रलाई अझ सुदृढ बनाउन यहाँको तर्फबाट केहि सुझाव छन् कि ?
शिक्षा क्षेत्रमा निरन्तर लागेको व्यक्तिको नाताले सम्मानित हुन पाउँदा यसलाई मैले अवसर र चुनौती दुबैको रुपमा हेरेको छु । शिक्षालाई सर्वसुलभ र गुणस्तरिय बनाउनुपर्छ भन्ने कुरामा हामी कहिल्यै पनि पछाडि हटेका छैनौ‌ । यस क्षेत्रलाई अझ प्रभावकारी र सुदृढ पार्नका लागि समग्र पाठ्यक्रम, व्यवहारिक शिक्षा प्रदान गर्ने ढाचँमा परिवर्तन गर्नु पर्दछ । आजको विश्व व्यापीकरणको युगमा आइपर्ने हरेक चुनौतीको सामना गर्न सक्ने , भोलिको समयलाई आवश्यक पूर्वाधारको निर्माण र विज्ञान प्रविधिलाई आत्मसाथ गर्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा प्रणाली हुनु आवश्यक छ । राष्ट्रले शिक्षा क्षेत्रमा ठोस र दिगो शैक्षिक योजना ल्याउनु पर्दछ । अनावश्यक टिकाटिप्पणी र शैक्षिक क्षेत्रलाई निरुत्साहित पार्ने क्रृयाकलापबाट शैक्षिक उन्नती सम्भव हुँदैन । 

८.अन्त्यमा यहाँले भन्नैपर्ने थप अन्य कुराहरु भए राखिदिनुुहोस् न ?
अन्त्यमा शिक्षा आर्जन गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो । त्यसैले राज्यले जहिले पनि शिक्षा क्षेत्रलाई मुख्य आधारभूत आवश्यकतामा पार्न जोड दिनु आवश्यक छ । नेपालको शिक्षा विश्व परिवेश सुहाउँदो , जीवन उपयोगी, वैज्ञानिक, प्रविधिमैत्री , नैतिकवान , अनुसन्धान एवं खोजमूलक , व्यावहारिक एवं अनुशासनयुक्त हुनुपर्दछ । निजी शैक्षिक संस्थाहरुले शैक्षिक विकासको लागि  दिएको  याेगदानलाइ कदर गर्दै अगाडि बढ्नुुपर्दछ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: