आज सरस्वती पुजा

  • विद्याकी देवि सरस्वतीलाई विभिन्न किसिमले पूजा आराधना गरि मनाइदै

  • सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी

    हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।

    प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
    तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।

    पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
    सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।

    नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
    एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।

    द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
    जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!!

    श्रीपञ्चमी अथवा बसन्त पञ्चमी सनातन हिन्दूहरुको एक विशेष पर्व हो । यस दिन विद्याकी देवि सरस्वतीलाई विभिन्न किसिम ले पूजा आरधाना गरि मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ । विभिन्न किंवदन्ति अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको सृष्टि गर्नु भयो जसमा विशेष त मनुष्य योनीको रचनामा गरिसके पछि भगवान ब्रह्मा खुशी हुन भएन वहाँलाई केही कुराहरुको कमी भएको भान भयो र फेरी विष्णुको अनुमति लिएर वहाँले आफ्नो कमण्डलुबाट जल पृथ्वीमा छर्नु भयो, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे ।

    जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भनि नामाकरण गर्नु भायो । सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नामहरूले पूजा गरिन्छ । यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन् । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजा अर्चना गरि मनाइन्छ ।

    श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ। जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौँ वसन्त पञ्चमी नै हो ।

    वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षिका हुन्। हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन् । यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ । उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।

    विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवर ले पूजा अर्चना गर्ने प्रचलन छ । बौद्धधर्मीहरूले उनलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् । बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभकार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आ आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।

    सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौँ उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। सरस्वतीको सेवाले व्यक्ति हरेक क्षेत्रमा सफल हुने मान्नेता रहिआएको छ

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: