मेगा पब्लिक स्कुलमा सरस्वतीपूजासँगै स्वास्थ्य शिविर


तारकेश्वरको शान्तिटोल स्थित संचालित मेगा पब्लिक स्कूलले सरस्वतीपूजाको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विनायक अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको स्कुलका प्रिन्सिपल अमृत भण्डारीले सेतोघर डट कमलाई बताउनुभएको छ ।
उक्त शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका जुनसुकै उमेरका व्यक्तिहरु सहभागि भई स्वास्थ्य लाभ लिन सक्नेछन् । बाल, महिला तथा दाँत सम्बन्धी समस्याहरुमा स्वास्थ्य शिविर विशेष केन्द्रित रहनेछ ।

सोही अवसरमा विद्यालयले विद्यार्थीहरुको प्रतिभामा आधारित विज्ञान प्रदर्शनी समेत आयोजना गर्नेछ । आफ्ना बालबच्चाहरुले विद्यालयबाट सिकेको सीप र ज्ञान प्रदर्शनी मार्फत अभिभावकहरुले समेत प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ । साथै सरस्वतीपूजाको दिन भर्ना हुने नयाँ विद्यार्थीहरुलाई नर्सरी देखि युकेजी सम्म भर्ना शुल्कमा शतप्रतिशत छुट समेत उपलब्ध गराइने भएको छ । माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत भर्ना शुल्कमा विशेष छुट उपलब्ध गराइने भएको छ ।


स्मरण रहोस्, मेगा पब्लिक स्कुल नियमित शैक्षिक क्रियाकलापको अलावा अतिरिक्त क्रियाकलापहरुमा समेत निरन्तर सक्रिय रहँदै आएको छ । भर्खरमात्रै सम्पन्न एनप्याब्सन तारकेश्वरको आयोजनामा आयोजित नगरव्यापी चित्रकला प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएको थियो । यो उपलब्धि विद्यार्थीहरु क्रमशः रुपिका सिंह र कमल गोलेले प्राप्त गरेका हुन् ।

मन्टेश्वरी विधिमा आधारित रही शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको यस स्कुलले भर्खरै विद्यार्थीलाई थप मनोरञ्जन उपलब्ध हुन सकोस् भन्ने मान्यताले प्लेस्टेसन समेत सञ्चालन गरेको छ ।

विद्यालयमा स्तरीय कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, श्रव्यदृश्य सामाग्रीहरुको उपलब्धता हुनुको साथै स्वस्थकर खाना र खेलकुदको लागि प्रयाप्त खेलमैदानको उपलब्धता छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: