ईटालियन कपबाट रोनाल्डोको युभेन्ट्स बाहिरियो



इटालियन कप फुटबलको अगिल्लो सिजनको विजेता युभेन्ट्स यस पटक भने क्वार्टरफाइनलमै पराजित भएको छ। एटलान्टाले बिहीबार बिहान घरेलु मैदानमा बलियो मानिएको युभेन्ट्सलाई ३-० गोलको फराकिलो अन्तरले हरायो।

जारी सिजनको घरेलु लिग इटालियन सिरिएमा उत्कृष्ट प्रदर्शन गरिरहेको युभेन्ट्स इटालियन कपमा भने एटलान्टासामु हार बेहोर्न बाध्य भयो । पहिलो हाफमै दुई गोल गरेको एटलान्टाले दोस्रो हाफमा पनि एक गोल थपेर फराकिलो जित निकालेको हो |

सुरुको ३७ औं मिनेटमा टिमोथी कास्टाग्नेले युभेन्ट्स विरुद्द एटलान्टाको लागि पहिलो गोल गरे। त्यसको दुई मिनेटपछि नै डुभान जापटाले एटलान्टाको अर्को गोल थपे । खेल सकिनुभन्दा चार मिनेटअघि कोलम्बियन स्ट्राइकर जापटाले नै टोलीका लागि तेस्रो गोल पनि गरे।

जापटाले पछिल्ला १० खेलमा एटलान्टाका लागि १७ गोल गरिसकेका छन्। एटलान्टाले अब इटालियन कपको सेमिफाइनलमा फियोरेन्टिनाको सामना गर्नेछ। फियोरेन्टिना भने बिहीबार बिहान खेलिएको क्वार्टरफाइनल खेलमा एएस रोमालाई ७-१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो।

एसी मिलान यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ। क्वार्टरफाइनलमा एसी मिलानले नापोलीलाई २-० गोलले हराएको थियो। शुक्रबार बिहान हुने इन्टर मिलान र लाजियोबीचको विजेतासँग एसी मिलानले सेमिफाइनल खेल्ने छ।

सन् २०१५ यता लगातार चारपटक इटालियन कपको उपाधि जित्दै आफ्नो प्रभावशाली उपस्थिति जनाउंदै आएको युभेन्ट्स यस पटक भने रोनाल्डोको उपस्थितिमा निस्तब्ध भएको हो | युभेन्ट्सलाई यी चारवटै उपाधि प्रशिक्षक मासिमिलियानो एलेग्रीले दिलाएका थिए। युभेन्ट्सले हालसम्म सर्वाधिक १३ पटक इटालियन कपको उपाधि जितेको छ।

एटलान्टाविरुद्घ सुरुदेखि नै मैदानमा ओर्लिएका स्टार पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि युभेन्ट्सका लागि कुनै चमत्कार गर्न सकेनन्। एटलान्टाविरुद्घको खेलमा रोनाल्डोसँगै अर्का अनुभवी खेलाडी पाउलो डिबाला पनि अग्रपँक्तिमा निरीह देखिए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: