जनकपुरमा ‘नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५’ सम्पन्न हुँदै


नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने राष्ट्रिय संंकल्पलाई साकार पार्न वातावरण संरक्षण अभिन्न सर्तको रुपमा रहेको कुरालाई मध्यनजर गर्दै वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको वातावरण विभागको समन्वयनमा त्रिभुवन विश्वविद्यालय अन्तर वातावरण अध्ययन केन्द्रीय विभाग (कीर्तिपुर)ले १५ दिने ‘नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५’ सञ्चालन गरेको छ ।

जनकपुरलाई प्रदूषणमुक्त बनाई हरियाली कायम गर्न त्रि.वि वातावरण विज्ञान केन्द्रीय विभागका उप–प्रध्यापक डा. दीप नारायण शाहको नेतृत्वमा सोही विभागका विद्यार्थीहरु सुशिल खत्री, अमृत महर्जन, सवित देसार, रत्न झा लगायतले पुष २५ बाट अभियान सञ्चालन गरिरहेका छन् ।

उक्त अभियानमा २० भन्दा बढी स्थानमा वातावरण सम्बन्धी सचेतनामूलक अन्तरक्रिया, छलफल तथा गोष्ठी लगायतका कार्यक्रमहरु आयोजना गरिएको छ । यस कार्यक्रमलाई सफल बनाउने क्रममा सयौं विद्यार्थी, वुद्धिजिवी, समाजसेवीका साथै सम्बन्धित सरोकारवालाहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्लाष्टिकजन्य तथा अन्य किसिमका फोहोरमैलाको व्यवस्थापन, सुरक्षा लगायत सम्बन्धित विषयहरुमा छलफल तथा अन्तरक्रिया समेत गरिएको छ ।
अभियान सञ्चालनको क्रममा जनकपुरको जनकचोक, महाविरचोक, पाठियाबजार, पुरानो बसपार्क, जिरोमाइल, मुरलीचोेक, मालपोतचोक, कदमचोक लगायतका विभिन्न ठाउँहरुमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।


यसैगरी प्रदेश नम्बर २ अन्तरगत वातावरण विज्ञान पढाई हुने एक्लो रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको वातावरण विज्ञान विभागका विद्यार्थीहरुलाई डा. दीपनारायण शाहले महाअभियानको सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको छ । उक्त गोष्ठीमा अमृत महर्जनले ‘प्लाष्टिक वातावरण र दिगो विकास’ सम्बन्धी प्रस्तुती राख्नुभएको थियो । सोही क्रममा विद्यार्थीहरु सुशिल खत्री र सवित देशारले संयुक्त रुपमा वातावरणीय कानुनको बारेमा प्रशिक्षित गराउँदै बि.एस्सी तेस्रो बर्षका विद्यार्थी आरती कुमारी मण्डलको अध्यक्षतामा ९ सदस्यीय जानकी इको क्लब समेत गठन गरिएको छ । साथै ‘जानकी इको क्लब’मा आवद्ध सम्पूर्ण विद्यार्थीहरु, स्थानीय वातावरणमैत्री अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागितामा पौष २८ गते शनिवार जनकपुरका विभिन्न ठाउँहरुमा वृहद जनकपुर सरसफाई अभियान सञ्चालन गरिएको छ ।

‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ लाई सफल बनाउन जनकपुर उपमहानगरपालिकाको भूमीका सम्बन्धमा पौष ३० गते जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रको अध्यक्षतामा समेत गोष्ठी सम्पन्न गरिएको छ । उक्त गोष्ठीमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (वातावरण विभाग)का शिक्षक डा.उदेश्वरलाल दास तथा त्रि.वि वातावरण विज्ञान केन्द्र्रीय विभागका उपप्रध्यापक डा. दीपनारायण शाहले आफ्ना भनाई राख्दै फोहोरमैला व्यवस्थापन प्रदूषण नियन्त्रण तथा हरियाली प्रवद्र्धनमा प्राविधिक सहयोग गर्न आफू सधैं तयार रहेको समेत बताउनुभएको छ ।

उक्त गोष्ठीमा महाअभियानको परिदृश्यसँग सम्बन्धित प्रस्तुतिकरण गर्ने कार्य शुशिल खत्रीबाट गरियो भने अमृत महर्जन र सवित देशारले क्रमशः प्लाष्टिक व्यवस्थापन र ल्याण्डफिल साइट लगायतका विषयवस्तुमा आफ्नो प्रस्तुती राखेका थिए । उक्त गोष्ठीमा बोल्दै उपमेयर मिश्रले अबका दिनमा नगर भित्रको फोहोरमैला व्यवस्थापन र हरियाली प्रवद्र्धनमा थप बजेट छुट्याउने र छिट्टै जनकपुर उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनको लागि ल्याण्डफिल साइट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै अबका दिनमा वातावरणीय समस्याको अनुसन्धनात्मक कार्यको लागि वातावरण विज्ञान केन्द्रीय विभाग त्रि.वि.सँग सहकार्य गर्न आफू इच्छुक रहेको समेत ऊहााले बताउनुभएको छ । उक्त गोष्ठीको रिपोटिङ रचना झाले गर्नुभएको थियो ।

‘नेपाल स्वच्छ वातावरण अभियान २०७५’ प्रदेश नम्बर २ स्तरीय कार्यक्रम वातावरण विज्ञान केन्द्रीय विभागको आयोजना तथा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस वातावरण विज्ञान विभागको सहआयोजनामा रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा वातावरण विभागका शिक्षक डा.उदेश्वरलाल दासको अध्यक्षता प्रदेश नं २ का उद्योग, पर्यटन, वनमन्त्री तथा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको विशेष आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा वातावरण विभागका विद्यार्थीहरुले पीपलको पातबाट व्याच बनाएर अतिथिलाई प्रदान गरेका थिए, जुन देशभरीको कार्यक्रम बन्यो । उक्त कार्यक्रममा प्रदेश संसद, जिल्लाका विभिन्न सरकारी निकाय, पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ३ ओटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । जसमा वातावरण विभागबाट वातावरण निरिक्षक निर्मल चौधरीले महाअभियान सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी त्रि.वि वातावरण विज्ञान केन्द्रीय विभागबाट डा. दीपनारायण शाहले वातावरणीय सुरक्षा तथा वातावरण सम्बन्धी जनशक्तिको महत्व सम्बन्धमा प्रस्तुतिकरण दिनुभएको थियो । आफ्नो प्रस्तुतीकरण दिँदै डा. शाहले आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउन त्रि.वि तयार रहेको समेत बताउनुभयो ।

तेस्रो कार्यपत्र पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले विश्वव्यापीकरण वातावरणीय समस्या तथा समाधानको लागि बनाइएको ऐन एवं नियमको बारेमा प्रस्तुतीकरण दिँदै संघ, प्रदेश र स्थानीय तहले कडाईको साथ कानुनको कार्यान्वयन गरेमा वातावरणीय समस्या हल हुने र नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितता हुने समेत बताउनुभयो । साथै सोही क्रममा ऊहाँले निजगढमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा ३० लाख रुख काट्ने निर्णय ठीक नभएको प्रतिक्रिया समेत दिनुभएको थियो । सोही कार्यक्रममा वैकल्पिक झोला प्रवद्र्धनको उद्धेश्यले सहभागिहरुलाई वितरण समेत गरिएकोे थियो । त्यस्तै माघ ४ गते वैकल्पिक झोला प्रवद्र्धनको लागि जानकी मन्दिरमा आएका दर्शनार्थिहरु, बाबाजी लगायतलाई समेत कपडाको झोला वितरण गरियो ।


समग्रमा नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ जनकपुर क्षेत्रका सरोकारवालाको सहभागितामा फोहोरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण, हरियाली प्रवद्र्धनको साथै प्लाष्टिकको प्रयोगमा कमी ल्याउने बारे जनचेतना जगाउनमा निकै प्रभावकारी रहेको पाइएको छ । साथै स्थानीय देखि नीतिनिर्माण तह सम्ममा वातावरण संरक्षण सम्बन्धी ध्यान आकर्षित गर्नमा समेत यस कार्यक्रमले निकै ठूलो सहयोग पुगेको पाइएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: