निर्वाचन कसूर तथा विवाद निरुपण कार्यविधि बन्दै



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया आइपर्ने विवाद समाधान गर्न निर्वाचन कसूर तथा विवाद निरुपण कार्यविधिलाई अन्तिम रुप दिने तयारी अघि बढाएको छ ।

बिगतका बर्षमा सम्पन्न निर्वाचनमा सामना गर्नुपरेका विभिन्न विवाद, द्वन्द्वको अनुभव मध्यनजर गर्दै आयोगले सो कार्यविधि तयार गरेको हो ।
संविधानतः स्थानीय तह, प्रदेश सभा सदस्य, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य, राष्ट्रपति उपराष्ट्रपति निर्वाचन गराउने जिम्मेवारी आयोगलाई दिएको छ । ती सबै निर्वाचनको क्रममा उत्पन्न हुने विवाद निरुपणको सुनवाई प्रक्रियामा एकरुपता कायम गर्न सो कार्यविधि तयार गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एउटै प्रवृत्तिका विवाद समाधानका लागि फरकफरक ठाउँमा फरकफरक विधि तथा प्रक्रिया अपनाइएको देखिएकाले एकरूपता ल्याउन कार्यविधि तयार गरिएको बताउनुभयो ।

विवाद निरुपणको सुनवाई प्रक्रियामा एकरुपता, पहुँच स्थापित, पारदर्शीता र विश्वसनीयताका लागि कार्यविधि तर्जुमा गरिएको उहाँले दावी गर्नुभयो ।

पूर्व निर्वाचन आयुक्त र आयुक्त, कानूनका ज्ञाताहरुसंगको सुझाव लिइसकेपछि त्यसलाई अन्तिम रुप दिन लागेको आयोगले जनाएको छ । यसअघि निर्वाचन विज्ञहरुले कार्यविधि लामो, झन्झटिलो भएको, विभिन्न कानूनसंग बाझिएको, द्वन्द्वका विविध पक्षबारे सुझाव दिइएको थियो । आएका सबै सुझाव केलाएर कार्यविधिमा समेटिनेछ ।

निर्वाचन पूर्वका विवाद, मतदानअघिको चरणका विवाद, मतदानका दिनका विवाद, मतदानपछिका विवाद लगायत विभिन्न चरणमा उत्पन्न हुने विवाद र त्यसलाई निरूपण समितिले कस्ता–कस्ता विषय सुनुवाइ गर्ने भन्नेसम्मका विषय कार्यविधिमा समेटिएको छ ।

मतदानअघि, मतदानको दिन र परिणाम घोषणा नभएसम्म थरीथरी विवाद देखिने गरेका छन् । निर्वाचनका क्रममा प्रतिद्वन्द्वी समूहबीच झडप, ¥याली तथा उम्मेदवारमाथि आक्रमण, आचारसंहिता उल्लंघन, मतदातामाथि त्रास सिर्जना, मतदान केन्द्रमा आक्रमण, मतपत्र च्यात्ने, मतपेटिकामा पानी हाल्ने, एउटाको मत अर्कोले खसाल्ने जस्ता विवाद देखिने गरेका छन् ।

कर्मचारी खटनपटनदेखि मतदान केन्द्रको व्यवस्थापनमा राजनीतिक दलहरूको असन्तुष्टिले निम्त्याउने विवाद हुने गरेका छन । गत वर्ष भएका तीन तहका निर्वाचनमा आयोगमा २६, विभिन्न अदालतमा १ सय ४६ र सर्वोच्च अदालतमा १ सय ११ वटा उजुरी परेको आयोगले जनाएको छ । मतदान केन्द्र र जिल्लास्तरमै उजुरी परेका तथा समाधान भएका विवादको संख्या अझ धेरै थियो । ९ वटा परिच्छेद रहने उक्त कार्यविधिमा विवाद निरुपण संयन्त्र, विवाद उजुरी दर्ता, सुनवाइ आदि विषय समेटिएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: