बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टकाे तयारी तीव्र तवरले, कसरी सम्पन्न हुनेछ ट्राभल मार्ट कार्यक्रम ?


नाट्टाका प्रथम उपाध्यक्ष अच्युत सर्मा गुरागाई

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट किन ?
नेपाल भगवान गौतमबुद्धको जन्मभूमी हो । नेपाल गौतम बुद्धको जन्मभूमी हुँदाहुँदै पनि यसको विश्व बजारमा प्रचारप्रसार भने हुन सकेको छैन । यसलाई प्रचारमा ल्याउन सकेको खण्डमा नेपालको लुम्बिनी क्षेत्र मार्फत धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग मिल्ने अपेक्षा गर्न सकिन्छ ।
विश्वबजारमा शान्तिको सन्देश फैलाउन समेत सकिने मान्यताले नेपालमा पहिलो पटक विश्वभरका उच्च पदस्थ व्यक्ति तथा सरोकारवालाहरुको उपस्थितिमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम)’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

कहिले हुँदैछ ?

उक्त कार्यक्रम जनवरी १० देखि १२ सम्म ३ दिनको लागि सञ्चालन हुनेछ । यो कार्यक्रम सञ्चालन पश्चात् नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धनमा विशेष सहयोग पुग्ने अपेक्षा लिएको आयोजक पक्षको तर्फबाट नाट्टाका प्रथम उपाध्यक्ष अच्युत सर्मा गुरागाईले बताउनुभयो ।

‘नेपाल बुद्ध ट्राभल मार्ट’ नेपालमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । यस उपलक्ष्यमा उक्त कार्यक्रम सम्पन्न गर्नको निम्ति तयारी तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव ज्यूको अध्यक्षतामा आयोजक कमीटि गठन गरि र यस कार्यक्रमलाई सफल पार्न नाट्टाको अलावा नेपाल पर्यटन वोर्ड, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी नगरपालिका, ५ नम्बर प्रदेशका मुख्य मन्त्री, विभिन्न मन्त्रालयहरु लगायतका विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरु लागिपरेका छन् । कार्यक्रमको मुख्य जिम्मेवारी नाट्टा केन्द्र अन्तरगत अघी बढाइएको छ । नाट्टाका प्रथम उपाध्यक्ष अच्युत सर्मा गुरागाईको संयोजकत्वमा गठित समितिले निकै तीव्रताको साथ ट्राभल मार्ट कार्यक्रमको तयारी तीव्र रुपमा अघी बढाएको छ ।

को–को सहभागि हुँदैछन् ?
यस कार्यक्रममा सहभागि हुनको निम्ति नेपालमा विश्वका विभिन्न देशहरुबाट अन्तराष्ट्रिय स्तरका भिक्षु, लामा, सञ्चारकर्मी, वक्ता, विभिन्न संस्थाका प्रतिनिधि पात्रहरु लगायत गरी करिब २ सय ५० को सङ्ख्यामा विदेशीहरुको उपस्थिति रहने छ भने नेपालबाट समेत गरी यस कार्यक्रममा करिब ५ सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहनेछ ।

यस कार्यक्रममा वक्ताको रुपमा सहभागि हुनको निम्ति बाङ् कि मुन (संयुक्त राष्ट्र संघका पूर्व महासचिव), सुनिल कुमार (अध्यक्ष, Universal Federation of Travel Agents Association (UFTAA)), क्रेन (अष्ट्रेलिया), नेपालका श्रीधर शमशेर राणा, सुरज वैद्य, भिक्षु मैतेय (उपाध्यक्ष, लुम्बिनी विकास कोष) लगायतको उल्लेख्य सहभागिता रहने उक्त कार्यक्रममा विभिन्न देशबाट ५० भन्दा बढी टुर अपरेटरहरु नेपाल आउने कार्यक्रम तय गरिएको छ । यसैगरी विभिन्न देशबाट ३० जना ब्लगर र ३० जना विभिन्न सञ्चार माध्यमहरुको उक्त कार्यक्रममा उपस्थिति रहनेछ ।

यसैगरी विभिन्न प्रतिष्ठित ट्राभल कम्पनीहरुका प्रतिनिधि लगायत निकै ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहने गरी सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई सम्पन्न गर्नको निम्ति सबै क्षेत्रबाट सरोकारवालाहरुको सहयोगको आफूहरुले अपेक्षा गरेको सेतोघर डट कम सँगको कुराकानीको क्रममा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईंले बताउनुभयो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: