नेपालमा यसकारण आवश्यक छ स्पोर्टस् र कल्चरल युनिभर्सिटी


अक्कल तामाङ अध्यक्ष, नेकाेस (जागरूक युवा उद्यमी)

पछिल्लो समय नेपालीहरुमा खेलकुद प्रतिको चासो बढ्दो छ । नेपालमा खेलकुदको लागि प्रयाप्त भौतिक पूर्वाधार, श्रोतसाधन, राज्यको लगानी र स्पष्ट नीति नभएको अहिलेको अवस्थामा पनि नेपालले गौरवशाली तवरले खेलकुदमा प्रगति गरिरहेको छ । जुन निकै खुसीको कुरा हो । अहिले खेलकुद क्षेत्रमा नेपालीहरुको चासो मात्र बढेको छैन, निजी क्षेत्रको पहलमा खेलकुद क्षेत्रलाई माथि उठाउनको निम्ति विभिन्न पहलहरु समेत भएका छन् । अब भने यसलाई ठोस कार्यक्रमको रुपमा नै अघी बढाउनु जरुरी भएको छ । अबका दिनमा भने नेपाल सरकार मातहत नै यस क्षेत्रलाई माथि उठाउनको निम्ति खेलकुद विश्वविद्यालय स्थापना गर्नु अति नै आवश्यक समेत देखिएको छ ।

खेलकुद आफैंमा व्यक्तिलाई अनुशासनमा राख्न र व्यक्तित्व विकासको निम्ति निकै महत्वपूर्ण क्षेत्र समेत हो । यसकारण विद्यालय तहका विद्यार्थीहरुलाई शिक्षाको साथसाथै अनिवार्य रुपमा खेलकुद क्षेत्रमा समेत जोड्नु जरुरी रहन्छ । यसो हुन सकेको खण्डमा उनीहरुमा आफ्नो लागि आफैं गञ्तव्य तय गर्ने क्षमता समेत विकास हुन सक्छ । यसबाट एकातिर व्यक्ति स्वयंलाई जिम्मेवार बनाउने कार्यमा खेलकुदको महत्वपूर्ण भूमीका हुन सक्छ भने अर्कोतिर खेलकुदले दैनिक जीवनमा आइपर्ने समस्याहरुलाई सहजै सामना गर्न र जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले तत्काल निर्णय लिएर सोही बमोजिम व्यक्तिगत तथा सामाजिक दायित्व निर्वाह गर्नको निम्ति समेत खेलकुद क्षेत्रले निकै महत्वपूर्ण भूमीका निर्वाह गर्ने गर्छ । यी सबै कुरालाई विचार गर्दा नेपालमा स्पोर्टस् युनिभर्सिटी आवश्यक देखिन्छ ।

पर्यटन विश्वविद्यालयको आवश्यकता :
नेपालमा बाह्य मुलुकबाट पर्यटकहरु आउनुको पछाडि मुख्य कारणहरु दुईओटा देखिन्छन् । एउटा यहाँको भौगोलिक परिस्थिति हो भने अर्को यहाँको संस्कृति । तर अहिले सम्म संस्कृतिको प्रवद्र्धन मार्फत पर्यटक आकर्षणको निम्ति भने खासै पहल हुन सकेको छैन । विश्व सम्पदा सूचीका १० मध्ये ८ ओटा सम्पदा सूचीहरु त नेपालमा नै छन् । यस्तो अवस्थामा नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गरेर हाम्रा सबै संस्कारहरुको संरक्षण र विश्वबजारमा प्रबद्र्धन गर्नको निम्ति पहल गर्ने हो भने नेपालमा यसले निकै महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्छ । नेपालमा विभिन्न जातका मानिसहरुको बसोबास छ । सबै जातहरुको आफ्नै किसिमको रहनसहन, भेषभूषा र संस्कृति छ ।

अहिले नेपालमा आउने बाह्य पर्यटकहरुको नेपालमा रहने बसाई अवधि करिब ६ दिन रहने गरेको छ । यसलाई बढाउनु जरुरी छ । यसको लागि नेपालमा पर्यटन आकर्षण गर्न सक्ने भौतिक संरचनाहरुको निर्माण तथा प्रवद्र्धनको आवश्यकता पर्दछ । यसको लागि अब संस्कृति विश्वविद्यालय र खेलकुद विश्वविद्यालय निकै नै महत्वपूर्ण बनिसकेको छ । यसलाई अघी बढाउन र सम्पन्न गर्नको हामीले प्रयाश गरिरहेका छौं । आगामी दिनमा यो कार्यमा नेपाल सरकारको समेत आवश्यक सहयोग प्राप्त हुनेमा हामी आशावादी छौं ।

नेपालमा स्पोर्टस् युनिभर्सिटी सञ्चालन गर्नको निम्ति सम्भावनाको अध्ययन गरेर नेपाल सरकारले यसको प्रक्रिया बढाउनु आवश्यक देखिन्छ । यद्यपि नेपाल सरकारबाट यसको निम्ति तत्काल पहल हुन नसके पनि विश्वका अन्य विश्वविद्यालयहरुबाट सम्बन्धन लिएर समेत यस किसिमका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्न सकिने अवस्था छ ।

सम्बन्धित जातजातीको संलग्नता समेत आवश्यक :
नेपालमा अहिले सम्म कल्चरल सेन्टर नभएको कुरालाई ध्यानमा राखेर नै सबै किसिमका जातजातीका मानिसहरुको अस्तित्व सुरक्षित हुने गरी विश्वविद्यालय स्थापना गर्नु जरुरी रहन्छ । यस क्रममा विश्वविद्यालय क्षेत्रमा स्थापना हुने कल्चरल सेन्टरको लागि जति रकम आवश्यक पर्ने हो, त्यसको निम्ति आवश्यक पर्ने रकम सम्बन्धित जाती र समुदायबाट नै सङ्कलन गर्न सकिन्छ । यस क्रममा नेपाल सरकार अन्तरगत विश्वविद्यालय स्थापनाको पहल हुनु जरुरी छ ।

प्रयाप्त जग्गा आवश्यक :
कल्चरल युनिभर्सिटी निर्माणको निम्ति प्रयाप्त जग्गा आवश्यक पर्छ । सबै किसिमका जातजातीका मानिसहरुका संस्कृतिहरु झल्काउन, संरक्षण गर्न तथा त्यस सम्बन्धी थप खोजअनुसन्धान समेत गर्नको निम्ति प्रयाप्त मात्रामा जग्गाको आवश्यक पर्ने हो । यस क्रममा नेपाल सरकारले उपलब्ध गराएको जग्गामा रहेर निजी क्षेत्रको व्यवस्थापनमा पनि उक्त कार्य सञ्चालन गर्न सकिन्छ ।

यसैगरी स्पोर्ट युनिभर्सिटीको सम्बन्धमा पनि नेपाल सरकारले स्वीकृति प्रदान गरी जग्गा उपलब्ध गराएर काम अघी बढाउने जिम्मेवारी दिएको खण्डमा खेलकुद क्षेत्रमा संलग्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यक्ति तथा संस्थासँग सम्बन्ध स्थापना गरी उक्त कामलाई अघी बढाउने कार्यको सम्पूूर्ण व्यवस्थापन निजी क्षेत्रबाट नै गर्न सकिन्छ ।

जग्गाको छनोट र लक्षित वर्ग :
खेलकुद क्षेत्रको निम्ति खासगरी शहरी क्षेत्रमा राम्रो सम्भावना रहन्छ । अहिले हामीले परिकल्पना गरेको स्पोर्ट युनिभर्सिटीको निम्ति स्कूल तह पूरा गरिसकेका विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा अघी बढाउने लक्ष्य लिइएको छ । यद्यपि सम्बन्धित व्यक्तिको तत्परता, क्षमता र परिस्थिति बमोजिम विद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पनि यस कार्यमा संलग्न गराउन सकिन्छ । यसको निम्ति हामीले विदेशी विश्वविद्यालयहरुमा यसको निम्ति कसरी अभ्यास भइरहेको छ भन्ने सम्बन्धमा पनि अध्ययन गरिरहेका छौं । यसरी स्थापना हुने विश्वविद्यालयबाट देशका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरुसँग सहकार्य गरी विद्यार्थीहरुमा खेलकुदप्रतिको चासो र महत्व विकास गर्ने कार्यलाई विशेष महत्व दिईनेछ ।

जर्मनीबाट प्रभावित भएका हौं :
विश्वका थुप्रै देशहरुमा यस अवधारणा बमोजिम विश्वविद्यालयहरु सञ्चालन भई खेलकुद तथा संस्कृतिको प्रवद्र्धनको निम्ति प्रयाश भएको पाइन्छ । खासगरी हाम्रो टीम जर्मनी पु्गेको बेला नेपालमा स्पोर्ट युनिभर्सिटी भएनभएको बारे हामीलाई प्रश्न गरियो । हामीले अहिले सम्म स्पोर्ट युनिभर्सिटी नभएको बताउँदा उनीहरुले छक्क पर्दै नेपालमा खेलकुद क्षेत्र कसरी चलेको छ भनेर प्रश्न गर्दा हामी नाजवाफ भयौं । वास्तवमा खेलकुद क्षेत्र अभ्यासमा मात्र सीमित क्षेत्र अवश्य होइन । यसको लागि आधारभूत सैद्धान्तिक तथा प्राविधिक विषयवस्तुको अध्ययन तथा विस्तृत खोज अनुसन्धानको समेत आवश्यकता पर्छ ।
जर्मनीमा रहने क्रममा हामीले के पवनि बुझ्यौं भने नेपाल उच्च क्षेत्रमा रहेको हुनाले अन्य कम उचाई भएका क्षेत्रहरुमा खेल खेल्नुपर्दा त्यहाँको वातावरणमा सहजै खेल्न सक्छन् भन्ने कुरा हामीले पायौं । यसले गर्दा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालले जित हासिल गरेर विश्वमा नयाँ कीर्तिमान बनाउन सक्ने थप सम्भावना देखिएको छ ।

बाह्य सहयोगको समेत अपेक्षा :
यदि नेपाल सरकारले हामीले परिकल्पना गरेका यी क्षेत्रलाई आवश्यक ठानेको खण्डमा हामीले ती क्षेत्रको निम्ति विभिन्न क्षेत्रका दातृ निकायहरुको सहयोगमा यस कार्यलाई सम्पन्न गर्न सक्छौं । यदि नेपालमा यो कार्य शुरुवात गरिने हो भने हामीलाई यसको निम्ति आवश्यक पाठ्यक्रम, खेलमैदान, भवन, आवश्यक सामाग्री तथा प्राविधिक सहयोगको लागि हामीलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास समेत हामीले पाएका छौं ।
अबका दिनमा नेपालमा यो कार्य नेपाल सरकारको योजना बमोजिम अघी बढ्नु जरुरी छ । यसो हुन सके नेपालमा आर्थिक विकासको निम्ति यो नयाँ क्षेत्रको रुपमा विकास हुन सक्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: