अब निर्माता कन्सेप्टमा लगानी गर्न डराउँदैनन् : नम्रता श्रेष्ठ



काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ फिल्म छनौटमा निकै चुजी मानिन्छन् । वर्षमा एक वा दुईभन्दा बढी फिल्म पनि गर्दिनन् उनी । हरेक फिल्ममा फरक भूमिका उनका लागि अपरिहार्य हुन्छ । भूमिका दमदार र फरक चरित्र भएका फिल्ममात्र उनको पहिलो रोजाईमा पर्ने गरेका छन् । ‘ताण्डव’, ‘छड्के’, ‘मौन’ लगायतका फिल्म यसका उदाहरण हुन् ।

‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘मेघा’, ‘क्लासिक’, ‘सानो संसार’ लगायतका फिल्मले उनलाई नेपाली फिल्ममा स्थापित गरेको थियो । पहिला निर्माता/निर्देशक कन्सेप्टमाथि जोखिम मोल्न तयार नहुने हुँदा कमर्सियल लभस्टोरी फिल्म नै आफूले बढी गरेको उनको तर्क छ । उनले फरक फिल्म गर्ने इच्छा भने पहिलादेखि नै रहेको बताइन् ।

मंसिर २१ गते उनी अभिनीत नयाँ फिल्म ‘प्रसाद’ रिलिज हुँदैछ । यसमा उनले निःसन्तान पत्नीको भूमिका निभाएकी छन् । यस्तै, प्रदर्शनको तरखरमा रहेको अर्को फिल्म ‘जाइरा’ मा उनी बक्सरको भूमिकामा छिन् । दुबै फिल्म फरक जानरका हुन् । अब चाहिँ फरक फिल्म गर्ने रहर पलाएको हो ? पत्रकारको प्रश्नमा उनी आफूलाई पहिलादेखि फरक गर्न मन भएको बताउँछिन् ।

‘पहिला हाम्रो फिल्म इन्डस्ट्री तयार थिएन र फिल्ममेकर्स पनि रिक्स लिन तयार हुनुहुन्न थियो’, उनी विगत सम्झँदै भन्छिन्, ‘केही वर्ष अगाडिसम्म सेल्फ ल्यान्डिङ हुने सोचले निर्माता/निर्देशकहरु कमर्सियल लभस्टोरी फिल्म मात्र बनाउने गर्दथे ।’ अहिले भने नयाँ निर्माता नयाँ प्रयोग गर्न रुचाउने उनको भनाई छ ।

फिल्म इन्डस्ट्रीलाई अर्को स्थानमा लैजानु पर्छ भन्ने सोचका मेकर्सहरुको आगमनले विस्तारै फरक टेस्टका फिल्महरु निर्माण हुन थालेको उनी बताउँछिन् । ‘पहिला मेकर र अडियन्स नै रेडी थिए वा थिएनन् भन्नेमै कन्फ्यूज थियो । अहिले भने फरक फिल्म बनाउन निर्माता तयार छन् र हेर्न दर्शक,’ उनले भनिन् । उनलाई लाग्छ, अब निर्माता कन्सेप्टमा लगानी गर्न डराउँदैनन् ।

‘राम्रो विषयमा फिल्म बनायो भने चल्छ भन्नेमा अब फिल्ममेकर्स विश्वत छन्, जसले हामीजस्ता कलाकारलाई धेरै सजिलो भएको छ ।’ आफूले गर्न चाहेको फरक भूमिकामध्ये ‘प्रसाद’ मा निभाएको भूमिका एक रहेको उनी बताउँछिन् । यसमा उनको अपोजिटमा अभिनेता विपिन कार्की छन् । दिनेश राउत निर्देशित फिल्ममा निर्देशक निश्चल बस्नेत पनि प्रमुख भूमिकामा छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: