नेकपाको चियापानमा ५० हजारलाई निम्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ ।

पार्टी एकतापछि पहिलोपटक विजया शमी, दीपावली, नेपाल संवत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमन्डपस्थित बगैंचामा हुने भएको छ ।

पार्टी एकता हुनुभन्दाअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।

गत वर्ष संघ र प्रदेशको निर्वाचनका कारणले चियापानको आयोजना गरिएको थिएन ।

चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमन्डपस्थित चियापानस्थलको निरीक्षण गरे ।

चियापानका लागि नेकपाले करिब ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार चियापानमा करिब ३५ हजार सहभागी हुनेछन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ ।

केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्टाइएको बताए ।

दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् ।

चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिनेछ । रासस

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: