साउदी अरबमाथि कडा कारबाही गर्ने ट्रम्पको चेतावनी



वासिंगटन । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दुतावासबाट बेपत्ता भएका पत्रकार जमाल खाशोग्गीको घटना झनै पेचिलो बन्दै गएको छ ।

पत्रकार खाशोग्गी वेपत्ता प्रकरणबारे बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि पत्रकारको हत्यामा साउदी अरबको हात रहेको पुष्टि भएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

साउदीको शाही परिवारको आलोचक पत्रकार जमाल खाशोग्गी २ अक्टोबरमा इस्तानबुलस्थित साउदी दूतावासमा गएका थिए । तर उनी फर्किएका छैनन् ।

टर्कीका अनुसन्धानकर्ताले उनको साउदी दूतावासभित्रै हत्या गरेर शब वेपत्ता पारेको हुनसक्ने आशंका जनाएका छन् । साउदी अरबले भने यी सबै आरोपको खण्डन गर्दै आएको छ ।

शनिबार एक टेलिभिजन कार्यक्रममा राष्ट्रपति ट्रम्पले उनको हत्या भएको पुष्टि भएमा अमेरिका यसबाट रुष्ट बन्ने संकेत गरेका हुन् । उनले भने, ‘यसको जाँच भइरहेको छ । धेरै गहिरो रुपमा यसको अनुसन्धान भइरहेको छ । कुनै तलमाथि भएको पत्ता लागेमा यसबाट अमेरिका निराश र रुष्ट हुनेछ ।’

यद्यपि उनले खशोग्गीको हत्याको आशंकालाई मध्यनजर गर्दै साउदीलाई हतियार बेच्न भने बन्द नगर्ने स्पष्ट पारेका छन् । यसो गरेमा अमेरिकालाई नै नोक्सान हुने उनको भनाई थियो ।

यसैबीच, टर्कीका विदेशमन्त्री मेवलुत काभासोगलुले खशोग्गी बेपत्ता भएको विषय छानविनका लागि टर्कीका अधिकारीलाई अनुमति दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘उनी कहाँ गायब भए ? त्यही दुतावासमा । यसकारण सबै कुरा बाहिर ल्याउनका लागि टर्कीका अधिकारीहरुलाई दूतावासमा जाने अनुमति दिनुपर्छ । हामीलाई अहिलेसम्म कुनै सहयोग प्राप्त भएको छैन । हामी सहयोग चाहन्छौं, हाम्रा मुख्य अभियोजक र विशेषज्ञलाई दूतावासमा जान आवश्यक छ र साउदी अरबले यो घटनामा सहयोग गर्नुपर्छ ।’

अर्कोतर्फ बेलायत र अमेरिकाले साउदी अरबमा हुने एउटा अन्तर्राष्ट्रिय सम्मेलन साउदी पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारिएको घटनालाई लिएर बहिष्कार गर्ने तयारी गरेका छन् ।

खशोग्गी बेपत्ता प्रकरणलाई लिएर कैयौं प्रायोजक र सञ्चार समूहले यसै महिना रियादमा हुने लगानी सम्मेलन बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।

कूटनीतिक स्रोतहरूले अमेरिकी अर्थमन्त्री र अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी बेलायतीमन्त्री सम्मेलनमा नजान सक्ने उल्लेख गरेका छन् । साउदी अरबले खशोग्गीको हत्या गराएको पुष्टि भए त्यसको भत्र्सना गर्दै संयुक्त रूपमा वक्तव्य जारी गर्ने विषयमा पनि अमेरिकी र युरोपेली कूटनीतिज्ञहरूबीच छलफल भइरहेको छ ।

सुधारका मुद्दाहरूलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साउदी राजकुमारले सम्मेलनको आयोजना गर्न लागेका हुन् । अमेरिकी अर्थमन्त्री र अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी बेलायतीमन्त्री दुवैजना सम्मेलनमा सहभागी नभए साउदी अरब आफ्ना दुई महत्वपूर्ण साझेदारबाट बहिष्कृत भएको रूपमा हेरिनेछ ।

अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी बेलायती मन्त्रालयका प्रवक्ताले सम्मेलनमा सहभागी हुनेबारे अझै टुंगो लागिनसकेको जनाएका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: