उधारो न्यायमा दसैं



दसैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला ?
चोरी ल्याउँला
धत्त पापी ! म छुट्टै बसुँला

हाम्रो पालाको दसैं अगाडिको एउटा सर्वप्रिय इन्डोर गेम, औंला भाँच्दै खेल्ने । धत्त पापी म छुट्टै बसुँला भन्दा हाम्रो अरू औंलाभन्दा थोरै परतिर रहेको बुढी औंलो अझ परतिर सार्दै दसैं आउँदै गरेको बेला केटाकेटी छँदा रमाइलो गरिन्थ्यो । एउटै हत्केलाको औंलालाई पनि किन त्यसरी हेपेको होला जस्तो लाग्थ्यो, त्यही बेलादेखि । मलाई पर भएको बुढीऔंलाको माया लाग्थ्यो, साँच्चै परतिर छुटिएर बसेको बुढीऔंला ।
मानौं, कि त्यो औंला आफंैमा एउटा छुटै व्यक्ति हो, जसलाई अरू आंैलाले हेला गरेर परतिर राखेका हुन् । त्यो बुढीऔंलाको प्रकृति हो या प्रवृति तर अन्य औंलाभन्दा बुढीऔंला परै बसिरह्यो, बसिरहन्छ ।
मेरो बालमस्तिष्कमा बुढीऔंलालाई दसैं कहिले आउँदैन भन्ने सदैव परिरह्यो, दसैं रेसिस्टस बुढीऔंला पापी कहलिएर अलिक परतिर बसेको नै थियो ।

म आज त्यही कहिल्यै दसैं नआउने अनि पापी कहलिएको बुढीऔंलालाई एउटा विम्बका रूपमा प्रयोग गर्न चाहन्छु अनि उद्धृत गर्न चाहन्छु । ती नेपाली परिवारहरूलाई जसकहाँ दसैं आएर पनि आउन सक्दैन, छाएर पनि छाउन सक्दैन । बरु दसैंले केही नमेटिने त्यस्ता यादहरू दिएर जान्छ, जसले यादहरूको भल फुटाएर आँसु तरतरी झारेर जाने गरेको छ ।
निर्मला एउटी प्रतिनिधि पात्र हुन्, समस्त पीडितहरूको, जसलाई नेपालले न्याय दिन सकेन । निर्मला र अन्य धेरै परिवार अनि घरआँगनमा यसपालि दसैं आउँदैन र आशिषका हरेक छन्दले गत वर्षको हर्षको सम्झना र त्यसको पीडा दिएर जानेछ ।
दसैं त तिनका आँगनमा आइसकेको छ, जसले शक्तिको भरमा अनि अपराधको आडम्बरमा निर्मला अनि निर्मला जस्ता धेरैको हत्यालाई लुकाउन अनि अपराधीलाई ओभानै राख्न सफल भएका छन् । हामी नेपालीहरूको भुल्ने बानी छ, जब सम्झन्छौं, तब प्लेकार्ड, फेसबुक स्ट्याट्स, ह्यासट्यागसहित सम्झन्छौं अनि जब भुल्छौं, तब रिचार्ज गरेपछिको रिचार्ज कार्डको पिन नम्बर भन्दा छिट्टै भुलिदिन्छौं ।

धेरै छिटो हामीले निर्मलालाई पनि भुल्छौं, जसरी हामीले निर्मला जस्ता अन्य सैयौंलाई भुल्दै आएका छौं । हामीले के भुलेनौं, कसकसलाई भुलेनौं ? भुइँचालो भुलेनौं कि नाकाबन्दी भुलेनौं कि इराकमा मारिएका १२ नेपाली भुलेनौं कि सुनकाण्ड भुलेनौं कि ? केके भुलेर भ्यायौं सोचेर ल्याउँदा ।
इराकमा १४ वर्षअघि १२ जना नेपालीको निर्ममतापूर्वक हत्या गरियो अनि हामी तात्यौ, अलिकति तोडफोड अनि सुरक्षित वैदेशिक रोजगारीको पैरवीमा । के हामीले त्यो घटनालाई सम्झेर केही पाठ सिक्यौं ? अहँ, बरु भुल्यौं त्यो घटनालाई अनि लर्कोका लर्को युवा आजसम्म पनि सुरक्षालाई सझौता गर्दै जोखिम मोलेर विदेश काम गर्न जाने र पठाउने क्रम जारी छ । कोही गोडा टेकेर फर्किन्छन् त कति काठको बाकसमा, हामीले इराकमा भएको त्यस घटनालाई भुलिदियौं ।

देश विकास हुदै छ । जब यो बन्छ, तब त्यो बन्छ । पुल बन्यो, बाटो बन्यो, गाडी पुग्यो, इन्टरनेट पुग्यो जस्ता समाचारमा दम नै छैन । दुःख त त्यति बेला लाग्छ, जब निर्मलाकी आमाको सारीको सप्कोमा आ“सुका टाटा थुप्रि“दै जान्छ अनि विधिको शासन भएको मेरो देशमा न्याय उधारै राखिन्छ । अर्को दसैंसम्म हामीले कति जना निर्मलाजस्ता दुर्गाहरू महिसासुरलाई बलि चढाउनुपर्ने हो, थाहा छैन? दुर्गा मारेर महिसासुरहरू झनै मोटाएका छन्, मौलाएका छन्

एम्बुलेन्समा समेत पेट्रोल नभएर बिरामी लिन आउन नसकेपछि चार दिन लाइन बसेर भरेको दुई लिटर पेट्रोल भएको बाइकमा बिरामी हजुरआमालाई अस्पताल पु¥याएको भाइले नाकाबन्दी भुलेछ । यतिसम्म भुलिदियो कि उतिबेला ब्याकअफ फलाना भन्नेहरू फ्ल्यासब्याकको नाकाबन्दी भुलेर पट्रोल जलाउँदै हरेक शुक्रबार साँझ माछा खान मलेखु पुग्छन्, पेट्रोल नेपालमै जो उत्पादन हुन्छ । नाकाबन्दीमा तेल बेचेर पैसो कमाएको साथी अहिले पनि थकथक गर्दछ, यार अझै तीन महिना नाकाबन्दी भइदिएको भए बीच बजारमा एउटा अर्को घर त पक्का ठोक्थें ।
नाकाबन्दीमा बढेको मःमको दाम नाकाबन्दी पछि घट्नुपर्ने थियो, त्यस्ता धेरै सामान र सेवाको मूल्य नाकाबन्दीले चढाइदियो अनि नाकाबन्दी त सकियो तर मूल्य झरेन । अरूले केके गरे मलाई थाहा छैन तर चोट त आफन्तले नै पनि दिएका हुन्, नेपालीले नेपालीलाई चोट उतिबेला पनि कम दिएका होइनन् ।
भुइँचालो गएकोे ५ वर्ष पनि भएको छैन्, हामी पहिलेजस्तै प्लटिङ र नाफाउन्मुख हाउजिङमा गुणस्तरसँग सम्झौता गर्न थालिसक्यौं । ए लौन कोही त सम्झाइदेऊ कि ती वर्षअघि यस देशमा ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा १०औं हजारले ज्यान गुमाएका छन् भन्ने कुरा ।

यता, भुइँचालो भुलिँदै जाँदा उता भूकम्प पीडितका पाल अनि अस्थायी टहारामा तीन वर्षदेखि दसैं छिर्नसकेको छैन ।
ह्याप्पी दसंैको ध्वनि हामीमाझ गुन्जिँदै गर्दा ती गाउँमा, ती ठाउँमा चिहाएर हेर्न सक्ने आँट र तिन्नका मुद्दा अनि तिनका सन्नाटामयी दसंैको हिसाब कसले राख्दै छ ? त्यहाँका नेपालीको आङमा नयाँ लुगा त परै जाओस्, लाउन मिल्ने लुगासम्म, मासु त परै जाओस् केवल खान मिल्ने गाँससम्म अनि बस्न मिल्ने छतसम्म पनि छ या छैन ? ती चुलाहरू सायद चिसै छन् कि ? सोच्ने फुर्सत कसलाई छ ?
यो लेख ती नेपालीका लागि समर्पित जसलाई केही पाकेट चाउचाउ, केही ट्रक राहत अनि केही थान त्रिपाल दिएर हामीले तिनै भीरपाखामा छाडेर बिर्सियौं । के अक्षता मुछ्नलाई चामलको जोहो छ त त्यहाँ ? यो लेख ती निर्मलाको परिवारलाई जसलाई रेडिमेड संवेदना अनि फगत केही फेसबुके भावनामा भजाएर हामी भुल्ने सुरसारमा आइरहेका छौं ।

हामी त भुलक्कड न हौं, भुल्दै आइरहेका छौं । त्यसैगरी, मलाई थाहा छ, एक दिन हामीले निर्मलालाई पनि भुल्नेछौं अनि निर्मला जस्ता धेरै निर्मलालाई भुल्दै जानेछौं ।

हामी त भुलक्कड न हौं, भुल्दै आइरहेका छौं । त्यसैगरी, मलाई थाहा छ, एक दिन हामीले निर्मलालाई पनि भुल्नेछौं अनि निर्मलाजस्ता अरु निर्मलालाई भुल्दै जानेछौं

कहिलेकाहीँ त लाग्छ, दसैं अब केवल आडम्बर मात्र हो, यो समाजको । सासूससुरा र जेठाजु मिलेर दाइजोको निहुँमा जिउँदै जलाइएकी वसन्तदेवीको गाउँमा यस वर्ष दसैंमा दुर्गा भवानीको प्रतिमा स्थापित गरेर नवरात्रि मेला लाग्दै छ अरे, निर्मलाको कञ्चनपुरलगायत धेरै ठाउँमा पनि दुर्गा मन्दिरमा व्यापक पूजा अर्चना घटस्थापनादेखि दशमीसम्म चल्छ अरे ।
वर्षभरि जीवित दुर्गालाई जिउँदै जलाउने, मार्ने अनि महिसासुर जस्ता असुरलाई समाजमा खुलै छाड्न न्याय उधारोमा राख्ने मेरो देश अनि देशवासीलाई दुर्गा पुज्ने अधिकार पनि छैन कि जस्तो लाग्छ घरीघरी ।
ती नेपालीअघिका बुढीऔंला जस्तै भए, हामीले परै पा¥यौं, हाम्रो संयन्त्र र सरकारले परै राख्यो । हामीले गंगामाया र कृष्णप्रसादलाई भुलेकै हो, कैयन् द्वन्द्वका बेला बेपत्ता पारिएका नामलाई पनि भुलेकै हो अनि हाम्रो बिर्सनामा भएका कैयन नाम अनि घटना जसलाई हामी अब सम्झँदैनौं। दसंै पछि हिउँद आउँछ अनि फेरि हामी पत्रिकामा पढ्नेछांै, बर्खाले चुहिएका छानाको कथा अनि हिउँदमा चिस्यानले प्रहार गर्दै छ भन्ने ।

निर्मलाका बाआमा न्याय माग्दै काठमाडौंमा भन्ने अनि निर्मलाका जस्ता अन्य धेरै घटना समाचारमा हेर्ने त हाम्रो बानी भइसक्यो । ७ प्रदेश अनि ७७ जिल्लाका लाखांै पीडितको कथा हो यो र ती जिल्लामा पुग्न नसकेको दसंैको व्यथा हो यो ।
बरु भो मलाई फास्ट ट्र्याक चाहिँदैन, मलाई नयाँ एयरपोर्ट चाहिँदैन, सुपथ मूल्यका सरकारी पसल चाहिँदैन र मलाई राम्रो अकंको प्रतिव्यक्ति आय पनि चाहिँदैन । मलाई उत्तर चाहियो अनि समस्याको हल चाहिन्छ, मलाई न्याय चाहिन्छ । मेरो प्रश्न र जिज्ञासा त्यही हो, नेपालका ती ठाउँमा, आँगनमा कहिले दसंै आउँछ ?

देश विकास हुँदै छ । जब यो बन्छ, तब त्यो बन्छ । पुल बन्यो, बाटो बन्यो, गाडी पुग्यो, इन्टरनेट पुग्यो आदिजस्ता समाचारमा दम नै लाग्दैन । दुःख त त्यतिबेला लाग्छ, जब निर्मलाकी आमाको सारीको सप्कोमा आँसुका टाटा थुप्रिँदै जान्छ अनि विधिको शासन भएको मेरो देशमा न्याय उधारै राखिन्छ । अर्को दशैंसम्म हामीले कतिजना निर्मलाजस्ता दुर्गाहरू महिसासुरलाई बलि चढाउनुपर्ने हो, थाहा छैन ? दुर्गा मारेर महिसासुरहरू झनै मोटाएका छन्, मौलाएका छन् ।
यो विकास हो ? यदि हो भने विनाश कस्तो हुन्छ ? नागरिकलाई प्रोटेम्ट, प्रिजर्भ र प्रोमोट भर्ने अर्थात् नागरिकको हक, अधिकारको सुरक्षा र संरक्षण अनि उनीहरूको चौतर्फी प्रवर्धन गर्नु नै सरकारको नागरिकप्रतिको आधारभूत कर्तव्यका रूपमा आउँछ । खै, कहाँ छ सरकार ? यसपालि धेरै ठाउँमा दसंै आएन । निर्मलाहरूको आँगनमा अब कहिल्यै दसंै आउँदैन ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: