दुई महिना बित्यो दोषी खोइ ?



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बिते पनि अभियुक्तको पहिचान रहस्यमय बनेको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याबारे अर्को नयाँ तथ्य अघि सारे । हत्यापछि प्रहरीले उठाएको मुचुल्कामा गरिएको निर्मलाका बाबुको औंठा छाप नक्कली रहेको गृहमन्त्रीबाट नै खुलासा भयो ।

मंगलबार आफ्नै मन्त्रालयले हत्या अनुसन्धानका लागि बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन बुझेका गृहमन्त्री थापाले बुधबार प्रहरीले उठाएको मुचुल्कामा भएको निर्मलाका बाबुको औंठा छाप नक्कली भएको खुलासा गरेका हुन् ।

उनले बुधबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकमा निर्मलाले लगाएको लुगा जलाइएको र मुचुल्कामा समेत निर्मलाको बाबुको औंठा छाप नक्कली भएको खुलासा गरे ।

बैठकमा गृहमन्त्री थापाले भने, ‘निर्मलाले लगाएको लुगा पनि जलाइएको रहेछ, यो त संरक्षण गर्नुपर्ने हो, ११ गते मुचुल्का उठाइएकोमा त्यसमा पनि निर्मलाका बाबुको औंठा छाप रहेछ, उनका बाबु १२ गते मात्र भारतबाट आएका थिए ।’

निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठा छाप नलगाएको दाबी गरे । उनले ११ गते आफू भारतमा नै रहेको र १२ साउनमा कञ्चनपुर आएको बताए ।

उनले भने, ‘हत्या भएको ८÷१० दिनपछि हामीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठा छाप लगाउन भने । मुचुल्कामा मैले मात्रै होइन मेरो परिवारले पनि औंठा छाप लगाएका छैनन् ।’

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवालसमेत पखालेर लगाइदिएको थियो । गृहमन्त्री थापाले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापर्बाही गरेको भन्दै संसदीय समितिमा प्रहरीको लापर्बाही स्विकारेका हुन् ।

पन्तको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले आफूलाई मंगलबार नै प्रतिवेदन बुझाएको भन्दै थापाले दोषीलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

‘यही मिति र गते भनेर त तोक्न सकिँदैन तर यति भन्न सक्छु, छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको छ,’ गृहमन्त्री थापाले बैठकमा भने ।

उनले सरकार र प्रहरीले इमानदारिताका साथ अनुसन्धानको काम गरिरहेको भन्दै शंका गर्नु नपर्ने समेत बताए । बलात्कार तथा हत्याका घटनामा अभियुक्तहरु पक्राउ गर्ने र कारबाही गर्ने काममा सरकार लागिरहेको समेत दाबी गरे ।

१० साउनमा साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ साउनमा घरनजिकै उखुबारीमा भेटिएको थियो ।

गृह मन्त्रालयले प्रहरीको लापर्बाहीबारे छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो । समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । तर प्रतिवेदनमा दोषी भने किटान गरिएको छैन ।

यसअघि समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकारीलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: