कलाकारहरु प्रति राज्यले समेत चासो छैन : गायिका बेलिमाया पुलामी


नेपालको सांगीतिक क्षेत्रमा लामो समय देखि संलग्न रहेकी बेलिमाया पुलामी सानो उमेरमा निकै दुःख साथ हुर्केकी हुन् । गोरखा स्थायी घर भएकी उनी गण्डकी गाउँपालिकाकी हुन् । घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण कुनै दिन पनि राम्रो लगाउन र मिठो खान नपाउने उनी सानै देखि नै गीतसंगीत क्षेत्रमा रुचि राख्थिन् । काठमाडौं आउने समयमा कलाकार बन्छु भन्ने उनलाई कुनै आशा वा शंका केही पनि थिएन । घरको पीडाबाट प्रभावित उनी कसैको घरमा रहेर काम गर्ने मनसायले काठमाडौं प्रवेश गरेकी हुन् । काठमाडौं आइसकेपछि विभिन्न कठिन मोडहरु सँग जुध्दै उनी हाल कलाकारिता क्षेत्रमा संलग्न छिन् ।
सानै उमेर अर्थात् ४ महिनाको समयमा नै उनको एउटा हात गुम्यो । पछि उनलाई हात गुमेपश्चात् भगवान्ले गीत गाएर नै जीविकोपार्जन गर्नु भन्ने सन्देश सहित आफूलाई पठाए जस्तो अनुभव भयो । अहिले उनी यसै क्षेत्रबाट नै घरपरिवार पालिरहेकी छिन् ।
पछिल्लो ४ बर्ष पहिले देखि मात्र एल्बम बजारमा ल्याएकी उनलाई बेलिमाया भनेर चिनाउने गीत ‘मुसुमुसु हाँस मायाले’ हो । यसबाहेक उनले झ्याउरे गीतहरु पनि बजारमा ल्याएकी छिन् । बजारमा उनका गीतहरुले पनि राम्रै प्रभाव जमाउन सकेकोमा उनी सन्तुष्ट छिन् ।

पछिल्लो समय आफ्नै अभिनयमा पशुपति शर्मा सँग समेत तीज गीत गाएकी उनले अघिल्लो बर्षको र यस बर्षको तीजको उपलक्ष्यमा बालचन्द्र बराल सँग तीज गीत गाएन् । विगत ४ बर्ष देखि निरन्तर रुपमा उनले तीज गीतमा स्वर भर्दै आएकी छिन् । उनीसँगको बसाईमा हामीले संक्षिप्त कुराकानी गरेका थियौं ः

आफूले रोजेको बाटोलाई कसरी लिनुहुन्छ ?
मलाई यो काममा चित्त बुझेको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो सन्तुष्टि हो । फेरि अर्को कुरा म अरु काम गरेर जीविकोपार्जन गर्न पनि सक्दिन । त्यसैले गीत गाएर नै म बाँच्नुपर्छ । घरपरिवार चलाउनुपर्छ । मेरो अनुभवमा हामी सबमा पहिलो कुरा आफू के काम गर्दैछु भन्ने बारे आफू पूर्ण जानकार हुनुपर्छ । कलाकारिता क्षेत्रमा नयाँ आउन चाहने व्यक्तिहरुले सबैभन्दा पहिले यो क्षेत्रमा काम गर्न आफूलाई भित्रै देखि रुचि छ कि छैन भन्ने बारे यकिन गरेर मात्र अघी बढ्नुपर्छ । यस क्षेत्रबाट अघी बढ्न पैसा लगानी गरेर मात्र पनि हुँदैन । विशेष प्रतिभा पनि हुनुपर्छ ।

परिवारको सहयोग पाउनुभएको छ कि छैन ?
परिवारबाट मलाई राम्रो सहयोग छ । मलाई घरमा आमा, बहिनी लगायत सबैको सहयोग छ । मलाई कुनै बेला स्टेज प्रोग्राममा जाने बेला अप्ठ्यारो भएको जानकारी पाए ऊहाँहरुले मलाई कार्यक्रममा नजान समेत भन्नुहुन्छ । यद्यपि म अहिले घरमा बसेर परिवारको भर परेर बाँच्नुपर्ने अवस्था पनि छैन ।

राजनीति कस्तो लाग्छ यहाँलाई ?
म कलाकारिता क्षेत्रमा संलग्न छु । मलाई राजनीतिमा खास रुचि छैन । साथै हामी कलाकारहरु प्रति राज्यले समेत चासो राखेको अवस्था छैन । जसले गर्दा हामीलाई राज्यको तर्फबाट कुनै सहयोग प्राप्त हुन सकेको हामीलाई महसुस भएको छैन ।

यहाँले कुन तह सम्म अध्ययन गर्नुभएको छ नि ?
मेरो अध्ययन खासै छैन । भन्छन् नि मानिस पढेर भन्दा पनि परेर नै बढी सिक्न सक्छ । मेरो पनि त्यस्तै हो ।

भविष्यको चिन्ता लाग्छ कि लाग्दैन ?
म अहिले यसै क्षेत्रमा नै रहेर आफू बाँचिरहेकी छु । वर्तमानमा ठिक छु । तर भविष्य कसले पो देखेको हुन्छ र ? जे होस् म गीत गाएर नै बाँच्छु भन्नेमा दृढ छु ।

गीतसंगीत क्षेत्रका विकृति बारे केही भन्नुहुन्छ ?
नयाँ क्षेत्रमा आउने क्रममा आफू त्यस क्षेत्रको बारेमा जानकार नभए अन्य व्यक्तिहरुले फसाउन सक्ने सम्भावना पनि रहन्छ । अहिले सबैजसो क्षेत्रमा दलालहरुको संलग्नता छ । कलाकारिता क्षेत्र पनि त्यसबाट अछुतो छैन ।

यो क्षेत्रमा आर्थिक उपार्जन कस्तो छ ?
मानिसलाई पैसाले कहिल्यै पनि पुग्दैन । यद्यपि तुलनात्मक रुपमा अन्य क्षेत्र भन्दा आयमा कमी पनि हुन सक्छ, कहिले बढी पनि हुन सक्छ, त्यो एउटा कुरा हो तर बाँच्नै नसकिने भन्ने छैन । साथै महत्वपूर्ण कुरा भनेको आफूसँग जुन कुरामा सीप छ, त्यही कामलाई नै निरन्तरता दिनुपर्छ ।

यहाँलाई दोहोरी साँझमा काम गर्दाको अनुभव कस्तो रह्यो ?
मानिसहरुले दोहोरी साँझ भन्ने बित्तिकै गलत तवरले नै हेर्ने प्रचलन छ, तर सबै हिसाबले यसलाई नराम्रो रुपमा नै हेर्नुपर्छ भन्ने हुँदैन । यस क्षेत्रमा काम गर्ने क्रममा आउने व्यक्तिहरु मध्ये कतिपय हामीलाई माया गर्नेहरु पनि आउनुहुन्छ । कतिपय गलत मनसायका व्यक्तिहरुको पनि प्रवेश हुन्छ । यद्यपि आफू भने हरेक क्षेत्रमा सचेत र सतर्क भने हुनैपर्छ । आफुमा राम्रो नियत हुने हो भने कसैको पनि

दर्शक श्रोतालाई के भन्नुहुन्छ ?
हाम्रो लागि दर्शक र श्रोताहरुको निकै नै महत्वपूर्ण भूमीका रहन्छ । बिना दर्शक र श्रोता हाम्रो कलाले स्थान पाउन सक्दैन । त्यसकारण म निरन्तर रुपमा यसै क्षेत्रमा रही सङ्घर्ष गरिरहेकी छु । भोलिका दिनमा पनि यस क्षेत्रमा लागि नै रहनेछु दर्शकहरुले माया गरिदिनुहोला ।

भ्रमण कहाँ कहाँ गर्नुभएको छ ?
म अहिले सम्म नेपालका सबै जसो क्षेत्रमा भ्रमण गरिसकेकी छु । यसैगरी सिक्किम, कलकत्ता, दिल्ली लगायतमा भ्रमण गरेकी छु । अन्य देशहरुको लागि पनि प्रयाशमा छु ।

घुमफिरको क्रममा सबैभन्दा मन परेको ठाउँ कुन हो ?
मलाई नेपालको इलाम सबै भन्दा बढी मन परेको छ । जुन नेपालको दार्जिलिङको नामले पनि चिनिन्छ । यसैगरी नेपाल बाहिरको कुरा गर्दा कलकत्ता पनि म कहिल्यै बिर्सिन सक्दिन ।

अन्त्यमा के भन्नुहुन्छ ?
मैले निरन्तर रुपमा गीत गाइनै रहेकी छु । मलाई निरन्तर तपाईहरुको साथ चाहिन्छ । मेरा गीतहरुलाई मन पराइदिनुहुनेछ र मलाई हौसला दिनुहुनेछ भन्नेमा म आशावादी रहेकी छु ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: