निजगढ विमानस्थल एसियाकै ‘ट्रान्जिट हब’



काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई देशकै ‘ट्रान्जिट’ विमानस्थलका रूपमा निर्माण गरिने सरकारले जनाएको छ । सञ्चालनमा रहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणका क्रममा रहेका पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै सिमितताका कारण निजगढलाई ‘ट्रान्जिट’ विमानस्थलका रूपमा निर्माण गर्ने सरकारको तयारी रहेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय मूल्याङ्नका सम्बन्धमा शनिबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालसहित एसियाका विभिन्न देशको ट्रान्जिट हबका रूपमा निजगढलाई विकास गर्ने योजना रहेको बताउनुभयो । टीआईएमा ट्रान्जिट छैन अनि भैरहवा र पोखरामा ट्रान्जिट हुन सक्दैन, उहाँले भन्नुभयो, निजगढ यस वरपरकै सबैभन्दा ठूलो ट्रान्जिट विमानस्थल बन्न सक्छ ।

कार्यक्रममा उहाँले निजगढ देश बदल्ने परियोजना भएकोले यसलाई सकेसम्म समयमै सम्पन्न गर्ने गरी काम अघि बढाइने जानकारी दिनुभयो । विश्वमा बनिरहेका ठूला परियोजनामध्ये निजगढ पनि एक हो, उहाँले भन्नुभयो, यसले मुलुकको अर्थतन्त्र कायापलट गर्न सक्छ । निजगढ विमानस्थलको निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा उल्लेख भए अनुसार नै वातावरणमा सकेसम्म कम क्षति पुग्ने गरी काम हुने उहाँले जानकारी दिनुभयो । वातावरण र विकासलाई सँगसँगै लैजानुपर्छ भन्नेमा मन्त्रालय सचेत छ, उहाँले भन्नुभयो, वातावरणमा न्यूनतम क्षति हुने गरी निर्माणका काम हुन्छन् ।

२५ सय हेक्टरमा विमानस्थल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको करिब आठ हजार हेक्टर क्षेत्रफलमध्ये करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा मात्र विमानस्थल निर्माण हुनेछ । विमानस्थल निर्माणको पहिलो चरण अन्तर्गत उक्त क्षेत्रफलमा निर्माणको काम हुने मन्त्री अधिकारीले जानकारी दिनुभयो । सोही क्षेत्रमा मात्रै ‘क्लियरेन्स’को काम हुनेछ, उहाँले भन्नुभयो । उक्त क्षेत्रफलमा विमानस्थलको टर्मिनल भवन र अन्य संरचनासहित एउटा धावनमार्ग निर्माण हुनेछ ।

पहिलो चरणमा करिब दुई लाख रुख काटिने छन् भने त्यस्तै बोट बिरुवाको सङ्ख्या भने पाँच लाख हुनेछ । यसरी काटिने एउटा रुख बराबर स्थान पहिचान गरी २५ वटा रुख रोपिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिनुभयो । सञ्चालनमा आएपछि आवश्यकता अनुसार धावनमार्ग बढीमा तीनवटा बनाउन सकिने र क्षेत्रफल पनि त्यसै अनुसार बढ्ने उहाँले बताउनुभयो ।

एक महिनाभित्रै डीपीआरको प्रक्रिया
प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक ‘विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)’ तयार गर्न एक महिनाभित्रै कम्पनी छनोट गर्ने जनाएको छ । महानिर्देशक गौतमका अनुसार यसअघि गरिएको आह्वान अनुसार आवेदन दिएका कम्पनीमध्येबाट एक महिनाभित्र एउटा कम्पनी छनोट हुनेछ । डीपीआरको प्रक्रियासँगै रुख कटानीको काम पनि समानान्तर रूपमा अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार रुख कटानीमा मात्रै दुई वर्ष लाग्नेछ । त्यस्तै विमानस्थलको पहिलो चरणको काम पूरा गर्न कम्तीमा पाँच वर्ष लाग्ने उहाँले जानकारी दिनुभयो ।

चार महिनाभित्र आशयपत्र माग
निजगढ विमानस्थल निर्माणका लागि यसअघि टुङ्ग्याइएको सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडालिटी अनुसार चार महिनाभित्र ईच्छुक कम्पनीसँग आशयपत्र माग गरिने मन्त्री अधिकारीले जानकारी दिनुभयो । विमानस्थल निर्माण सुरु गर्नुअघि नै धेरै काम सम्पन्न गर्नुपर्ने भएकोले सरकार अहिले ती काम अघि बढाउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । टाङ्गीया बस्तीलाई स्थानान्तरण गर्नुपर्नेछ । त्यस्तै आफ्नै कार्यालय निर्माण गर्नुपर्नेजस्ता काम छन्, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्राधिकरण अन्तर्गतका राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले सबै विमानस्थलका लागि छुट्टै ‘मास्टर प्लान’ आवश्यक रहेको बताउनुभयो । निजगढको सम्भाव्यता अध्ययन पनि सन् २०११ मै पूरा भइसकेको र अहिले परिस्थिति फरक भएकोले त्यसको निर्माणको लागि छुट्टै विशेष योजना आवश्यक रहने बताउनुभयो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: