विकास र समृद्धिको क्षेत्रमा विमाको योगदान


कृष्ण बहादुर बस्न्यात विमाविज्ञ

आर्थिक वृद्धि र मुलुकको विकासको उद्धेश्यका साथ नेपाल सरकारको संकल्प बमोजिम राष्ट्रलाई माथि उठाउन पुँजी संकलन गर्ने कार्य प्राथमिकतामा पर्नु प्रशंसनीय छ । यस कार्यको हामी सबैले स्वागत गर्दै आएका भएपनि पुँजी खर्च गरेर विकास गर्न र रोजगारी सृजना गर्नुपर्नेमा त्यसलाई जुझारु रुपमा समयमा समाप्त गर्न नसक्नुमा व्यवसायीहरु, नियमनकारी निकाय र सम्बन्धित अधिकारीहरु मिलेर अघी बढ्नुपर्ने अवस्था छ । तर यसको लागि अनुभव र व्यावहारिक ज्ञान हुन नसकेको खण्डमा विभिन्न बाधाव्यवधानहरु आउन सक्छन्, अहिले पनि अवरोधहरु आइरहेका छन् । संकलित आय रकम खर्च गर्न र विकासकार्यमा लगाउन समेत आर्थिक नियमावलीको जटिलताले अप्ठ्यारो पारेको देखिन्छ । नेपालको विमा व्यवसायको कार्यसम्पादन बारेमा ध्यान पुर्याउन गर्नुपर्ने र हुनुपर्ने विषयको चर्चा गर्दै यो आलेख प्रस्तुत गरिएको छ ।

नेपालमा विमा विषयमा धेरै नै चर्चा हुने गरेको छ । देशविकासको लागि विमा क्षेत्र पनि राष्ट्रको उपयोगी कार्यक्रम भित्र परेको छ । जुन खुसीको कुरा हो । तर यसलाई अझै पनि कार्यन्वयनमा लैजान भने चुनौतीकै रुपमा देखिएको छ । नेपालको वीमा क्षेत्र अन्तरगत कृषि, उद्योग, पशु, बाली उत्पादन र त्यसको सुरक्षा सहित हर्जाना लगायतमा वीमा क्षेत्र सहभागिता हुँदै आएको छ । त्यसको विकासको लागि आर्थिक समृद्धि हुनु आवश्यक छ ।

आर्थिक विकास तथा समृद्धिलाई राष्ट्रको नीतिले प्राथमिकतामा राखेको हुँदा अर्थतन्त्र र पुँजीबजार मार्फत कारोवारमा संलग्न हुँदै आएका वित्तीय संस्था, बैंक तथा वीमा कम्पनीहरुको भूमीकालाई अनिवार्य रुपमा सक्रिय बनाउँदै विकासको बाटोमा प्राथमिकताको साथ अघी बढ्नुपर्ने आवश्यकता छ ।

वीमाका क्षेत्रहरु ः
वीमा क्षेत्रमा जीवनवीमा र निर्जीवन वीमा मुख्य रहँदै आएका छुन् भने वीमा क्षेत्रलाई स्थायित्वको हिसाबले हेर्दा स्थायी र अस्थायी गरी २ भागमा छुट्याएर समेत हेर्ने गरिएको छ । यसैगरी विमा क्षेत्रलाई विधागत रुपमा समेत छुट्याईएको पाइन्छ । पूर्वाधार तथा विकास कार्यमा गरिने वीमा, स्वास्थ्य वीमा, सम्पत्ति वीमा, कृषि तथा लघु बीमा, सवारीसाधन तथा यातायात वीमा लगायतका क्षेत्रलाई समेटेर सुरक्षा दिनुपर्ने क्षेत्रहरुको निम्ति जमानी र दायित्व समेत वहन गर्ने गरी वीमा क्षेत्रलाई व्यापक रुपमा विस्तार गरिएको छ । तर यसको कार्यविस्तार सम्बन्धमा सबैमा जानकारी पुग्न नसक्दा र यसबारेमा जनचेतना समेत पूर्ण रुपले नहुँदा वीमा सम्पादनको क्रममा विभिन्न अड्चन र बाधाहरु देखा परिनै रहेका छन् ।

वाधा तथा अवरोधहरु ः
खास गरेर ख्6जीवनवीमा कोष नेपालमा निकै ठूलो छ भने निर्जीवन वीमा कोष समेत क्रमशः बढ्दै गएको छ । यस वीमा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रक्रिया र आवश्यक व्यवस्था नभएको लगायतका समस्याको कारण वीमा बापत संकलित रकम वाणिज्य बैंकको मुद्धति खातामा संकलन गर्नु बाहेक अहिले सम्म अर्को उपयुक्त विकल्प कुनै छैन । अर्थात सिधा अर्थमा भन्नुपर्दा अहिले सम्म नेपालमा विमा कम्पनीहरुले आफैं कुनै क्षेत्रमा लगानी गर्न सक्ने वातावरण बनाइएको छैन ।

विकास ऋणपत्र तथा तालिम समेत समयमा उपयुक्त ढंगबाट उपयुक्त तवरले उपलब्ध गराउने व्यवस्था सृजना नगरिँदा र व्याजदरमा तलमाथि हुँदा लगानी समेतको प्रतिफलमा समेत कमी आउने अवस्था छ । भर्खर मात्रै वीमा समितिका अध्यक्ष ज्यूले व्यक्त गर्नुभएको विचारमा व्यक्त गरिएको छ, ‘जीवनवीमा कोषको डेढ अर्ब रकम प्रयोगविहीन तवरले मुद्धतीखातामा रहनु उचित विकल्प होइन । उक्त कोषबाट ७ सय ६६ मेघावाट विद्युत आयोजना निर्माण गर्न सकिन्छ ।’ यसले पनि नेपालको वीमाक्षेत्रमा संलग्न ठूलो रकम प्रयोगविहीन रहेको कुरा प्रष्ट पार्छ ।
उक्त रकम अन्य कुनै क्षेत्रमा लगानी गर्दा लगानीबाट हुने प्रतिफल लिन निकै समय लाग्न सक्छ । साथै लगानीको सुरक्षा समेत जटिल विषयको रुपमा देखिन सक्छ । साथै वीमा बापत भुक्तान गर्ने कार्यमा ढिलाई हुन सक्छ । यसरी भुक्तानीमा ढिलाई भयो भने के गर्ने भन्ने विषयमा सुरक्षा सहित लगानी गर्न वीमा क्षेत्र आफैं सक्षम हुन नसक्ने हुँदा सुरक्षित क्षेत्रका रुपमा लगानी गर्ने विकल्पको रुपमा वीमाकोष लगायतका कार्यक्रम ल्याइनु जरुरी छ ।

नेपालमा हाल जीवन वीमा कम्पनीको सङ्ख्या १९ (१८ प्लस १) पुग्ने भएका छन् । १८ ओटा सञ्चालनमा आइसकेका छन् भने एउटा तत्काल नै खुल्ने क्रममा छ । जसमध्ये ९ ओटा वीमा कम्पनीहरु पुरानै हुन् । हाल एकैपटक १० ओटा नयाँ कम्पनीलाई इजाजत प्रदान गर्दा १९ ओटा कम्पनी हुन आएका हुन् । जसमध्येका नयाँ १० ओटा कम्पनीहरु अब कसरी पूर्ण रुपमा सञ्चालनमा आउने हुन् ? भन्ने प्रश्न पनि एकातिर देखिएको छ । यसक्रममा नेपालमा वीमाविज्ञ, विमा विषयका जानकार तथा अन्य व्यवस्थापनको निम्ति आवश्यक कर्मचारीहरुको अभाव हुने स्थिति समेत देखिएको छ ।

वीमा क्षेत्रको कुल लगानी हालै ८ गुणाले बढाइएको छ । यसबाट पुराना वीमा कम्पनीहरुको चुक्ता पुँजी समेत बढ्न गएको छ । थप १० नयाँ कम्पनी बजारमा आउँदा र ती कम्पनीको लगानी समेत बढ्न गएको हुँदा त्यसले लगानीकर्ताको शेयर मूल्यमा पर्न जाने असरको अध्ययन भने हुन सकेको देखिँदैन । साथै यी कम्पनीको भविष्य के कस्तो हुन्छ भन्ने कुरा कार्य सम्पादन गर्दै जाँदा मुख्य चुनौतीको रुपमा देखिन्छ । देशको परिस्थितिले गर्दा वीमा क्षेत्रमा भएको लगानीमा समेत यसले कस्तो असर पार्छ भन्ने बारे जानकारी पाउनको लागि त अझै ३ बर्ष कुर्नुपर्ने देखिन्छ ।

हाल विगतमा निर्जीवन वीमा कम्पनीहरु १७ ओटा रहेकोमा हाल ३ ओटा कम्पनीहरु थपिएर २० ओटा कम्पनीहरु भएका छन् । निर्जीवन तर्फ पनि चुक्ता पुँजी ८ गुणाले बढेको छ । नयाँ कम्पनीको लगानी मात्र ३ अर्ब हुनेछ । त्यसैगरी पुराना कम्पनीहरुको लगानी समेत एकैपटक २५ करोडबाट बढाएर १ अर्ब पुर्याइएको छ । सिधै हेर्दा वीमा कम्पनीको लगानी ४ गुणा बढेको देखिएपनि समग्र अर्थतन्त्रमा विचार गर्दा नयाँ कम्पनी सहित हुन आउने लगानी समेत जोडिँदा कुल पुँजी ८ गुणाले वृद्धि हुने भएको छ ।

अब वीमा क्षेत्रमा हुने लगानी ५८ अर्ब चुक्ता पुँजी पुग्ने अवस्था छ । यसैगरी नेपालमा एउटा पुनर्वीमा कम्पनी समेत सञ्चालनमा रहेको छ । नेपाल पुनर्वीमा कम्पनीको चुक्तापुँजी समेत ५ अर्बबाट १० अर्ब चुक्ता पुँजी पु¥याइने भएको छ । यसले गर्दा नेपालमा वीमा क्षेत्रमा हुने लगानी ६८ अर्ब पुग्नेछ । जसले गर्दा आर्थिक व्यवस्था मिलाउन र लगानी गर्नको लागि वीमा कम्पनीहरुलाई यस बर्ष निकै कठिन हुने अवस्था समेत आउनेछ । कतै यसबाट लगानी बमोजिम प्रतिफल आउने अवस्था नदेखि लगानीकर्ताहरु लगानी गर्न तयार नभएमा आर्थिक जटिलताको सामना गर्नुपर्नेछ ।
अन्त्यमा, वीमा क्षेत्रको लगानी मुलुकको आर्थिक विकासको लागि प्रयोगमा ल्याउन सकियोस् र वीमा क्षेत्र पनि फलोस् फुलोस् भन्ने मान्यता सहित नेपालको वीमा क्षेत्रले नयाँ गतिको साथ कार्यसम्पादन गर्न सकोस् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: