छन्दको महत्त्व :- पं श्री दिनेश पाण्डेय


कविता नाममात्रैका लेख्दैछन् आजका कवि।

कसैमा पनि देखिन्नन् छन्दका गहिरा छवि।।

 

न छन् सृजनका ढंग छन्दका गन्ध बन्द छन्।

यस्तै काव्य रची सारा कवि ता कवि बन्दछन्।।

 

विना रंग विना गन्ध के काम काव्यपुष्प यो।

भिजेमा छन्दको गन्ध अनि पो कविता भयो।।

 

छन्द हो काव्यको प्राण छन्द नै काव्यको गति।

छन्द हो काव्यको आत्मा छन्दोभंग भए खती।।

 

धाकिटी धाकिटी मेघ छन्दमा गड्गडाउँछन्।

चिर्बिरी चिर्बिरे पन्छी छन्दमै चिर्बिराउँछन्।।

 

धिप्धिप्धिप् नभका तारा छन्दमै धिप्धिपाउँछन्।

पिपिल्पिल् जुन्किरी नानी छन्दप्रकाश छर्दछन्।।

 

हो होरे हो अहो गर्दै हली जोत्दछ छन्दमा।

नाच्दछिन् युवती बाला छन्छनाएर छन्दमा।।

 

खेतीमा अन्नका बाला छन्दमै लहराउँछन्।

खेताला ती व्यथा आफ्ना छन्दमै गुन्गुनाउँछन्।।

 

ककल्कल् वेगमा वारि छन्दमै कल्कलाउँछ।

झन्डा स्वदेशगानामा छन्दमै फर्फराउँछ।।

 

जस्ताका छानुमा वर्षा छन्दमै दर्दराउँछ।

उमंग साथमा पाहा छन्दमै टर्टराउँछ।।

छन्द सुन्दरता दिन्छ पूर्वीय काव्यमार्गमा।

छन्द नै दिन्छ माधुर्य पुष्पमा गन्धले सम।।

 

रसगन्ध विना पुष्प जस्तै भ्रमर त्याग्दछन्।

त्यस्तै छन्दविना काव्य धेरैले नीच मार्दछन्।।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: