कांग्रेस नेतृत्व र विधान मस्यौदा समितिबीच छलफल


नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले पार्टी नेतृत्वसँग छलफल गरेको छ। समिति अन्तर्गतको ती वटा उपसमितिले तयार पारेको विधान संशोधन प्रारम्भिक मस्यौदामाथि समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वसँग छलफल गरेको हो। समिति अन्तर्गतको उपसमितिहरूले तयार पारेका विधान संशोधन मस्यौदामाथि पार्टी पदाधिकारी, पार्टी संसदीय दलका पदाधिकारी र पूर्व पदाधिकारीहरूबीच पनि आवश्यक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। आम जनताको भावनालाई प्रतिनिधित्व हुनेगरी पार्टीको विधान तयार पार्ने कामलाई समितिले तीव्रता दिएको पनि उनले बताए। महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र दिलेन्द्रप्रसाद बडु नेतृत्वको तीनवटा उपसमिति गठन गरेको थियो। सोही उपसमितिका नेताहरूले आफूले तयार पारेको प्रारम्भिक मस्यौदा नेतृत्वलाई जानकारी गराएका हुन्। विधानमा आवश्यक परिमार्जन गर्न समितिले सबै प्रदेश तहमा पनि छलफल गर्नेगरी मिति र स्थान तय गर्ने योजना पनि बनाएको छ। बिहीबारसम्म समितिले विधानको संशोधन मस्यौदामाथि सबै प्रदेशबाट पनि रायसुझाव लिनेगरी छलफल गर्न मिति र स्थान तय गर्ने पनि प्रवक्ता शर्माले बताए। समितिले तयार पारेको प्रतिवेदनलाई केन्द्रीय कार्य समितिले अनुमोदन गरेपछि मंसिरमा हुने कांग्रेस महासमिति बैठकमा त्यसलाई प्रस्तुत गरिनेछ। कांग्रेस प्रवक्ता शर्माले पार्टीलाई आधुनिक पार्टीको रूपमा विकास गर्नेगरी विधान तयार पार्ने कामलाई अघि बढाएको पनि जानकारी दिए। समितिले संशोसित विधानको मस्यौदा बनाउन देशभरका पार्टी समितिहरुको सुझाव पनि लिइसकेको छ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: