साफ च्याम्पियनसिप : बंगलादेशलाई २-० ले हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौँ । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २-० ले हरायो।

समूह ए मा २ जित र १ हारको नतिजा निकालेको नेपाल गोल अन्तरमा अघि रहँदै समूह विजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। नेपाल साफको सेमिफाइनल पुगेको यो पाँचौ पटक हो।

नेपालका लागि विमल घर्ती मगरले पहिलो हाफ र नवयुग श्रेष्ठले दोस्रो हाफमा गोल गरे। विमल घर्ती मगरले खेलको ३३औँ मिनेटमा फ्रि-किकमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

वैकल्पिक खेलाडी श्रेष्ठले ९० औँ मिनेटमा नेपालका लागि दोस्रो गोल गरे।

नेपालसँग हारेपछि समूहमा पहिलो हार बेहोरेको बंगलादेश भने गोलअन्तरमा पछिपर्दै समूह चरणबाटै बाहिरिएको छ।

पाकिस्तान समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

समूहको सबै खेलपछि नेपाल, पाकिस्तान र बंगलादेशको ६-६ अंक भएको थियो। तीनवटै टिमले खेलेको ३ मध्ये २ खेल जितेका थिए भने एकमा पराजित भएका थिए। नेपाल गोलअन्तरमा पहिलो स्थानमा रहँदा पाकिस्तान दोस्रो तथा बंगलादेश तेस्रो स्थानमा रह्यो।

लगातार ३ खेल हार्दै अंकविहीन रहेको भुटान भने समूह चरणबाट बाहिरिएको छ।

खेलपछि नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले खेलाडीहरु सबैले राम्रो खेलेको जित सम्भव भएको प्रतिक्रिया दिए। उता बंगलादेशी प्रशिक्षकले केही गल्तीका कारण खेल हार्न पुगेको बताए। नेपालले वास्तवमै राम्रो खेलेको भन्दै नेपाललाई क्रेडिट दिए।

समूह ए को विजेता नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। समूह बी अन्तर्गत भोलि भारत र माल्दिभ्सबीच अनतिम खेल हुँदैछ। उक्त खेलपछि नै नेपालले खेल्ने विपक्षीको टुङ्गो लाग्नेछ। उक्त खेल भारतले जिते नेपालले माल्दिभ्स वा श्रीलंकामध्ये एकसँग खेल्नेछ भने माल्दिभ्सले भारतलाई पराजित गरेमा नेपालले भारतसँग सेमिफाइनल खेल्नेछ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: