यथार्थको कसीमा सार्क र विम्स्टेक


१९८५ को डिसेम्बर महिनामा बंगलादेशको राजधानी ढाकामा दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय सहयोग संगठन, सार्क जन्मँदा पनि ठूलै तामझाम थियो । त्यसबेला पनि जलस्रोतको विकास, गरिबी निवारण, उद्योगधन्दाको विकासजस्ता श्रेत्रीय भलाइका थुप्रै विषयमा सातै राष्ट्रका नेताले राम्रा राम्रा कुरा गरेका थिए । हामी एसियाली कुरा ठूलो गर्छौं, तर काम भने केही गर्दैनौं । त्यत्रा ठूला कुरा गरेर जन्मेको सार्कको विभिन्न समिति, उपसमिति गठन भएर केही काम पनि नभएको होइन । सार्कका मुलुकका नागरिकलाई एक–अर्काको इतिहास, संस्कृति, धर्म, सभ्यतालगायतका विषयमा जानकारी गराएर आपसी सम्बन्धलाई सुदृढ गराउन सार्क मुलुकका टेलिभिजन र रेडियोले महिनाको निश्चित मिति र समयमा एकैपटक प्रसारण गर्ने एउटा सार्क परिचयको कार्यक्रम पनि थियो । केही वर्ष चल्यो । यो कार्यक्रम लोकप्रिय पनि भयो । तर चाँडै बन्द भयो ।
यस्ता धेरै कुराको प्रारम्भ गरेको सार्क अहिले थला परेर ‘भेन्टीलेटर’ मा बाँचेको छ । प्रधानमन्त्री ओलीले विम्स्टेकमा नेपाल सहभागी हुनु भनेको सार्कको अस्तित्व समाप्त भएको होइन भनेका छन् । साथै वरिष्ठ कुटनीतिज्ञ भेषबहादुर थापाले पनि एउटा स्थानीय समाचारपत्रलाई ‘विम्स्टेक सार्कको विकल्प होइन’ भन्ने टिप्पणी गरेका छन् ।

यहाँनेर एउटा अल्मलिने कुरा के छ भने हामी अब दुवै संस्थाका सदस्य हौं ? एउटा देश एकै प्रकारको उद्देश्यका दुई संस्थामा सहभागी भएर कसरी काम गर्न सक्छ ? यहाँ कतै कुरा मिलेको छैन कि ? एउटै प्रकृतिका दुईटा संस्था जसमा सदस्य उनै छन् भने कसरी काम हुन्छ र आर्थिक व्यवस्था कस्तो हुन्छ । सायद नेपाल सरकारले यस कुरामा प्रकाश पार्ला !
सार्कमा पनि सातै देशका नेता आउँथे, भाषण गर्थे र अन्तिम दिन हुने ‘रिट्रिट’ मा रमाइलो भेटघाट गरेर फर्कन्थे । यसबाट आपसी सम्बन्ध त सुदृढ हुने नै भयो । तर सार्कचाहिँ सुक्दै गयो ।

सार्क उद्घाटनको अवसरमा नेपालका तात्कालिन राजा श्री ५ वीरेन्द्रले नेपालमा प्राप्त अपार जलस्रोत यस क्षेत्रको ऊर्जा र कृषिको विकासमा उपयोग गर्न आग्रह गरेका थिए । नेपालले सार्कमा चीन र अफगानिस्तानलाई पनि सदस्य बनाउनुपर्ने कुरा पनि गरेको हो । तर यी कुरामा भारतले खासै चासो राखेन ।
हरेक वर्ष हुने यो शिखर सम्मेलन त्यसको केही वर्षपछि या भनौं सात देशका राष्ट्राध्यक्ष, सरकार प्रमुखहरूको वनभोज, अब दुई, दुई वर्षमा हुने घोषणा गरियो । पहिलो शिखर सम्मेलन, ढाकामा भएपछि दोस्रो भारतको बेङलोरमा र तेस्रो नेपालमा भएको थियो । त्यसपछि नेपालमा अरू पनि सम्मेलन भएका छन् । यो दुई वर्षे भोजका कार्यक्रम पनि कैयौं वर्ष बिति सक्दा पनि भएको छैन ।
विम्स्टेक स्थापनाको २० वर्षमा पनि यो चौथो शिखर सम्मेलन भएकाले यसमा चाहिँ भोज थोरै हुन्छ । सायद त्यसैको विकल्पमा यो विम्स्टेक नाउँ गरेको सार्करुपी क्षेत्रीय संगठन गठन भएको हो कि जस्तो पनि लाग्छ ।

काठमाडौंमा सुरु भएको विम्स्टेकको वर्तमान वैठकले पनि व्यापार र ऊर्जालाई आफ्नो छलफलमा प्राथमिकता दिएको छ । स्थल र जलमार्गको गुरुयोजना बनाउनेप्रति आतंकवादको साझा रणनीति, संयुक्त लगानी कोष स्थापना र बुद्ध सर्किट जस्ता सार्ककै जस्ता कार्यक्रम पनि तय गरेको छ । कनेक्टिभिटी यसको मूल उद्देश्य भएकाले यसबाट भने यो क्षेत्रमा विकास सुरु हुन्छ कि भन्ने आशा छ ।
सार्कभन्दा यो के कुरामा फरक छ भने यसमा बर्मा र थाइल्याण्ड पनि सहभागी छन् । माल्दिभ्स र पाकिस्तान छैनन् । २० वर्षअघि स्थापित विम्स्टेकमा नेपाल र भुटान पनि पछि थपिँदै गएका हुन् । १९९७ मा सुरुमा भारत, थाइल्यान्ड, बंगलादेश र श्रीलंकाबाट सुरु भएको यो संस्थाको उद्देश्य पनि आफ्नो प्राथमिकतामा सातै देशबीच आर्थिक, प्राविधिक सहयोग आदान–प्रदान, अन्तर्देशीय सडक तथा यातायात सञ्जाल, ऊर्जा सञ्जाल, सञ्चार, व्यापार तथा लगानी आतंकवाद नियन्त्रण, वातावरण र कृषि योग्य क्षेत्रमा सहकार्य गर्ने कुरा छन् । यी कामको कार्यान्वयन भएमा हामी नेपाली काठमाडौंबाट बसमा थाइल्याडण्सम्मको यात्रा गर्न सक्षम हुनेछौं त ।

सार्क अहिले थला परेर ‘भेन्टीलेटर’ मा बाँचेको छ । सार्कमा पनि सातै देशका नेता आउँथे, भाषण गर्थे र अन्तिम दिन हुने ‘रिट्रिट’ मा रमाइलो भेटघाट गरेर फर्कन्थे । यसबाट आपसी सम्बन्ध त सुदृढ हुने नै भयो । तर सार्कचाहिँ सुक्दै गयो

सार्कमा विपक्षीय राजनीतिका कुरा उठाउन पाइँदैनथ्यो । विम्स्टेकमा के छ ? विपक्षी मुद्दा उठाउन नपाउँदा पाकिस्तान र भारतका कुरा उठेनन्, कुरा नउठेपछि त्यसको समाधान पनि भएन त्यसैले राजनीतिक मुद्दा पनि उठाउन पाइनुपर्छ भन्ने धारणा पनि पाइन्छ । पाकिस्तान र भारतको सम्बन्धकै कारण सार्कका कतिपय राष्ट्र विम्स्टेकमा प्रवेश गरेका हुन् ।
आतंकवाद सबैको चासोको विषय बनेको छ । सायद त्यसैले होला काठमाडौं सम्मेलन लगत्तै विम्स्टेकका राष्ट्रले भारतको पुणेमा संयुक्त सैनिक अभ्यास गर्ने जानकारी आइसकेको छ । यस क्षेत्रमा अरूलाई भन्दा पनि भारतलाई आतंकवादको ठूलै समस्या भएकाले पनि होला भारतले पाकिस्तानको आतंककारी गतिविधिको सामना गर्न पनि सार्कलाई थाँती राखेर विम्स्टेकतिर लागेको हुनसक्छ ।
सार्क होस् या कुनै पनि यस्ता क्षेत्रीय संगठन हुन् । यसका सदस्य राष्ट्रहरूबीच राम्रो समझदारी, इमानदारी र पारस्परिक हित र सहयोगको भावना नहुने हो भने, तिनको स्थिति पनि सार्कजस्तै हुनसक्छ । सार्कको यो गति हुनुमा पाकिस्तान र भारतबीचको सम्बन्ध नै हो भन्दा हुन्छ । अहिले भारत र पाकिस्तानको सम्बन्ध धेरै बिग्रेर गएकाले भारतले सार्कको विकल्पका रूपमा विम्स्टेक रोजेको हुनसक्छ ? भन्ने चर्चा पनि चलेकै छ । यसअघि (४ वर्ष) देखि नै भारतले यो विकल्प देखेको थियो कि ? यो क्षेत्रीय संगठनमा पाकिस्तान नहुनु यही कारण हुनसक्छ भनेर अनुमान गर्न सक्ने आधारहरू छन् । यस अर्थमा भारतको यो राजनीतिक सफलता मान्नुपर्छ ।

अहिले पाकिस्तानको नेतृत्वमा परिवर्तन भएको छ । क्रिकेटका प्रसिद्ध खेलाडी इमरान खान प्रधानमन्त्री भएपछि निकै साहसिक देखिएका छन् । प्रधानमनत्रीको सरकारी भवनमा नबस्ने, करोडौं मूल्य पर्ने प्रधानमन्त्रीको गाडी पनि नचढ्ने जस्ता बाचा गरेर उनले आफ्नो कार्य सुरु गरेकाले हुनसक्छ, उनको समयमा भारतसितको सम्बन्धमा पनि सुधार होस् । दुवैले प्रयत्न गरे यो कुरा सम्भव पनि छ । तर त्यसो भएमा यी दुई संस्थामध्ये एउटै संस्था बन्छ त ? बेग्लै नाम दिएर ?
अबको समय युद्धभन्दा आपसी सहयोग र सम्बन्ध विस्तार गरी विकास र समृद्धिका माध्यमवाट आफ्नो देश र जनताको विकास गर्ने समय हो । पहिलो र दोस्रो विश्वयुद्धको डरलाग्दा युद्ध देखेका, सुनेका र भोगेका सबैले अब युद्ध होइन, शान्ति र प्रगतिको नारा बोल्न थालेका छन् । विम्स्टेकले, सार्क, आसियानजस्ता यस्ता क्षेत्रीय संगठनहरूले चाहे भने यो असम्भव पनि छैन । कमसेकम हाम्रो क्षेत्रमा शान्ति हुनेछ । विम्स्टेक र सार्क सद्भाव र प्रेमभावबाट सुमधुर सम्बन्ध गाँसिदै आएको छ । गणतन्त्रमा जानुअघि नेपाल हिन्दु राष्ट्र थियो । भारतको वर्तमान सरकारका प्रधानमन्त्री नरेन्द्र मोदी भारतलाई हिन्दु राष्ट्र बनाउने सोच राखेरै काम गरी रहेका छन् । यी दुवै देशमा हिन्दुहरूको बाहुल्य पनि छ । त्यसैले यी दुवे मिलेर आपसी भलाइका लागि काम गर्ने हो भने भविष्य सुन्दर छ । अहिलेको विम्स्टेकमा आर्थिक र विकासका दृष्टिले श्रीलंका र थाइल्याण्ड मात्र हुन् आर्थिक रूपले सम्पन्न । अरू राष्ट्र आर्थिक र विकासका दृष्टिले पछि नै छन् । भारत यस क्षेत्रमा शक्ति र आकारका दृष्टिले पनि बलियो राष्ट्र हो ।

यसले पनि कोही कोही बेला ‘ठूल्दाई’ (विग ब्रदर) को प्रवृत्ति देखाउने गर्दा सार्कका अन्य राष्ट्रहरूसँग त्यति सुमधुर सम्बन्ध कायम गर्न सकेको छैन । हामीमा आपसी विश्वास र आपसी सद्भाव नहुने हो भने जतिसुकै यस्ता संगठन खोल्दै जाने हो भने पनि प्रगति केही हुँदैन आपसी वैमनस्यता बाहेक ।
अहिले नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा उत्रँदा काठमाडौंको सुरक्षामा कडाइ गरिनु स्वाभाविकै हो । तर उनले नेपाल भ्रमणमा आउँदा सैयौ सुरक्षा सैनिकलाई पहिल्यै पठाउने वा आफूसँग पनि लिएर आँउदा, नेपालको सुरक्षा व्यवस्थालाई नपत्याएर अथवा विश्वास नगरेर हो कि भन्ने भित्र कतै नेपालीको मनमा चिसो पस्नु पनि त्यत्तिकै स्वाभाविक हुन्छ ।

विश्वको पहिलो र दोस्रो विश्वयुद्धमा ख्याति प्राप्त गरेका गोरखालीको राष्ट्रमा आउँदा एउटा असल मित्रको घरमा आए, जस्तो गरेको भए, नेपालीहरू गद्गद् हुने थिए । उनकै देश भारतमा पनि गोरखाली रेजिमेन्ट नै छ । ती गोरखाली सैनिकले भारतको स्वतन्त्रता र सुरक्षामा ठूलै भूमिका खेलेका छन् । यति भएर पनि यदि नेपालको सुरक्षा प्रणालीप्रति विश्वास नभएर हो कि ! भन्ने चर्चा काठमाडौंमा चलेको पनि सुनिएको छ । नेपालीको संस्कृति, इतिहास र सभ्यता नै–‘अतिथि देवो भवः’ अर्थात् अतिथि देवता जस्तै हुन् भन्ने रहेकाले नेपाल आउन कसैले पनि डराउनुपर्ने अवस्था छैन । नेपालीले आफ्ना अतिथिको सुरक्षा आफै गर्छन् र त्यसका लागि समर्थ पनि छन् ।
भारतका प्रधानमन्त्री मोदीको नेपालप्रतिको माया र प्रेमलाई पशुपतिनाथ माथिको उनको विश्वासले पनि खुलस्त पारेको छ । यसपटक पनि मोदीले पशुपतिनाथमा एउटा वृद्धाश्रम भारतीय सहयोगमै निर्मित र उद्घाटन गरेर हिन्दु धर्मप्रतिको आफ्नो आस्था गरेका छन् । नेपाली सबैले त्यसको स्तुत्य गरेका छन् । ‘विम्स्टेक’ ले राम्रा कार्यक्रम अघि सारेर सबै राष्ट्रको आर्थिक समृद्धिमा सहायक हुन सक्यो भने यसको भविष्य सुन्दर छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: