नेपालमा विपश्यना साधना, के हाे विपश्यना ?


डा. रुप ज्योति (उपाध्यक्ष, ज्याेति समूह) नेपाल प्रमुख, विपश्यना केन्द्र

आफ्नो मनलाई कसरी आफ्नो वशमा राख्न सकिन्छ भन्ने कुरा निकै महत्वपूर्ण रहन्छ । मन हाम्रो मालिक भएको हुन्छ र सोही मनको चाहना बमोजिम हामी चलिरहेका हुन्छौं । हामीले मनलाई कसरी नियन्त्रणमा लिने भन्ने सम्बन्धमा विपश्यना निकै प्रख्यात विधि हो । हुनत मनलाई एकाग्र बनाउन र आफ्नो नियन्त्रयामा राख्नको निम्ति थुप्रै उपायहरु छन् । तर विपश्यना साधनाले आफूले ग्रहण गर्ने र त्याग गर्ने सासको अवस्थालाई नियन्त्रणमा लिएर मनलाई एकाग्र बनाउँछ । यस विधिमा प्राकृतिक स्वासलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता रहँदैन । सासको जानकारी मात्र लिएर मनलाई एकाग्र बनाउने काम नयाँ साधकहरुको निम्ति शुरुका दिनहरुमा निकै गाह्रो हुन सक्छ । मन स्वभावैले चञ्चल हुन्छ । यसकारण मन अहिले चलिरहेका घटना, विगत वा भविष्य बारे विभिन्न सपना, योजना र कल्पनाहरुमा पुग्न सक्छ । तर सासलाई नियन्त्रण गरी आफ्नो सासमा ध्यान गर्ने क्रममा शुरुका दिनमा मन यसलाई सहजै स्वीकार्न तयार हुँदैन । यस क्रममा ढाड दुख्ने, खुट्टा दुख्ने, उकुसमुकुस हुने तथा अल्छी लाग्ने लगायतका समस्याहरु देखिन सक्छन् । यद्यपि मन एकाग्र हुन शुरु भएपछि आफू अन्तरमुखी हुने क्षमता विकास हुन्छ ।


मानिसको मनमा हरबखत कुनै न कुनै तरङ्ग चलिनै रहेको हुन्छ । तर मानिसको मन वहिमुर्खी हुने भएको कारण आफ्नो शरीरमा के भइरहेको छ भन्ने कुरा उसलाई थाहा नै हुँदैन । यद्यपि विपश्यनाको पहिलो चरणको ३ दिन निरन्तर साधना गरिसकेपछि भने अन्तरमुखी स्वभाव बढेर आउँछ । यससँगै आफ्नो शरीरमा के भइरहेको भन्ने कुरा विस्तारै जानकारी पाउन सकिन्छ ।
मानिसको मनमा विभिन्न किसिमका विकारहरु छन् । ती विकारहरु विभिन्न शारीरिक समस्याको रुपमा साधनाको समयमा निस्कने गर्छन् । यस क्रममा साधकले बिना प्रतिक्रिया केवल साक्षीभावले मात्र हेर्नुपर्ने आवश्यकता रहन्छ । यसबाट मनका डरहरु विस्तारै हट्दै जान्छन् । साथै यसबाट मनको क्षमतामा समेत विकास हुन्छ । मानिसले शरीरमा भएका गतिविधिहरुको जानकारी लिँदै जाँदा हाम्रो शरीरका विकारहरु समेत एकसाथ बाहिर निस्किइरहेका हुन्छन् ।

विपश्यनाको साधारण अर्थ बिना प्रतिक्रिया हेरिरहनु भन्ने हुन्छ । केवल आफ्नो शरीरमा आएको प्रतिक्रियामा आफूले कुनै पनि प्रतिक्रिया नजइकन रहँदा शरीरमा रहेका विकारहरु आफैं हट्दै जान्छ । क्रोध, भय, इष्र्या, रोग लगायतका मानिसमा रहेका समस्याहरु हटाई विपश्यनाले मानिसको मनमा रहेका मयलहरुलाई हटाउने काम गर्छ ।
आफ्नो मनलाई भित्रै बाट सफा गर्ने यस विपश्यना प्रति पछिल्लो समय नेपालमा निकै नै आकर्षण समेत बढेको छ । हाल देशका विभिन्न ८ ठाऊँमा विपश्यना केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

यस विपश्यना विधि अनुसार कर्म संस्कार द्वारा चित्तलाई शुद्ध र निर्मुल गरी मुक्ति प्राप्त गरिन्छ । हामीले विगतमा गरेका कर्महरुको कारण अहिले विभिन्न किसिमका दुःखहरु पाइरहेका छौं । तर यस विपश्यना विधिबाट हामीले नियन्त्रित रुपमा विगतका कर्महरुको फल निकाल्न सक्छौं । यसबाट हामीले जीवनमा आइपर्ने दुःखहरु घटाउँदै जान सकिन्छ ।

नेपालमा विपश्यनाको शुरुवात :
नेपालमा विपश्यना भित्र्याउने श्रेय २ जना साधकहरुलाई जान्छ । मणिहर्ष ज्योति कंसाकार र यदुकुमार सिद्धि । ऊहाँहरुले नेपालमा गुरु सत्यनारायणलाई समेत ल्याई यस साधनालाई भित्र्याउनुभएको हो ।  नेपालमा विपश्यना केन्द्रहरु स्थापना गर्नुमा समेत बुबा मणिहर्षको ठूलो भूमीका छ । यद्यपि नेपालमा पनि विपश्यना प्रतिको आकर्षण एक हद सम्म अघी बढिसकेको थियो । तर बुबाको मृत्यु भयो । त्यस सँगै विपश्यना सञ्चालनको निम्ति साधकहरुले आग्रह गरेपश्चात् मणिहर्षका छोरा रुप ज्योतिले पनि यसलाई निरन्तरता दिने सोच बमोजिम विपश्यनालाई नेपालमा फैलाउन र ज्ञान बाँड्नमा महत्वपूर्ण भूमीका निर्वाह गर्नुभयो । हाल रुप ज्योति नेपालका ८ ओटै विपश्यना केन्द्रहरुको समन्वयात्मक क्षेत्रीय आचार्यको भूमीकामा रही संरक्षणमा कार्य गरिरहनुभएको छ । अब विश्यनाका ५ ओटा केन्द्रहरु नयाँ खुल्ने क्रममा छन् । फिक्कल, पाल्पा, लुक्ला, उपत्यका र रामग्राममा यी केन्द्रहरु सञ्चालन हुनेछन् ।

शिविर सञ्चालनको निम्ति स्रोत व्यवस्थापन :
शिविर सञ्चालन पश्चात् साधकहरुमा आफूले ज्ञान लिएबापत संस्था सञ्चालनको लागि आफ्नो पनि केही योगदान हुनुपर्छ भन्ने भाव विकास हुने गर्छ । त्यसैकारण अहिले शिविर सञ्चालनको निम्ति साधकहरुबाट दान बापत उपलब्ध हुने रकम नै शिविर तथा संस्था सञ्चालनको आधार बनेको छ । यो शिविर हरेक महिना १ तारिख १४ तारिखमा सञ्चालन हुने गर्छ ।

विपश्यनाका चरणहरु :
पहिलो पटक लिने शिविर १० दिनको हुने गर्छ । दोस्रो चरण २० दिनको हुने गर्छ । २० दिनको शिविरमा सहभागि हुने १० दिनको ५ ओटा शिविरमा संलग्न हुनुपर्छ । अर्को चरणमा ३० दिनको शिविर हुन्छ । यसमा सहभागि हुन २० दिनका २ ओटा शिविरमा सहभागि भएको हुनुपर्छ । यसरी नै ४५ दिन र ६० दिन सम्मका शिविरहरु प्रचलनमा छन् । नेपालमा ४५ दिन सम्मको शिविर सञ्चालन भएको छ ।

आगामी दिनमा पनि यस विपश्यनाको विकास र संरक्षणमा लाग्न सकियोस् भन्ने सोचमा आफू रहेको बताउनुहुन्छ  रुप ज्योति ।
अहिले नेपालका उच्च स्तरका व्यक्तिहरु पनि विपश्यना साधना प्रति आकर्षित छन् । प्रहरी, सेना, सरकारी कर्मचारी, राजनेता, डाक्टर, विदेशी निकायमा कार्यरत व्यक्तिहरु, विद्यार्थी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु अहिले विपश्यना लिइसकेका छन् ।

विपश्यनामा रुचि :
बुबाको मृत्यु पश्चात् बुबालाई विपश्यनाले मिलेको लाभको कारण नै आफू विपश्यना प्रति आकर्षित हुनुभएको हो रुप ज्योति । ‘विपश्यना साधना सँगै तपाईंको औद्योगिक÷व्यावसायिक यात्रामा यसले कस्तो प्रभाव ल्याएको छ ?’ भन्ने प्रश्नमा ज्योति यो साधनामा संलग्न हुनु भन्दा पहिले कुनै नयाँ काम शुरु गर्दा परिणाम प्रति बढी आकर्षण रहने गरेपनि अहिले भने परिणाम प्रतिको आकर्षण कम रहेको बताउनुभयो । अर्थात आफूले शुरु गरेको कामबाट सोचेबमोजिम परिणाम नआएपनि त्यसबाट मनमा उत्पन्न हुने व्याकुल स्थिति घट्ने गरेको छ । आफ्नो तर्फबाट गर्नुपर्ने कामलाई निरन्तरता दिनुपर्ने साथै आफूले कुनै कुनै कुरा सुधार्नुपर्ने भए सुधार्ने तर परिणाम प्राप्तिको निम्ति आफू मात्र जिम्मेवार नरहने भएको कारण त्यसमा आत्तिन नहुने महत्वपूर्ण सन्देश प्राप्त भएसँगै हरेकले आफूलाई सकारात्मक तवरले धैर्यताको साथ आगामी यात्रा तय गर्ने हुनाले भौतिक उन्नतिको निम्ति समेत साधना उपयोगी हुने गर्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: