निशानामा भारतका बौद्धिकः उमरमाथि आक्रमणको दोस्रो दिन सहेलालाई हत्याको धम्की


नयाँ दिल्ली । सामाजिक अभियन्ता तथा विद्यार्थी नेतृ सहेला रसिदले आफूलाई हत्याको धम्की आएको भन्दै श्रृनगर प्रहरीमा एफआइआर दर्ता गराएकी छन् । जेएनयूका उनकै सहकर्मी उमर खालिदमाथि कन्सीच्युशनल क्लब अफ इन्डियाको गेट नजिकै सोमबार गोली चलेको भोलिपल्ट उनले यो खबर बाहिर ल्याएकी हुन् ।

रसिदका अनुसार हिन्दु अतिवादी तथा माफिया डनका रुपमा परिचित रवि पुजारीले उनीसहित उमर खालिद र दलित नेता जिग्नेश मेवानीलाई पनि जोडेर धम्की दिएका हुन् । रसिदले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेको पुजारीको धम्कीमा लेखिएको छ, ‘अब तिम्रो मुख बन्द गर होइन भने सँधैका लागि मैले बन्द गरिदिन्छु । यो खबर उमर खालिद र जींगेश मेवानीलाई पनि सुनाइ दिनु ।’

भारतमा पछिल्लो समय बौद्धिक वर्गमाथिको हमला लगातार बढ्दै गइरहेको बेला मंगलबार विद्यार्थी नेतृ तथा सामाजिक अभिन्यता रसिदलाई हत्या गर्ने धम्की आएको हो । विगत केही समय यता लेखक, सम्पादक, सामाजिक अभिन्यता, साहित्यकारमाथि भइरहेको हमला सोमबार जेएनयूका एक विद्यार्थीमाथि समेत भएको थियो ।

सोमबार दिउँसो २ बजे दिल्लीस्थित कन्सीच्युशनल क्लब अफ इन्डियाको गेट नजिकै एउटा कर्यक्रममा सहभागी हुन गएका जेएनयूका विद्यार्थी नेता उमर खालिदमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियाे । इतिहास विषयमा पीएचडी गरिरहेका खालिद जेएनयूका विद्यार्थी नेता हुन् । क्लबमा ‘यूनाइटेड अगेन्स हेट’ नामक संस्थाले आयोजना गरेको ‘त्रासबाट मुक्ति’ कार्यक्रममा सहभागी हुन गएका उनीमाथि प्रहार भएको गोलीबाट कुनै क्षति भने हुन पाएन, उनी सुरक्षित रहे । प्रत्यक्षदर्शीका अनुसार तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले उनीमाथि फायरिङ खोलेर भागेका थिए । उनी सरकारले गरेका कामको कडा आलोचना गर्ने विद्यार्थी नेताका रुपमा भारतमा परिचित छन् ।

यसअघि सन २०१६ मा विश्वविद्यालय हातामा सन २००१ को राष्ट्रिय सभामा भएको आक्रमणमा दोषी ठहर्‍याई मृत्युदण्ड सुनाइएका अफजल गुरुको बारेमा कार्यक्रम गरेको भन्दै उनीसहित कन्यैहा कुमारलगायत विद्यार्थीलाई राजद्रोहको मुद्दा चलाइएको थियो । त्यही मुद्दाका कारण भर्खरै मात्रै उनले गरेको पीएचडीको थेसिसलाई समेत जेएनयू प्रशासनले अस्वीकार गरिदिएको थियो । यो भारतमा बौद्धिक वर्गमाथि भएको पहिलो हमला होइन ।

सन २०१८ को १४ जुनमा भारतको कस्मिरस्थित श्रृनगरबाट प्रकाशित ‘राइजिङ कस्मीर’का सम्पदाक सुजात बुखारीमाथि हमला भयो । उनी अफिसबाट घरतर्फ गइरहेको बेलामा बन्दुकधारीहरुले हमला गरेका थिए । हमलाबाट ५० वर्षीय बुखारीसहित उनका दुई जना अगंरक्षकको पनि हत्या भएको थियो ।

त्यसअघि सन २०१७ को ५ सेप्टेम्बरका दिन बैंगलोरबाट प्रकाशित हुने ट्याबलोइट पत्रिका ‘लंकेश’की सम्पादक तथा वरिष्ठ पत्रकार गौरी लंकेशको राजाराजेश्वरी नगरस्थित घरमै गोली हानी हत्या भएको थियो । निडर र प्रखर आलोचकका रुपमा परिचित ५५ वर्षीया लंकेशका हत्याराले पक्राउ परेपछि हिन्दु धर्म जोगाउन उनको हत्या गर्नु परेको बयान प्रहरीसामु दिएका थिए ।

त्यसभन्दा पहिले २०१५ अगस्टमा भारतीय वरिष्ठ साहित्यकार एम.एम. कालबुर्गीको पनि मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

त्यसै वर्षको फेब्रअरीमा वरिष्ठ लेखक तथा राजनीतिज्ञ ८१ वर्षीय गोविन्द पान्सरेको पनि श्रीमतीसँग मोर्नीङ वाकमा हिंडि रहेका बेलामा गोली हानी हत्या भएको थियो ।

पान्सरेको हत्या हुनु पहिले अगस्ट २०१३ मा चिकित्सक पेशामा आवद्ध वैकल्पीक चिन्तक ६७ वर्षीय नरेन्द्र डाबोल्कारमाथि पनि गोली प्रहार भएको थियो । उनको हत्या भएलगत्तै लेखक पान्सरेलाई पनि डाबल्कारकै स्थीतिमा पुर्‍याइदिने धम्की आएको थियो ।

  • एजेन्सीको सहयोगमा
Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: