एडीबी सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक सम्पन्न


एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न आज त्रिपक्षीय पोर्टफोलियो बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम अझ प्रभावकारी बनाउन कार्ययोजना लगायतमा सघाउन अर्थ मन्त्रालय तयार रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष सजग हुनुपर्ने बताउँदै सहयोगका लागि एडीबीप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा एडीबीका देशीय निर्देशक मुखोर खामुद्खानोभले एडीबी सहयोगका मेलम्ची खानेपानी योजना, सडक सुधार आयोजना, त्रिभुवन विमानस्थल सुधार आयोजना, भूकम्प आकस्मिक सहयोग आयोजना आदि चुनौतीपूर्ण भए पनि समयमै सम्पन्न गर्नुपर्ने बताए ।

एडीबी दक्षीण एशिया विभागका उपमहानिर्देशक दिवेश शरणले २०१७ मा नेपालको कार्यसम्पादन राम्रो भए पनि लक्ष्य प्राप्तिका लागि अझै प्रयास गर्नुपर्ने बताए ।

कार्यक्रममा एडीबीका सिनियर प्रोक्युरमेन्ट अफिसर नरेन्द्र चन्दले नेपालको कार्य सम्पादनबारे, भूकम्प आकस्मिक सहायता आयोजनाबारे नरेश गिरी, यातायात तथा सञ्चारबारे शिगेहिको मुरामोतो तथा शिक्षाबारे स्मीता ज्ञवालीले प्रस्तुति दिएकी थिइन् । सो समीक्षा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल, नेपाल पुनः निर्माण प्राधिकरणका सचिव अर्जुन कार्की लगायतले भाग लिएका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: