गाउँले मुना बनेकी छु : सृष्टि श्रेष्ठ


काठमाडौं । गाजलु रिलिज भएको दुई वर्षपछि अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ पर्दामा आउँदै छिन् । उनी यसपटक नयाँ चलचित्र ‘रोमियो एन्ड मुना’मा मुना बनेर आउन लागेकी हुन् । ‘गाजलुमा एउटा सिधा युवती तथा पूर्वकुमारीको भूमिकामा थिएँ, रोमियो एन्ड मुनामा पनि एउटी सोझी युवतीको भूमिकामा छु,’ उनले भनिन् । तर, आफ्नो चरित्र यी दुवै चलचित्रमा आकाश–पातालको फरक रहेको यी अभिनेत्रीले बताएकी छन् ।

‘रोमियो एन्ड मुना’मा मेरो गाउँले मुनाको भूमिका रहेको छ,’ सृष्टिले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘चलचित्रले आफूलाई वास्तविक रूपमै चित्रकार बनाएको छ ।’

११ साउनबाट प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एन्ड मुना’ मा आफू चित्रकारका रूपमा देखिन लागेको पनि उनले बताइन् । यही भूमिकाका लागि उनले ६ महिना चित्रकारिताको प्रशिक्षण लिनुपरेको थियो । रोमियो एन्ड मुनामा सृष्टिले विनय श्रेष्ठको प्रेमिकाको भूमिका निर्वाह गरेकी छन् । जसमा विनय एनआरएन हुन्छन् । सोही कारण यस चलचित्रमा विनयको चरित्रको स्वभाव रोमियो र आफ्नो स्वभाव गाउँकी मुनाजस्तो रहेको पनि उनले बताएकी छन् ।

गाजलुमा अनमोल केसीकी नायिका बनेकी सृष्टिले रोमियो एन्ड मुना रिलिज भएपछि दर्शकले आफूलाई विनयकी नायिका भनेर सम्बोधन गर्ने दाबी गरेकी छन् । आफू र विनयसँगै यस चलचित्रका कलाकार प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तलगायत सबैले राम्रो काम गरेको पंनि यी अभिनेत्रीले बताइन् ।

यस चलचित्रलाई नरेश केसीले निर्देशन गरी केही फरक बनाउन खोजेको पनि यी अभिनेत्रीले बताएकी छन् । सिनेमा केही फरक बनेको यी अभिनेत्रीको कथन छ । शुक्रबारबाट देशव्यापी प्रदर्शनीमा आउने रोमियो एन्ड मुना रिलिजपछि आफूलाई दर्शकले मुनाका रूपमा सम्बोधन गर्ने पनि यी अभिनेत्रीको विश्वास छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: