पानीको जार र कार्टुनमा कर लगाइएपछि पानी व्यवसायीहरु असन्तुष्ट


भक्तपुरको चाँगुनारायण नगरपालिकाले जार तथा बोतलबाट विक्री हुने पिउने पानीमा कर लगाउने नीति लिएसँगै बन्द भएका उद्योगहरु ५ दिनपछि सञ्चालनमा आएका छन् ।
नगरपालिकाले प्रति जार १ रुपियाँ र प्रति कार्टुन १ रुपियाँ २० पैसा रकम कर लगाउने निर्णय गरेसँगै उद्योगहरु बन्द भएका थिए । उद्योगहरु बन्द भइ पानी आपुर्ति नभएपछि र पानी आपुर्तिका अन्य माध्यम समेत नभएको कारण केही दिन भक्तपुरमा पिउने पानीको हाहाकार नै हुन गयो ।

यसलाई सम्बोधन गर्नको निम्ति पानी उद्योगीहरुको प्रतिनिधित्व गर्दै नेपाल बोटल वाटर उद्योग संघका प्रतिनिधि तथा उद्योगीहरु, नगरपालिकाका प्रतिनिधिहरु तथा ठेकेदारहरु बीच छलफल भएपनि अहिले सम्म पानीमा लगाइएको कर सम्बन्धमा कुनै टुंगो भने लाग्न सकेको छैन ।
हालको लागि भने ससर्त गाडीहरु सञ्चालन गरिएको छ । चाँगुनारायण नगर क्षेत्रका सडकखण्ड हुँदै आपुर्ति हुने गाडीले बोकेका जार र कार्टुन गणना गर्ने र पछि हुने सहमतिको आधारमा कम्पनीहरुले पानीको कर तिर्नुपर्ने अवस्था आए अहिले गणना भएका जार तथा कार्टुन समेतको कर रकम तिर्ने सर्तमा पानी उद्योगहरुले पानी आपुर्ति गर्न शुरु गरेका छन् ।

अहिले सम्म नेपाल सरकार मातहत शुद्ध पिउने पानी आपुर्तिको लागि कुनै ठोस कार्य हुन नसकेको अवस्थामा व्यवसायीहरुले उपलब्ध गराउने पानी नै उपभोक्ताहरुको निम्ति निर्विकल्प माध्यम बन्ने गरेको छ । दैनिक अनिवार्य आवश्यकताको वस्तु हुँदाहुँदै पनि व्यवसायी र उपभोक्ता दुवैलाई अप्ठ्यारो पर्ने गरी पिउने पानीमा कर लगाउनुले मुलुकमा औद्योगिक वातावरण निर्माण तथा व्यवसायीमा मनोबल वृद्धिको हिसाबले समेत नकारात्मक सन्देश प्रवाह हुने व्यवसायीहरुको धारणा छ ।

नेपाल वोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारी उद्योग र उपभोक्तालाई थप भार पर्ने गरी बिना योजना राज्य संयन्त्र अन्तरगत सञ्चालित स्थानीय सरकारले अन्धाधुन्द पटके कर लगाउँदा सञ्चालनमा रहेका उद्योगहरुलाई निकै नै अप्ठ्यारो पर्ने भन्दै उक्त कर अव्यावहारिक रहेको तर्क गर्छन् ।
वोटल वाटर उद्योग संघका महासचिव मधु घोरसाइनी राज्यले पानीलाई अनिवार्य वस्तु भनेर सम्बोधनमा मात्र सीमित राखेको तर व्यवहारमा चाहिँ अनिवार्य वस्तु अनुरुप व्यवहार नगरेको कारण उपभोक्तालाई पर्न जाने प्रतिकुलता समेत बुझेरै पनि उद्योगीहरुले बाध्यतावश पानी आपुर्ति बन्द गर्नुपरेको दावी गर्छन् ।

उता नगरपालिका भने कर लिने कार्य आफ्नो क्षेत्राधिकार भित्र पर्ने भन्दै आफ्नो निर्णयबाट पछि हट्ने पक्षमा देखिँदैन । चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र व्यवसायीले कर तिर्नैपर्ने कुरामा अडिग छन् । साथै उक्त कर बापत उपभोक्तालाई कुनै पनि भार नथपिने समेत दाबी गर्छन् । हावा, औषधी लगायत सबै वस्तुको कर लाग्ने बताउँदै पानी उत्पादन समेत व्यावसायिक प्रयोजनले गरिने भएको कारण राज्यको नियम अनुसार कर तिर्नु व्यवसायीको दायित्व हुने तर्क गर्छन् ।
हाल भक्तपुरको चाँगुनारायण क्षेत्रमा करिब १ दर्जन पानी उद्योगहरु सञ्चालनमा छन् । यस क्षेत्रबाट दैनिक ३५ सय देखि ४ हजार जार पानी खपत हुने अनुमानित तथ्याङ्क रहेको एक व्यवसायीले बताए ।

व्यवसायीबाट कर उठाउने जिम्मेवारी भगवती कन्स्ट्रक्सनलाई दिइएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: