काठमाडौँमा गर्मी बढ्यो, केही स्थानमा ठूलो वर्षा हुनसक्ने



काठमाडौँ । आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ।

आज दिउँसो देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ भने रातिको समयमा देशभर नै सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनसक्छ।

साथै आज देशको पश्चिम र मध्य क्षेत्रका एक÷दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ। भोलि शुक्रबार दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना छ। रातमा पनि बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने र पश्चिम तथा मध्य क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबार पनि यस्तै किसिमको मौसम रहने बताइन्छ।
काठमाडौँमा गर्मी बढ्यो

बिहान र बेलुका सामान्य वर्षा भए पनि दिउँसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भई काठमाडौँ उपत्यकामा गर्मी बढेको छ।

मनसुनी वर्षा तुलनात्मकरुपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उपत्यकाको तापक्रम बढेको हो।

काठमाडौँसहित देशभर अझै एक÷दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । वायुमण्डल सफा भई घाम सिधा जमीनमा पर्ने भएकाले एक्कासी तापक्रममा वृद्धि आएको हो।

मनसुन न्यूनचापीय रेखा नेपालको तलतिर रहेकाले अहिले खण्ड खण्डमा वर्षा हुने गरेको छ। आगामी असार ५ गतेदेखि मनसुनी गतिविधि पुनः सक्रिय भई देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ।

हिजो बुधबार र आज काठमाडौँको अधिकतम तापक्रम ३१.६ र न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस रह्यो । एक साताअघि उपत्यकाको अधिकतम तापक्रम २४ देखि २७ सम्म पुगेको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८.३ र न्यूनतम २६.८ डिग्री सेल्सियस पुगेको छ। सबैभन्दा कम जुम्लाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । आज ताप्लेजुङमा २९, डडेलधुरामा १६ र नेपालगञ्जमा ६ मिलिमिटर वर्षा भएको छ। रासस

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: