‘डा.केसीको जीवन तलमाथि बनाउने सरकारको नियत’: देउवा


काङग्रेस सभापति शेरबहादुर देउवाले शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगरी गम्भीर दुर्घटना निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

सभापति देउवाले सोमबार डा.गोविन्द केसीको अनसन र मागहरुका सन्दर्भमा सार्वजनिक वक्तव्य जारी गर्दै डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश नै गरिरहेको गम्भीर आशंका उव्जीएको बताएका छन् ।

उनले डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले आफुलाई गम्भीर बनाएको पनि बताएका छन् । ‘यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु । चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु’ देउवाले आफ्नो वक्तव्यमा भनेका छन् ।

देउवा नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको थियो । डा. केसीसंगको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु विद्यमान जटिलताको विवेकसम्मत हल हुने देउवाको निश्कर्ष छ ।

‘शासन संचालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ । डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको छ । अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु’ देउवाले भनेका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: