विश्वकप फाइनल : दिमागले भन्छ फ्रान्स तर मन भन्छ क्रोएशिया !


विश्वकप सुरुहुनुभन्दा अगाडि फाइनलमा पुग्ने टोली ब्राजिल, जर्मनी र सम्भवतः फ्रान्सपनि होला भनेर सोच्ने म मात्रै एक्ली थिइन् । फ्रान्स त फाइनलमा पुग्यो तर मलाई लाग्छ धेरै कमले मात्रै म जस्तै क्रोएशियालाई पनि फाइनलमा पुग्छ भनेर साचेका थिए । जाल्ट्को डालिककको टोली क्रोएशियालाई यसपटकको विश्वकप हेर्न मजा आयो । टोलीमा केही स्टार खेलाडीहरु पक्कै थिए । तर यो टीमवर्क विना सम्भव थिएन । लुका मोडरिच, इभाव रिकिटिक र मारियो मान्डजुकिक उनीहरुका महत्वपूर्ण खेलाडी हुन् । जो युरोपका ठुला क्लबहरुबाट पनि खेल्ने गर्छन् । तर म तर्कका साथ भन्छु कि पूरै टोलीले फाइनल पुग्न बराबरी योगदान गरेका छन् ।

मिडफिल्डरमा इभान पेरिसिकको नथाकिकनको दौड र डिफेन्सका सिमे भिज्रलाकीको खटाईले कहिले विपक्षीले आरा मगर्न पाएनन् र हामी गोल किपर डेनियल सुबासिकलाई कसरी भुल्न सक्छौ । जो दुई पेनाल्टी सुटआउट(अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा रसिया) का नायक थिए ।

यसले परम्परा र इतिहासले अन्त्यमा केही महत्व राख्दैन भन्नेपनि स्पष्ट पारेको छ । रसिया विश्वकपले हामीलाई विगतमा जति विश्वकप जितेपनि त्यसले खेल नजिताउने छर्लंगै पारिदिएको छ ।

ब्राजिल, अर्जेन्टिना, स्पेन र जर्मनी घर फर्किसके तर क्रोएसिया अझै यहीँ छ । क्रोएिशियाले पनि सन् १९९८ मा तेस्रो स्थान त हात पारेको थियो तर उसले त्यसभन्दा माथि बढ्न निकै संघर्ष गर्नुपर्यो ।

यस समरमा ती सबै संघर्षहरुले परिणाम दियो। अन्य टोलीका भन्दा क्रोएशियालीहरुको कसरी अगाढी बढ्ने स्पष्ट रणनिती देखिन्थ्यो । सबैले एक अर्काको मदत गर्दै एक अर्काको आत्मविश्वास बढाए अवश्य अघि बढ्न सकिन्छ भन्ने ज्ञान उनीहरुमा सुरुदेखि नै देखियो । अन्य टोलीमा भन्दा उनीहरुको एकता उत्कृष्ट थियो । उनीहरुले एक्लैमा सीमित नभएर टोलीका रुपमा विपक्षीको सामना गर्दै सफलता हात पारेका हुन् ।

विपक्षीका कमजोरी र उनीहरुको लक्ष्यबारे पनि क्रोएशिया राम्रो जानकारी पनि देखियो। प्रशिक्षक डालिकले त्यसैअनुसार आफ्नो रणनितीमा पनि परिवर्तन गरे । कतिपय प्रशिक्षकहरु नियमित खेलमा परिवर्तन गर्न डराउँछन् तर उनी निर्धक्क रुपमा प्रस्तुत भए ।

कप्तान लुका मोडरिच बिनाको क्रोएशियाको सफलताको चर्चा गर्नु न्यायचित हुँदैन् । मिडफिल्डरले नछुटाई गर्नुपर्ने हरेक काम उनले उत्तिकै प्रभावकारी ढंगले गरे। उनी आफू शान्त रहे र टोलीलाई पनि जस्तोसुकै अवस्थामा दबाबमुक्त रहेर खेल्न उत्प्रेरित गरिरहे ।

हामी उनलाई रियल म्याड्रिडमा बर्षौ कुदिरहेको देखिरहेका थियौं । त्यहाँ उनले चारवटा च्याम्पियन्स लिग पनि जिते तर उनी सधैँ स्पेनिस क्लबका स्टारहरु क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल,करिम बेन्जामेको छायाँमा परिरहे । यस विश्वकपमा उनले आफ्नो स्थान के हो र आफू के का लागि हकदार छु भन्ने सारा विश्वलाई देखाईदिएका छन्। अहिले जताजतैबाट उनको प्रशंशा मात्रै सुन्न पाइन्छ ।

मिडफिल्डरका रुपमा पूर्ण खेलाडी बन्न तपाईसँग विशिष्ट गुणहरु हुनुपर्छ । तपाईमा क्षमताको साथै स्पष्ट भिजन, बलियो इच्छाशक्ति हुनुपर्छ र तपाईले कडा मेहनत गर्नुपर्छ । यी सबै कुराले मोडरिच पूर्ण छन् ।

र, म भन्दै थिए यो सबै क्रोएशिया को टीमवर्क र लडाकुपनको नतिजा हो । इंग्ल्याण्डविरुद्धको जितपछि मोडरिच र सहकर्मीहरुले इंग्ल्याण्डका मिडियाले आफूहरु ‘थाकेकाहरुले के गर्लान’ भन्दै गिज्याएको कुरालाई उनीहरुले इखका रुपमा लिदैँ इंग्ल्याण्ड देखाई दिएको प्रतिक्रिया दिएका थिए ।

इंग्ल्याण्डविरुद्ध सेमिफाइनल खेल्नुअघि अन्तिम १६ मा डेनमार्कसँग र क्वार्टरफाइनलमा आयोजक रसियासँग नियमित ९० मिनेट, त्यसपछिको अतिरिक्त समयको ३० मिनेट अनि त्यसपछिको पेनाल्टी सुटआउटको लामो खेल खेल्दै सेमिफाइनलको यात्रा तय गरेकाले इंग्ल्याण्डका मिडियाहरुले क्रोएशियालाई ‘थाकेको टोली’को संज्ञा दिदैँ उनीहरुमाथि इंग्ल्याण्ड सहजै हावी हुने व्यापक हल्ला गरेका थिए ।

आलोचनालाई कहिलै मजाकका रुपमा लिनुहुदैँन् । भिन्न मानिसहरुले यसलाई भिन्न तरिकाले ग्रहण गर्छन् । जब आलोचनाहरु उत्प्रेरणामा बदलिन्छन त्यसले शक्तिशाली परिणाम दिन्छ । क्रोएशियालीहरुले पनि त्यस्तै गरे, उनीहरुको आरोपलाई उत्प्रेरणाका रुपमा ग्रहण गरे र शक्तिमा बदले ।

जुन इंग्ल्याण्डविरुद्धको खेलमा हरेक खेलाडीमा देखिन्थ्यो । उनीहरुले आफ्नो सबै सामथ्र्य मैदानमा दिएका थिए । यदि इंग्ल्याण्डका मिडियाहरुले उनीहरुमाथि थकित टोलीको आरोप नलगाएको भए सायद क्रोएशियाली खेलाडीहरुको त्यत्तिको सामथ्र्य मैदानमा देखिदैन् थियो होला । व्यक्तिगत रुपमा पनि म यस किसिमको अनुभवबाट गुज्रिसकेकी छु । जति म आलोचना सुन्थे, म त्यति तिनीहरुलाई गलत देखाउन पुरै सामथ्र्य खर्चिन्थे । थप मेहनत र जोशले खेल्थे। फलस्वरुप त्यसले परिणाम पनि राम्रो ल्याउथ्यो ।

मलाई अन्तर्वार्ताहरुमा नसोधुञ्जेलसम्म म आलोचनाहरुलाई सार्वजनिक रुपमा उत्तर पनि फर्काउने गर्दिनथे । किनकी मेरो काम मैदानबाट जवाफ फर्काउनु हुन्थ्यो । मलाई लाग्छ सफल खेलाडी बन्न आलोचनाको मुख्य भूमिका हुन्छ । तपाईले आलोचनासँग बाच्न सिक्नुपर्छ र त्यसलाई तपाईको आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्नुपर्छ ।

क्रोएशियाले फ्रान्सको सामना गर्दैछ । फ्रान्ससँग प्रतियोगिताका एक स्टार केलियन एम्बाप्पे छन् । १९ वर्षिय यी किशोर खेलाडी विश्वस्तरिय प्रतिभाशाली छन् । उनको गती अविश्वसनीय छ । उनलाई रोक्न पनि विपक्षीहरुलाई हम्मेहम्मे पर्छ ।

फ्रान्स युवा टोली हो। उनीहरु एक खेलपछि अझै राम्रो नतिजा ल्याउने सोचका साथ अघि बढेको देखिएको छ । मेरो विचारमा उनीहरुको उपाधि जित्ने सम्भावना अलि बढी छ । तर, म आशा गर्छु म गलत हुँ । किनकी म उनीहरुभन्दा क्रोएशियालाई अलि बढी समर्थन गर्नेछु । किनकी उनीहरु आजसम्म कहिलैपनि विश्वकपको फाइनलमा पुगेका थिएनन् र यसबेला उनीहरुले आफ्नो सबैथोक दिएका छन्। उनीहरु उपाधिका हकदार हुन् ।

(लेखिका मार्ता विश्वकी महान महिला फुटबलर हुन् । उनले ब्राजिलका लागि सय भन्दा बढी गोल गरेकी छिन् । एउटै महिला विश्वकपमा सर्बाधिक १५ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छन् । उनले यो लेख हामीले द गार्डियनबाट अनुवाद गरेका हौं ।)

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: