विश्वकप फुटबल फाइनल खेल हुने रंगशाला


मस्को । फ्रान्सलाई धेरैले उपाधि दाबेदारको रूपमा हेरे पनि क्रोएसिया भने आश्चर्यजनक रूपमा फाइनलमा पुगेको छ ।
फाइनल खेल रूसको राजधानी मस्कोस्थित लुजनिकि स्टेडियममा हुनेछ । खामोभ्निकी जिल्लामा पर्ने यो स्टेडियममा फाइनल खेल खेलाउने टुंगो २ डिसेम्बर २०१० मा नै लागेको थियो । यद्यपि अन्तिम निर्णय भने १४ डिसेम्बर २०१२ मा गरिएको थियो ।
यो निर्णय गर्न फिफाको कार्यकारी समितिको बैठक जापानमा बसेको थियो । यो रंगशालामा फाइनल बाहेकका ६ अन्य खेल भइसकेका छन् । १४ जुनको ओपनिङ म्याच, तीन समूह चरणका म्याच, अन्तिम १६ को एक म्याच र दोस्रो सेमिफाइनल खेल यही मैदानमा खेलाइएको थियो ।
सन् १९९२ सम्म लुजनिकी रंगशाला लेनिन रंगशालाको रूपमा चर्चित थियो । यो सन् १९५६ मा लुजनिकी ओलम्पिक कम्प्लेक्सबाट खेल मैदानको रूपमा शुरूवाती औपचारिकता प्राप्त गर्यो । यो रूसको राष्ट्रिय रंगशाला समेत हो ।
सोभियत युनियनका बेला यो रंगशाला सीएसकेए मस्को, टोपिडो मस्को र स्पार्टक मस्को जस्ता क्लबको घरेलु मैदानका रुपमा चिनिएको थियो । हाल यी क्लबहरू अस्तित्वमा छैनन् ।
यौ मैदानमा धेरै अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना भएका छन् । ती मध्ये मुख्य रूपमा १९८० को गृष्म ओलम्पिकको उद्घाटन र समापान समारोह, २००८ को च्याम्पियन्स लिग फाइनल खेल भइसकेका छन् ।
सन् १९५७ को आइस हक्की वल्र्ड च्याम्पियन्स, १९७३ को समर युनिभर्सेड, १९८४ को फ्रेन्डशीप गेम्स, १९८६ को गुडविल गेम्स र १९९८ को वल्र्ड युथ गेम्सको आयोजना पनि यही खेल मैदानमा भएको थियो ।
त्यतिमात्रै होइन, सन् २०१३ मा द रग्बी वल्र्ड कप सेभेन्स र वल्र्ड एथलेटिक्स च्याम्पियन्स पनि यही मैदानमा खेलिएका थिए । खेलकुदका अन्तर्राष्ट्रियस्तरका आयोजनाका अतिरिक्त यो मैदानले धेरै कन्सर्ट र राजनीतिक सभाहरूको साक्षी बसेको छ । विशेषगरी सोभियत संघका राजनीतिक सभाहरू यहाँ भएका थिए ।
युइफाले यो रंगशालालाई क्याटेगोरी ४ को स्थान दिएको छ । यो रूसको सबैभन्दा ठूलो रंगशाला हो । यो रंगशालाको अधिकतम क्षमता ८१ हजार ६ छ । तर, यसलाई विश्वकपका लागि घटाएर ७८ हजार ११ सीटमा झारियो । रूसको मात्रै नभएर यो पूर्वी युरोपकै सबैभन्दा ठूलो रंगशाला हो । यो रंगशाला युरोपका आठ सर्वाधिक ठूला रंगशाला मध्येको एक हो ।
विश्वकपको तयारीका लागि यसको मर्मतसम्हार र रंगरोगन जस्ता काम गर्न सन् २०१३ देखि विश्वकप २०१८ सम्मका लागि बन्द गरिएको थियो । यो मैदानलाई कृत्रिम घाँसको रूपान्तरण प्राकृतिक घाँस भएको मैदानको रूपमा परिणत गरियो । यसको छानालाई नयाँ पोलिकार्बोनेटको प्रयोग गरी स्तरोन्नति गरिएको छ ।
सन् २०१७ भएको कन्फरेडेशन कपका खेल यो रंगशालामा भएनन् । यसो हुनुमा यसको मर्मतसम्हार कार्य जारी थियो । यसको मर्मत सम्हारको लागत ३४ करोड १० लाख युरो रह्यो । ११ नोभेम्बर सन् २०१७ मा आयोजना गरिएको रूस र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेलका लागि यो खेल खुला गरिएको थियो ।

फाइनल पुगेका टोली यस्ता ?

अनुभवी फ्रान्स
युवा खेलाडीको बाहुल्यता रहेको एकपटकको विश्वविजेता फ्रान्स यो संस्करणको फाइनलमा पुगेको छ । २०१६ को युरोकप आयोजक राष्ट्र फ्रान्सले फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको थिएन । पोर्चुगलले घरेलु मैदानमा जिल्लाउँदै यूरोकपको उपाधि जितेको थियो ।
विश्वकप २०१८ मा फ्रान्सले समूह चरणमा अस्ट्रेलिया, डेनमार्क र पेरूसँग भिडेको थियो । शुरूवाती खेलमा अस्ट्रेलियालाई २–१ ले कजानमा हरायो । दोस्रो म्याच पेरूलाई १–० ले हरायो, निर्णायक गोल गर्दै १९ वर्षीय किलियन एम्बाप्पे सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए । समूह चरणको तेस्रो खेलमा भने फ्रान्स डेनमार्कसँग बराबरीमा रोकिएको थियो ।
अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ गोलले हराउँदा उनै एमबाप्पेले २ गोल गरेर विश्वभर उनको चर्चा चुलियो । त्यही खेलपछि उनको तुलना महान खेलाडी पेलेसँग गरियो । उनले सन् १९५८ मा एकै खेलमा दुई गोल गर्ने कम उमेरका खेलाडीको रेकर्ड बनाएका पेलेसँग बराबरी गरे ।
क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० ले हरायो भने सेमिफाइनलमा बेल्जियमलाई १–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गर्यो ।

इतिहास बनाएको क्रोएसिया
लुका मोड्रिकको नेतृत्वमा मारियो मन्डुस्कीको मार्सेलो ब्रोजोभिक, मातेओ कोभासिक, लुका मोड्रिक, इभान पेरिसिक र इभान रकिटिकजस्ता स्वर्णीम पुस्ताको साथ क्रोएसिया फाइनलमा प्रवेश गरेको छ ।
यो टिममा सन् २०१६ को युरो कपको अन्तिम १६ मा पुगेको थियो । क्रोएसियाले समूह डी मा अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरियासँग भिडेको थियो । नाइजेरियालाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्यान्डलाई २–१ ले क्रोएसिया समुह विजेताकारुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।
अन्तिम १६ मा क्रोएसियाले डेनमार्कलाई र क्वार्टरफाइनलमा आयोजक राष्ट्र रुसलाई हराएर सेमिफाइनल यात्रा तय गर्यो । बलियो मानिएको इंग्ल्याण्डलाई सेमिफाइनलमा पन्छाउँदै क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्यो । मुलुक स्थापना भएको २७ वर्षमा पाँच विश्वकप खेल्दै क्रोएसियाले फाइनल यात्रा तय गर्न सफल बन्यो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: