शान्त प्रवृतिका मोड्रिक- बने विश्वकपका हिरो


बुधबार इंगल्याण्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ। यो टोलीलाई यहाँसम्म ल्याउनको लागि नेतृत्व दिने खेलाडी हुन्–लुका मोड्रिक । यी खेलाडी अहिले रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । आक्रमक मिडफिल्डरको रुपमा खेलिरहेका यी खेलाडी निकै शान्त प्रवृतिका छन् । 

क्रोएसियाका लागि यी खेलाडीको योगदान निकै महत्वपूर्ण रहेको छ । यिनले आफ्नो टोलीको लागि सही निर्णय र योजनाहरुको साथमा रुस विश्वकपको फाइनलमा पुर्‍याएका हुन् । बुधबारको खेलमा जित हासिल गरेसँगै मोड्रिकले फाइनलमा पुग्नु आफ्नो टोलीका लागि एक चमत्कार रहेको बताएका थिए । स्वतन्त्र भएको २७ वर्षमा नै टोलीले पहिलोपटक फाइनलसम्मको यात्रा तय गर्नु साँच्चै नै एक चमत्कार साबित भएको हो ।

मोड्रिक ६ वर्षको हुँदा उनका हजुरबुबाको विद्रोही समुहले हत्या गरेको थियो । उनका बाबु क्रोएसियाको आर्मीबाट युद्ध लडिरहेका थिए । मोड्रिकले पनि सात वर्षसम्म शरणार्थी जीवन बिताउनु परेको थियो । मोड्रिक शरणार्थी जीवन बिताइरहेको अवस्थामा आफूलाई राम्रो मानिस बनाउने चिन्ता आफ्नो परिवारमा रहेको पाउँथे । उक्त कठिन अवस्थामा पनि उनले आफ्नो फुटबल खेल्ने इच्छालाई दबाएनन् र फुटबल खेल्न थाले । सन् २००५ मा उनी क्रोएसियाको डाइनामो जाग्रेब क्लबमा १० वर्षको लागि अनुबन्धित भए । अनुबन्धित भएसँगै उनले त्यसबाट आएको पैसाबाट आफ्नो परिवारका लागि एक फ्ल्याट खरिद गरेका थिए ।

सन् २००८ मा इंगल्याण्डको चर्चित क्लब टोटनह्यामले उनलाई एक करोड ६५ लाख पाउण्डमा खरिद गरेको थियो । यो सम्झौता छ वर्षको लागि रहेको थियो । यद्यपि सन् २०१२ मा उनी रियल मड्रिडमा आबद्ध भएका थिए । यतिबेला भने उनलाई तीन करोड पाउण्डमा खरिद गरिएको थियो । त्यसयता उनी सोही क्लबमा आबद्ध छन् । उनले ला लिगामा सन् २०१६ मा सबैभन्दा उत्कृष्ट मिडफिल्डरको उपाधि पाएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलको सुरुवात भने उनले अर्जेन्टिनाको टोलीको विरुद्धमा गरेका थिए । सन् २००६ मा आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरेका उनले पहिलो गोल भने इटालीविरुद्धको खेलमा गरेका थिए । क्रोएसियाको मिडफिल्डमा उनको उपस्थितिले ठुलो हौसला मिल्ने टोलीका अन्य सदस्यहरु बताउँछन् । अहिले पनि मोड्रिकको क्षमताको अवमूल्यन भइरहेको केहीले बताउँदै आएका छन् । उनीहरुले अबको दिनमा भने यस किसिमको अवमूल्यनलाई सुधार गर्नुपर्ने अवसर रियल मड्रिडलाई रहेको बताएका छन् ।

क्रोएसियाको टोलीका लागि मोड्रिकको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको र यो टोलीलाई अघि बढाउनसक्ने क्षमता पनि उनीमा रहेको क्रोएसियाका पूर्व प्रशिक्षक स्लाभेन बिलिक बताउँछन् । उनका अनुसार मोड्रिक कहिल्यै पनि स्वार्थी खेल देखाउँदैनन् जसको कारण टोलीमा अर्को व्यक्तिलाई हिरो बनाउने भूमिका उनको रहँदै आएको छ । उनले प्रिमियर लिगमा रहँदा ३ सय खेलमा केवल २२ गोल गरेका थिए । यसले पनि उनको खेलको योगदान समग्र टोलीका लागि रहने गरेको पुष्टि भएको हो ।

तथ्यांकको हिसाबमा कमजोर बनेका भए पनि उनी निकै मूल्यवान् खेलाडी रहेको विश्लेषकहरु बताउँछन् । खेलमा गोलका साथै अवसरको पनि महत्वपूर्ण भूमिका हुने भएकोले मोड्रिकको भूमिका पनि निकै महत्वपूर्ण हुने उनीहरुको तर्क छ । मोड्रिक आफू युद्धको क्रममा शरणार्थी जीवन बिताइरहेको अवस्थामा जीवनमा केही महत्वपूर्ण उपलब्धि हासिल गर्ने सपना देख्थे । अहिले उनी आफ्नो निकै महत्वपूर्ण खुसीभन्दा केवल एक कदम टाढा छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: