विश्वकपको सेमिफाइनलमा बेल्जियम र फ्रान्सबीचको खेल सुरु


एजेन्सी । रसियामा जारी विश्वकपको पहिलो सेमिफाइनलमा बेल्जियम र फ्रान्सबीचको खेल सुरु भएको छ । रसियाको सेन्ट पिटर्सबर्गमा सुरु भएको खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेका छन् ।

दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको बेल्जियम फ्रान्सलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, फ्रान्सले भने १ पटक विश्वकप फुटबलको उपाधि उचालेको छ । सन् १९९८ मा फ्रान्सले आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै सन् १९९८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । त्यसयता फ्रान्सले विश्वकपको उपाधि उचाल्न सकेको छैन ।

बेल्जियम जारी विश्वकप फुटबलमा दमदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म आइपुगेको छ । बेल्जियमले सेमिफाइनलसम्मको यात्रा पार गर्दा ठूला राष्ट्रलाई पराजित गरेको छ ।
क्वाटरफाइनलमा बेल्जियमले बलियो टिम ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, जारी विश्वकपमा अपराजित रहेको बेल्जियमले प्रिक्वाटरफाइनलमा जापानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणमा भने बेल्जियमले आफ्नो खेलमा पानामालाई ३–० ले, दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

यता फ्रान्सले समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा पेरुमाथि १–० गोलको जित निकालेको फ्रान्सले समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेल्दै समूह सि को विजेता बनेको थियो ।

प्रिक्वाटरफाइनलमा फ्रान्सले अर्जे्न्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो पटक विश्वकप फुटबलको उपाधि दौडमा रहेको फ्रान्स बेल्जियमलाई पराजित गर्ने रणनीतिमा छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: