फ्रान्सलाई बेल्जियमको चुनौती


मस्को । यतिबेला सबैको ध्यान रसियामा जारी विश्वकप २०१८ का दुई सेमिफाइलन खेलमा केन्द्रित छ । मंगलबार हुने पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमको सामना गर्दै छ । बेल्जियम यसअघि कहिल्यै पनि विश्वकपको फाइनलमा प्रवेश गरेको छैन । यसअघि १९८६ मा बेल्जियम सेमिफाइनलमा पश्चिम जर्मनीसँग पराजित भएको थियो । १९८६ पछि पहिलोपटक सेमिफाइनल पुगेको बेल्जियम फ्रान्सलाई स्तब्ध बनाउँदै पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । १९९८ को विश्व विजेता फ्रान्स यसअघि पाँचपटक सेमिफाइलन पुगेको छ । २००६ मा फ्रान्स उपविजेता
भएको थियो ।

बेल्जियमका सहायक कोच थियरी हेनरी फ्रान्सले १९९८ मा विश्वकप जित्दाका महŒवपूर्ण खेलाडी थिए । उनी फ्रान्सका सर्वाधिक गोलस्कोर पनि हुन् ।
आश्चर्य त यो छ कि बेल्जियम र फ्रान्सबीच यसअघि भएको खेलको विश्लेषण गर्ने हो भने बेल्जियम अगाडि छ । फ्रान्स र बेल्जियमबीच भएको ७३ म्याचमध्ये बेल्जियमले ३० वटा जितेको छ । २४ वटामा पराजय भोगेको छ । यी दुई टिमबीच २०१५ मा पछिल्लोपटक भेट भएको थियो । जहाँ बेल्जियमले ४–३ को जितेको थियो ।
जारी विश्वकपको समूह चरणको खेलमा अपराजित रहँदै फ्रान्सले नकआउट चरणमा प्रवेश पाएको हो । समूह सीमा डेनमार्क, पेरु, अस्ट्रेलियालाई पराजित गरेको फ्रान्सले प्री–क्वार्टरफाइलनमा अर्जेटिनालाई ४–३ को रोमाञ्चक जित दर्ता गरेको थियो ।
डिडिएर डेस्च्याम्पको टिमले क्वार्टरफाइलनमा उरुग्वेको कसिलो डिफेन्सलाई चिर्दै २–० को जित निकालेको थियो । जहाँ राफेल वारने र गिजम्यानले गोल गरेका थिए ।

त्यसैगरी, बेल्जियम पनि समूह जीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको टिम हो । उसले पनि तीनवटै खेलमा जित दर्ता गरेको थियो । समूह चरणको खेलमा सबैभन्दा बढी स्कोर गर्ने टिम हो बेल्जियम । प्री–क्वार्टरफाइलनमा जापानविरुद्धको खेलमा ०–२ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै अन्तिम मिनेटका गोल गर्दै ३–२ को जित दर्ता गरेको बेल्जियम कुनै पनि अवस्थालाई परिवर्तन गर्न सक्ने टिमको छवि बनाउन सफल छ । त्यसैले उसले क्वार्टरफाइनलमा पाँचपटकको च्याम्पियन ब्राजिललाई कजानमा भएको खेलमा २–१ को जित निकाल्दै सेमिफाइलनमा फ्रान्ससँग भिड्ने निश्चित गरेको हो ।
यी दुई टिमबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । बेल्जियम नयाँ जेनेरेसनको उत्कृष्ट टिमका रूपमा उदाएको छ । त्यसैले, फ्रान्सलाई बेल्जियमको चुनौती महँगो पर्न सक्छ । फ्रान्स र बेल्जियमबीचको विजेताले आइतबार हुने फाइलनमा इंग्ल्यान्ड र क्रोएसियामध्ये एकको सामना गर्ने छ ।
पछिल्लोपटक १९८६ मा यी दुईबीच भएको भेटमा फ्रान्सले ४–२ ले जितेको थियो । त्यसैगरी १९८४ मा युरोपियन च्याम्पियनसिपमा पनि फ्रान्सले बेल्जियमलाई ५–० ले हराएको रेकर्ड छ ।

तर बेल्जियम पछिल्लो तीनवटा मैत्रीपूर्ण खेलमा फ्रान्ससँग हारेको छैन । २०१५ को जुनमा भएको पछिल्लो खेलमा ४–३ को जित निकालेको थियो । ७४औं खेलमा दुवैको लक्ष्य जित हुनेछ । यस जितले बेल्जियमलाई पहिलोपटक फाइनल प्रवेश गराउनेछ भने फ्रान्स दोस्रो उपाधिनजिक पुग्नेछ ।
फ्रान्सको यो छैटौं विश्वकप सेमिफाइलन हो । १९५८, १९८२ र १९८६ मा ऊ सेमिफाइलनबाट बाहिरिएको थियो । तर १९९८ र २००६ को सेमिफाइलनमा भने ऊ विजयी भएको थियो । फ्रान्सको भर पर्दा खेलाडी ग्रिजम्यानले विश्वकप र युरोकप गरी ६ वटा नकआउट खेलबाट ७ गोल गरेका छन् ।
१९८६ मा बेल्जियमले सेमिफाइलनमा डिएगो म्याराडोनाको २ गोलले अर्जेटिनासँग हार्नुपरेको थियो । १९७२ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइलनमा पनि ऊ पश्चिम जर्मनीसँग २–१ ले हारेको थियो । जसका कारण यसपटक ऊ जित निकाल्न चाहन्छ । बेल्जियम यतिबेला फर्ममा छ । पछिल्लो २४ खेलमा उसले हारेको छैन । १९ वटामा जित र पाँचवटा बराबरी खेलेको छ ।

बेल्जियमका कुनै पनि खेलाडी स्कोर गर्न माहिर छन् । जारी विश्वकपमा उसका लागि नौ जना फरकफरक खेलाडीले गोल गरेका छन् । विश्वकपका एउटै टिमका यति धेरै खेलाडीले गोल गर्ने टिमको सूचीमा ऊ तेस्रो स्थानमा छ । २००६ मा इटाली र १९८२ मा फ्रान्सका १० फरकफरक खेलाडीले विश्वकपमा गोल गर्न सफल भएका थिए । बेल्जियमले गरेको पछिल्ला २० गोलमा रोमेलु लुकाकुको योगदान छ । १७ गोल उनले गरेका छन् भने तीन गोल गर्न सहयोग गरेका छन् । उनी फर्ममा छन् । जुन उसको बलियो पक्ष हो ।

विश्वकप र विम्बल्डनको फाइनल एकै दिन
लन्डन/एजेन्सी– विश्वकप फुटबलको फाइनल र विम्बल्डन पुरुष एकलतर्फको फाइनल खेल एकैपटक हुने भएको छ । विम्बल्ल्डनको पुरुष एकलको फाइनल खेल स्थानीय समयअनुसार दिउँसो २ बजे हुनेछ भने विश्वकप फाइनल ब्रिटिस समयअनुसार ४ बजे हुनेछ । लगभग उस्तै समयमा हुने दुई खेलको फाइनलका कारण विम्बल्डनका आयोजकलाई म्याचको समय परिवर्तन गर्न दबाब सिर्जना भएको छ । इंग्ल्यान्ड फुटबल विश्वकपमा फाइनल प्रवेश गरेको खण्डमा एकै समय दुई खेलको म्याच राख्न नहुने दबाब आएको हो ।

अल इंग्ल्यान्ड क्लबका मुख्य कार्यकारी रिचर्ड लुइले भने, ‘हामीले समय परिवर्तन नगर्ने निर्णय गरेका छौं । प्रत्येक वर्ष यही समय खेल भइरहेको छ ।’

इंग्ल्यान्डले बुधबार विश्वकपको दोस्रो सेमिफाइनल खेलमा क्रोएसियाको सामना गर्दै छ । यदि इंग्ल्यान्ड आइतबार हुने फाइनल खेलमा प्रवेश ग¥यो भने त्यतिबेलासम्म विम्बल्डनको खेल सकिसक्ने छैन । रोजर फेडरर र राफेल नाडालबीच म्याच भएको खण्डमा त्यो लम्बिन सक्छ ।

क्रोएसियालाई झट्का
मस्को/एजेन्सी– क्रोएसियाले विश्वकप २०१८ मा इंग्ल्यान्डविरुद्ध सेमिफाइलन खेल खेल्दै छ । क्रोएसियाका सिमे वार्सल्कोले चोटका कारण ११ जुलाईमा हुने सेमिफाइनल म्याच गुमाउने भएका छन् । क्रोएसियाका लागि ३९ खेल खेलेका वार्सल्को रुसविरुद्ध भएको क्वार्टरफाइलनमा घाइते भएका थिए । जसका कारण उनले खेलको ९७ औं मिनेटमा मैदान छोड्नु परेको थियो । क्रोएसियाले रुसविरुद्धको सो खेल पेनाल्टी सुटआउटमा जितेको थियो ।

दि सनको रिपोर्टअनुसार एथ्लेटिको म्याड्रिडका वार्सल्कोले इंग्ल्यान्डविरुद्धको खेल खेल्न सक्नेछैनन् । जुन इंग्ल्यान्डका लागि खुसीको खबर हुन सक्छ । किनकि वार्सल्कोले अहिलेसम्मका सबै म्याच खेलेका छन् । क्रोएसियाका कोच जलाटको डालिचले उनको स्थानमा दोमागोजलाई अन्तिम ११ मा मौका दिन सक्नेछन् ।

निडर भएर खेल्छौं : मार्टिनेज
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले आज हुने फ्रान्ससँगको सेमिफाइनलमा निडर भई खेल्ने बताएका छन् । बेल्जियमले क्वार्टरफाइनलमा ब्राजिललाई २–१ ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर फ्रान्ससँग जित्न भने सहज नहुने र निडर भई खेल्नपर्ने बेल्जियमका प्रशिक्षक मार्टिनेजले बताएका छन् ।

‘हाम्रो टिमले कुनै पनि डर नराखी खेल्नुपर्ने हुन्छ,’ मार्टिनेजले ईएसपीएनसँगको अन्तरर्वार्तामा बताए । ‘यदि हामीले डर देखायौं भने हाम्रो क्षमताअनुसार प्रदर्शन गर्न सक्नेछैनौं,’ मार्टिनेजले थपे ।

फ्रान्सका किलियन एम्बाप्पेका लागि छुट्टै रणनीति पनि आफूले तयार पारेको उनले बताए । मार्टिनेजलाई प्रशिक्षण टोलीमा फ्रान्सका पूर्वफरवार्ड तथा विश्वकप विजेता थियरी हेनरीले साथ दिएका छन् । हेनरीकै अनुभवका कारण बेल्जियमले अग्रपंक्तिमा सुधारिएको प्रदर्शन गरेको बुझिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: