मानसिक तनाव र योग : एक विश्लेषण


– मनोज कुमार थापा. (हेल्थ केयर कन्सल्टेन्ट)

१. विषय प्रवेशः
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषा “शारीरिक मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु” भनेर परिभाषित गरेको छ । सामान्य मानसिक अस्वस्थता बेला मौकामा प्रायः सबैले भोगिरहने समस्या हो । खास खास मानसिक समस्या या लक्षणहरू लगातार रहि रहेमा मानसिक रोग भन्ने बुझिन्छ । मानसिक तनाव एक मानसिक समस्या अन्तर्गत पर्दछ । मानसिक तनाव संसारमा तीव्र गतीमा बढ्दो छ । रिसर्च अनुसार मानसिक तनाव विश्वमा २०३० सम्ममा पहिलो नम्बरमा आउने नसर्ने रोगको सूचिमा पर्दछ भनेर अनुमान गरिएको छ । मन असन्तुष्ट, हरेक काममा प्रतिस्पर्धा, असफलता, हिनता बोध पारिवारिक कलह, सामाजिक परिस्थिति आदि अवस्थाबाट प्रकट हुन्छन् । तनाव विभिन्न परिस्थिति वा सकारात्मक वा नकारात्मक घटनाहरूको मूल्यांकन पछि त्यसप्रति अभिव्यक्त “रेस्पोन्स” हो ।

जुनसुकै आइपर्ने परिस्थिति र घटनाहरूलाई काबुमा राख्न नसकने व्यक्तिलाई तनाव हुने गर्दछ । तनावबाट नै विभिन्न मानसिक एवं शारीरिक समस्याहरू आउने गर्दछ । मानसिक तनाव धेरै रोगहरूको प्रमुख कारण हो । उच्च रक्तचाप, हृदयघात, मधुमेह, क्यान्सर, माइग्रेन जस्ता रोग हुनुको पछाडी मानसिक तनावको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानसिक तनावबाट मुक्त हुन सकेको खण्डमा यसता रोगहरूलाई नियन्त्रणमा राख्न सजिलो पर्दछ ।

१.१ तनावका लक्षणहरूः
तनावका लक्षणहरूमा एकाग्रतामा ह«ास, स्मरण शक्तिमा कमि, तर्क क्षमतामा कमि, किचकिचे, आक्रामक स्वभाव, बढी शंकालु, लगायत सांवेगिक प्रतिक्रियाहरू जस्तैः डर, चिन्ता, एक्लोपना, हिनताबोध, आदि पर्दछन् । शारीरिक लक्षणहरूमा चाहि टाउको भारी एवं दुख्ने, शरीरमा आलस्यता, मांसपेशी एवं शरीर दुख्ने आलस्य एवं थकान, खानामा अरुचि, दुव्र्यसनमा रुचि आदि अनेक थरिका पर्दछन् ।

२. मानसिक तनावको व्यवस्थापनः
मानसिक तनावलाई व्यवस्थापन गरिने उपचारहरू मध्येमा योगलाई पनि प्रयोग गर्न सकिन्छ । योगद्वारा मानसिक तनावलाई सहिकिसिमले व्यवस्थापन गर्न सकिन्छ । अतः मानसिक तनावको व्यवस्थापन योगद्वारा यस प्रकारले गर्न सकिन्छ ।

२.१ तनावको लागि योगको यम, नियम र प्रत्याहारको अभ्यासः
यम र नियम सामाजिक एवं व्यक्तिगत अनुशासनहरू हुन् जसले मनलाई बलियो पार्दछ । तनावको नियनत्रणको लागि मनमा एकाग्रता, संयम र धैर्यता आउनु जरुरी हुन्छ । यसता कुराहरूका लागि योगका एक प्रत्याहार अंग ज्यादै उपयोगी भएको पाउन सकिन्छ ।

२.२ सूक्ष्म, शिथिल यौगिक क्रियाहरूः
हात–गोडा, टाउको, गर्दन, आँखा, कान आदिको सूक्ष्म व्यायामले तनाव कम गर्छ । यसका साथै पेट, कम्मर आदि अंगहरूमा पनि शिथिल तथा कम्पन्न क्रियाहरू मिसाई अभ्यास गर्ने हो भने एक किसिमको मनमा आनन्द अनुभव हुन्छ ।

२.३ सहयोगी विशेष आसनहरूः
शवासन, नौकासन, ताडासन, पद्मासन, मेरुदण्डासन, भुजंगासन्, सूर्य नमस्कार, उत्तान पादासन, आदि आसनहरूलाई अभ्यास गर्दै जान सकिन्छ ।

२.४ तनाव घटाउने केहि प्राणायामहरूः
नियमित प्राणायामको अभ्यासले मनका विकार भगाउँदछ र सकारात्मक सोच बढाउँछ । नाडीशोधन, चन्द्रभेदी, सूर्य भेदी, भ्रामरी प्राणायामलाई अभ्यास गर्न सकिन्छ ।

२.५ ध्यानः
ध्यानको माध्यमबाट मनको चन्चलतामा कमि आउँछ, मनको एकाग्रता क्षमता बढाउँछ, मन प्रफुल्ल पार्दछ, तनाव आदिलाई भगाउँदछ । यस्ता कुराहरू बारे अनेकौं अनुसन्धानहरू भएका छन् ।

२.६ यौगिक षटकर्मः
तनावको व्यवस्थापन गर्नमा षटकर्मको विशेष महत्व छ । किनकि यस्ता षटकर्मका विधिले शरीरको, मस्तिष्कको शोधन गरी शरीरलाई, मस्तिष्कलाई विकार मुक्त राख्दछ । धौति, वस्ति, नेति, नौली, त्राटक, कपाल भांतीलाई यौगिक षटकर्म भनिन्छ ।

३. मानसिक तनाव (समस्या) र योग सम्बन्धी अनुसंधानहरूः
तनाव लगायत मानसिक समस्या र योगलाई जोडेर विभिन्न शोधहरू भएका छन् । बेन्सन (१९६९, १९७४) को अध्ययन अनुसार योगाभ्यास गर्ने समूहको लागू पदार्थ सेवन गर्ने बानीमा ज्यादै सुधार भएको थियो । Stress and its management by Yoga नामक उदुपा (१९८५) को शोध अनुसार उनले १००७ जना मानिसहरूमा योगका विधिहरू प्रयोग गरी तनाबको उपचार गरेका थिए । योगले तनाव उत्पन्न गर्ने कारक हर्मोहरूलाई घटाउन सकिने कुरालाई प्रमाणित गरेका थिए । भावतित ध्यान, योग निन्द्रा (१९८६) को उचित अभ्यासद्वारा अल्फा वेभमा आएको परिवर्तनको बारेमा उल्लेख भएको छ । भूषण (१९९८) नामक एक विद्वानले गरेको शोध (Yogic Life Style and Psychological well-being) अनुसार कैदीहरूमा गरेको अध्ययनले के देखायो भने योगा अभ्यासले उनीहरुको बानी, व्यवहार, दृष्टिकोण र भविष्यको योजनामा सकारात्मकता आएको थियो । विकास (2002) नामक विद्वान्ले आफ्नो शोधबाट योगले आत्मविश्वास, जगाउने, स्मृति सृजना गर्ने जस्ता कुरा पाएका थिए ।

२००३ मा विवेकानन्द योग केन्द्र, मुंगेरका शोधकर्ताहरूले योग र जीवनशैलीका बारेमा अनुसन्धान गरेका थिए । यसबाट उनीहरूले चिन्ता, तनाव, डिप्रेसन, आक्रामक व्यवहार डर लाग्ने, आदि जस्ता कुराहरूमा सकारात्मक प्रभाव पार्न सक्ने क्षमता योगबाट पाएका थिए । २००७ मा अर्पिता नामक विद्वानले गरेको शोधहरू योगको शारीरिक तथा मनोवैज्ञानिक प्रभाव (Physiological and Psychological effect of Health Yoga) बाट योगले चिन्ता घटाउने, व्यक्तित्व विकास गर्ने, आत्मबल बढ्ने, शारीरिक क्षमता बढ्ने, आदि जस्ता, कुराहरू पत्ता लगाएको देखिन्छ ।

४. निस्कर्षः
मानसिक तनाव (Mental Stress) लाई शारीरिक एवं मानसिक रोगका जराको रुपमा लिन सकिन्छ । मानव जीवनमा आइपर्ने यस किसिमको तनावदेखि बेलैमा सचेत हुनु जरुरी छ । यसबाट विभिन्न रोगहरू लाग्न सक्दछ । तनावलाई औषधिाभन्दा पनि योग ध्यानबाट समाधान गर्ने कोशिश गर्नुपर्छ योग र मानसिक तनावलाई धेरैहदसम्म फाइदा गर्ने कुरा प्रष्ट्याएको छ । योगले स्वस्थ र अस्वस्थ व्यक्तिहरूमा शारीरिक एवं मानसिक थकान, भगाउने, अनिद्रा भगाउने, दुखाई कम गर्ने, खाना रुची जगाउने, एकाग्रता जगाउने, चिन्ता हर्मोनको लेभल घटाउने वास्तविक तथ्य यस शोधले सार्वजनिक गरेको छ । योग र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा थुप्रै अनुसन्धानहरू भएका छन् । चिन्ता र मानिसक तनावबाट स्थायी मुक्ति पाउनको लागि कुनै औषधि खाएर हुने कुरा होइन । औषधिले नराम्रो असर पनि गर्न सक्छ । स्वयंले नै शुरुमै योग अभ्यासद्वारा चिन्ता, भय, क्रोध, इर्ष्षा आदि मानसिक विकारहरूलाई हटाई प्रदुषित हुनबाट बचाउन सक्नु पर्छ । यसबाट के प्रमाणित हुन्छ भने योग मानसिक तनाव घटाउन मानसिक स्वास्थ्य बढाउन, मानसिक समस्या समाधान गर्न, सकारात्मक सोचको विकास गर्नमा ज्यादै उपयोगी बन्न सक्दछ । साथै एक महत्वपूर्ण सहयोगीको साधन बन्न सक्छ ।

५. सन्दर्भ सामग्री सूचिः

क) डा. विष्णु प्रसाद पण्डित – तत्काल डाक्टर नभएमा (२०५६)
ख) Dr. Swami Shanker Devananda. (2002 A.D), Yogic Management of Mental Health

ग) डा. अनुपम पोखरेल (२०५९), मानसिक रोग परिचय र उपचार
घ) Yoga Practices for Anxiety and Depression. (2012 A.D.), Dr. H.R.  Nagendra, Dr. R.

 

foot notes

[1]  Yogic Management of Common Diseases, Yoga Publication Trust (2006) P.67

[2] Yoga Pratices for Anxiety and Depression. Vivekananda Yoga Research Foundation (2012) P. 35

[3] रोगको अचूक उपचार, डा. क्षितिज बराकोटी (२०६०) पेज नं. १५४

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: