व्यावसायिक सफलताबारे काेइराला मार्टका अध्यक्ष रूद्र काेइराला, युवा उद्यमीले लिन सक्छन् लाभ


रुद्र प्रसाद कोइराला, अध्यक्ष, कोइराला मार्ट प्रा.लि.

पोखरा लेखनाथ महानगरपालिकामा वि.सं २०१८ मा जन्मनुभएका रुद्र प्रसाद कोइरालाले हाल सामाखुसी स्थित रेडन कलेज सँगै कोइराला मार्ट सञ्चालनमा ल्याउनुभएको छ । भानु ग्यासका सञ्चालक समेत रहनुभएका कोइराला आफुले उधारो कारोबार गर्नुनपर्ने व्यवसाय रोज्ने क्रममा कम मुनाफा नै रहेको मार्ट र ग्यास व्यवसायमा लगानी विस्तार गरेको  बताउनुहुन्छ ।

पारिवारिक परिस्थिति ः
सामाजिक, राजनीतिक र व्यापारिक यात्रामा एकैसाथ संलग्न रहनुभएका बुबा तुलसी प्रसाद कोइराला पोखरामा निकै प्रतिष्ठित हुनुहुन्थ्यो । परिवारको आर्थिक अवस्था पनि राम्रै थियो । तर रुद्र प्रसाद कोइराला सानो छँदा नै बुबाको देहावसान भयो । प्रतिष्ठित सामाजिक र शैक्षिक परिवारमा जन्मनुभएका रुद्र प्रसाद कोइराला परिवारमा ३ भाई हुनुहुन्छ । हाल सबै व्यावसायिक क्षेत्रमा नै संलग्न हुनुहुन्छ ।

कोइरालाको व्यावसायिक यात्रामा संलग्नताः

२०३४ मा सरकारी ठेक्कापट्टाको काम शुरु गर्नुभएका रुद्र प्रसाद कोइराला विभिन्न व्यावसायिक गतिविधिहरुमा संलग्न रहँदै अहिलेको अवस्थामा आउन सफल हुनुभएको हो । तत्कालिन अवस्थामा ठेकेदारलाई सरकारी कर्मचारीले हेर्ने दृष्टिकोण त्यति सकारात्मक नरहेको बुझेसँगै केही समयमा नै ऊहाँ व्यवसायलाई नयाँ मोड दिँदै फर्निचर क्षेत्रमा लगानी विस्तार गर्नुभयो । पछि हार्डवेयर, इलेक्ट्रोनिक, मेसिनरी, इम्पोर्टर, होलसेलर, रिटेलर लगायतमा समेत लगानी विस्तार गर्नुभयो । कोइराला त्यतिमा मात्र सन्तुष्ट हुनुभएन । समय परिस्थिति बमोजिम नयाँ सम्भावनाको रुपमा उदाउँदै गरेको ग्यास उद्योगमा समेत ऊहाँले लगानी विस्तार गर्नुभयो । १२ बर्ष देखि चितवनको कुरिनटारमा संचालनमा आएको ऊहाँको लगानीको भानु ग्यास उद्योग अहिले पनि सञ्चालनमा छ ।

व्यावसायिक अनुभव ः
नेपाली परिवेशमा बुबा र हजुरबुबा शिक्षा, संस्कार र व्यावसायिक हिसाबले प्रतिष्ठित नै रहेको कारण लगानीको निम्ति आवश्यक न्युनतम रकम जोहो गर्न रुद्र प्रसाद कोइरालालाई त्यति गाह्रो थिएन । पछि फर्निचर क्षेत्रमा संलग्न रहँदा करिब १ सय जना सम्मलाई रोजगारी दिन कोइराला सफल हुनुभएको थियो । तर पछि काठको धूलोले स्वास्थ्यको लागि केही समस्या आउन सक्ने देखेको कारण फर्निचर व्यवसाय बन्द गर्नुभयो ।

खुद्रा व्यवसाय बारे के भन्नुहुन्छ कोइराला ः
कुनै पनि व्यापारीले सामान बेच्नु भन्दा पनि सामान खरिद गर्नु निकै नै महत्वपुर्ण हुन्छ । सामान खरिद गर्न सिपालु व्यवसायीले मात्र राम्रो तवरले व्यवसाय विस्तार गर्न सक्छ । खरिद गर्ने क्रममा मुल्यमा सतर्कता नअपनाउने हो भने व्यवसायीले जति न्युन मुनाफामा व्यवसाय गरेपनि उसको सामान ग्राहकलाई महँगो नै पर्न जान्छ । यसैकारण स्रोतबाट नै सामान खरिद गर्नु उपयुक्त मानिन्छ ।

कोइराला व्यवसायमा आकर्षित हुनुको कारण ः
आफैंले व्यवसाय गर्ने हो भने आफूले सामाजिक उत्तरदायित्वको साथै बजारको माग र आवश्यकता बमोजिम उपयुक्त देखिएका योजनाहरुमा आफुमातहत कर्मचारीहरु परिचालन गरी ती कामहरु गर्न सकिने र स्वतन्त्रतापुर्वक आफुले एकैपटक धेरै क्षेत्रमा कामहरु गर्न सकिने मान्यता राखेर नै कोइराला व्यवसायमा आकर्षित हुनुभएको हो । आफैंले व्यवसाय गर्दा केही मानिसहरुलाई रोजगारी दिन सकेको साथै सामाजिक रुपमा प्रतिष्ठा समेत मिलेकोमा कोइराला सन्तुष्ट हुनुहुन्छ ।

नगद व्यवसायमा नै लगानी ः
ग्यास व्यवसायमा आफूले लगानी विस्तार गर्नुमा नगद व्यवसाय नै मुख्य कारण रहेको समेत ऊहाँले खुलासा गर्नुभएको छ । ‘तुलनात्मक रुपमा अन्य व्यवसायको तुलनामा ग्यास व्यवसायमा निकै कम मुनाफा छ । यद्यपि क्यास विजनेश नै भएको कारण मैले यसै क्षेत्रमा लगानी विस्तार गरेको हुँ’ कोइरालाले भन्नुभयो ।

उधारो व्यवसायको समस्याबाट अात्तिनुपरेकाे अनुभव ः
क्यास विजनेशको बारेमा सोच्दै जाने क्रममा ग्यास व्यवसायमा लगानी गर्ने सोच आएको बताउँदै यो व्यवसाय अत्यावश्यक वस्तु भएको र जुनसुकै अवस्थामा पनि आवश्यक पर्ने क्षेत्र भएको कारण आफूले यस क्षेत्रमा लगानी गरेको बताउँदै ग्यासमा अहिले मुनाफा निकै कम रहेपनि आगामी दिनमा भने यस व्यवसायको भविष्य निकै नै राम्रो रहने समेत कोइरालाको दृष्टिकोण छ । ग्यास व्यवसायमा सिष्टमबाट काम हुने बताउँदै नेपाली बजारमा अहिले २५ प्रतिशत मानिसको हाराहारीमा मात्र ग्यासको पहुँच रहेको तर आगामी दिनमा भने नेपालमा यो परिमाण बढ्नेमा आफू ढुक्क हुनुहुन्छ कोइराला । हाल ऊहाँको ग्यास उद्योग मार्फत करिब ४० जना व्यक्तिहरुले रोजगारी पाएका छन् ।

मार्ट व्यवसायमा अाकर्षण किन ः
मार्ट व्यवसाय समेत क्यास व्यवसाय हो । यसैकारण आफूले यो क्षेत्रमा पनि लगानी गरेको ऊहाँले बताउनुभयो । न्यून मुनाफा र उच्च प्रतिष्पर्धा बीच पनि बुढ्यौंली अवस्थाको लागि समेत यो व्यवसाय राम्रो हुने कोइराला बताउनुहुन्छ । हाल ऊहाँले संचालन गरेको कोइराला मार्ट प्रा.लि.मार्फत करिब २ दर्जन व्यक्तिहरुले रोजगारी पाएका छन् ।

मार्ट व्यवसाय बारे कोइरालाको दृष्टिकोण ः

बैंकको महँगो व्याज, कम मुनाफा र बढी खर्च बीच व्यवसाय शुरु गर्नुभएका कोइराला आफूले तत्काललाई नै सोचेर मार्टमा लगानी विस्तार नगरेको बरु ५ बर्ष पश्चात् भने आफ्नो व्यवसाय मुनाफामा जाने बताउनुहन्छ । आफू पनि बाँचौ र अरुलाई पनि बचाउँ भन्ने मान्यतामा रहेका कोइराला अबका दिनमा नेपालीहरु सुपरमार्केटमा आकर्षित हुँदै गएको समेत बताउनुभएको छ । आफैंले नै आफूलाई आवश्यक पर्ने वस्तु छानिछानि किन्न सक्ने, स्वस्थकर, उपभोग्य मिति भित्रैका ताजा र तुलनात्मक रुपमा केही सस्तोमा आफुलाई आवश्यक पर्ने सामानहरु एकै ठाऊँमा पाइने भएको साथै सामान अर्डर गरेपश्चात घरमा नै पु¥याइने लगायतका सुविधाहरु भएको कारण मानिसहरु यस किसिमको बजारमा आकर्षित भइरहेको कोइरालाको तर्क छ ।

कोइरालाको अनुभवमा पैसा के हाे ?
व्यवसाय गर्ने क्रममा आफू निश्चित नीतिका परिधिमा रहनुपर्नेमा समेत कोइरालाको जोड छ । पैसा सबैलाई अति नै आवश्यक हुँदाहुँदै पनि पैसा मात्रै सबै थोक होइन भन्ने मान्यता बमोजिम सामाजिक र व्यावसायिक रुपमा आफुलाई स्थापित गर्नुभएका कोइराला पैसालाई सही तवरले व्यवस्थापन गर्नसके थोरै पैसाबाट पनि ठूलै उपलब्धि हासिल गर्न सकिने अनुभव समेटनुभएको छ ।

व्यवस्थित कारोबारका कोइरालाको जोड ः
अहिले पनि नेपाली बजारमा अण्डर बिलिङ र ओभर बिलिङको समस्या छ । यस्तो अवस्थामा कोइराला राज्यले भन्सारबाट सामान भित्र्याउँदा वा सामान विक्री गर्ने क्रममा पूर्ण बिल सिष्टम नै लागु गर्नुपर्ने कुरामा ऊहाँ जोड दिनुहुन्छ । यसबाट मात्रै वास्तविक उपभोक्ता, व्यवसायी र राज्यलाई हित हुने ऊहाँको दृष्टिकोण छ ।

अबको बजार ः
अहिलेको समय प्रविधिको समय भएको र संसार साँघुरो भइसकेको अवस्थामा नेपालको बजार खुद्रा बजार पनि ठूला डिपार्टमेन्टल स्टोरहरुतिर आकर्षित भइरहेको छ । आगामी दिनमा यो क्रम अथै बढदै जाने र प्रविधिको प्रयोगमा नै केन्द्रित हुँदै जाने कोइरालाको दृष्टिकोण छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: