कलाकारिता क्षेत्र मार्फत पहिचानको खोजीमा अन्जु गौतम

  • गीतसंगीतकै लागि काठमाडौं सम्मको यात्रा

  • अन्जु गौतम गायिका

    नेपालमा करिब १० बर्ष देखि कलाकारिता क्षेत्रमा संलग्न रहेकी नवउदायक कलाकार हुन् अन्जु गौतम । उनले लामो समय नेपालको पूर्वी क्षेत्र अन्तरगत पर्ने इटहरीमा रहेर आफ्नो कलाकारिता रहरलाई निरन्तर अघी बढाइरहिन् । हाल सम्म आइपुग्दा ८ ओटा एल्बम मार्फत करिब डेढ सयको सङ्ख्यामा गीतहरु पस्किइसकेकी उनले यसै क्षेत्र मार्फत नै मुलुकको पहिचान स्थापनामा महत्वपूर्ण योगदान दिन सकिने विश्वासको साथ आफ्नो यात्रा अघी बढाइरहेकी छिन् । अहिले सम्म आइपुग्दा उनले यस क्षेत्रमा विभिन्न आरोहअवरोहहरुको सामना गर्नुपरेको छ । कतिपयबाट राम्रो साथ पाइकी छिन् भने कतिपयबाट धोका पनि ।

    अब प्रोफेसनल रुपमा नै गीतसंगीतलाई अघी बढाउने चाहना बोकेकी उनी आफ्नो यात्रालाई नयाँ ढङ्गले अघी बढाउने मान्यता बोकेर काठमाडौं छिरेकी हुन् । गुणस्तरीयतामा काम गर्नुपर्ने मान्यता बोकेर आफ्नो यात्रा अघी बढाइरहेकी उनले काठमाडौंको स्टुडियोबाट यस बर्षको तीजलाई लक्षित गरी ‘बर्ष दिनको तीजमा’ नामक गीत रेकर्डिङ गरिसकेकी छिन् ।
    गीतसंगीत क्षेत्रमा निरन्तर रुपमा अघी बढिरहने क्रममा उनले विभिन्न क्षेत्रहरुमा घुमफिरको समेत अवसर पाएकी छिन् । कति रमाइलो त कति नरमाइलो अनुभव बटुल्दै घरपरिवारलाई समेत व्यवस्थित गर्दै समाजका विभिन्न आरोपप्रत्यारोपहरुलाई समेत सहजै स्वीकार्दै अघी बढेकी उनले हाल सम्म लोकगीत, पुर्वेली, लोकआधुनिक, भजन तिहार गीतमा आफ्नो आवाज भरेकी छिन् ।

    परिवारको महत्वपूर्ण सहयोग :
    आफूले रोजेको बाटोमा अघी बढ्न आफूलाई बुबाआमाको महत्वपूर्ण सहयोग प्राप्त भएको उनी बताउँछिन् । बुबा शिक्षक भएको साथै सांस्कृतिक विभागमा समेत आवद्ध रहनुभएको कारण ऊहाँले छोरीको चाहना र क्षमतालाई बुझेर अघी बढ्न ठूलो सहयोग गर्नुभयो । शुरुशुरुमा त बुबाले नै गीत सिकाउने, गीत लेखिदिने, हरेक प्रतिष्पर्धाहरुमा लैजाने लगायतका सहयोगहरु समेत गर्नुहुन्थ्यो । त्यसले पनि आफूलाई क्षमता प्रस्फुटनमा सहयोग पुगेको गायिका गौतमले बताइन् । पछि विवाह पश्चात् श्रीमानले समेत गौतमलाई आफ्नो कलाकारिता यात्रामा अघी बढ्न निकै ठूलो सहयोग गर्नुभयो । गीतसंगीत क्षेत्रमा संलग्न रहने क्रममा श्रीमानले विदेशमा बसेर कमाएको ठूलो रकम खर्च भएपनि आफ्नो चाहनालाई कत्ति पनि संकुचित नगरी अघी बढ्दै जाने क्रममा अहिले सम्म आइपुग्दा अन्जु गौतम पूर्वी क्षेत्रमा परिचित भइसकेकी छिन् । हाल उनलाई स्थानीय विभिन्न कार्यक्रमहरुमा स्टेज शो निम्तो आउने र ती कार्यक्रमहरु मार्फत ठूलो सङ्ख्यामा उपस्थित दर्शक र श्रोताहरु मार्फत थप हौसला मिल्ने गर्छ ।

    शोखबाट शुरु भएको संगीत यात्रा :
    गौतम गीतसंगीत यात्राको शुरुवात विद्यालय तहमा अध्ययन गर्ने समय देखि नै भएको हो । उनले विद्यालय तहमा अध्ययनरत रहँदा विभिन्न प्रतिष्पर्धाहरुमा सहभागि हुने गर्दथिन् र ती प्रतिष्पर्धाहरुबाट राम्रो कीर्तिमान समेत कायम गर्दै गइन् । गौतममा गीतसंगीत मोह जन्मजात नै पैदा भएको थियो । विद्यालय तहको शिक्षासँगै तिखारिँदै गएको आफ्नो मोहमा थप सहयोग विभिन्न प्रतिष्पर्धा आयोजकहरुले पनि गरे । कतिले उत्कृष्ट छनौट भएकाहरुलाई एल्बम निकालेर सहयोग गर्ने आश्वासन दिएका भएपनि सर्त बमोजिम गीत निकाल्न सहयोग भने गरेनन् । यसो हुनुमा गौतमले कुनै संगीत पाठशालाबाट गीतसंगीत नसिक्नु अथवा यसको प्राविधिक ज्ञान नहुनुलाई पनि दोष देखाइयो । जे भएपनि उनले आफ्नो तर्फबाट गीतसंगीत यात्रालाई विभिन्न अवरोधहरुको वावजुद अघी बढाउने क्रममा उनी अहिलेको अवस्थामा आउन सफल भएकी छिन् ।  आफू संलग्न क्षेत्रमा राम्रो हुँदै गएसँगै आफूलाई यस क्षेत्रमा अघी बढ्नको निम्ति झन् महत्वका साथ यस क्षेत्रमा नै अघी बढ्ने चाहना बढ्नु स्वभाविक नै थियो । त्यसैकारण गीतसंगीत क्षेत्रलाई नै आफ्नो जीवनको अभिन्न पाटो बनाउने चाहना अझ मजबुत बनाउँदै अहिले सम्म आइपुग्दा उनको यो चाहना शिखरमा नै पुगेको छ ।

    राज्यको दायित्व :
    गीतसंगीत क्षेत्र राष्ट्रको पहिचानसँग समेत जोडिएको क्षेत्र हो । यसैकारण यस क्षेत्रलाई थप उचाईमा पु¥याउनको निम्ति गौतम जस्ता नवप्रतिभाहरुलाई हौसला र सम्मान प्रकट गर्ने कार्यमा राज्य मातहतका निकायहरु समेत लाग्नु जरुरी छ । राज्यको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुन सकेको खण्डमा यस क्षेत्रले निकै नै महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्छ । अहिले नेपालमा गीतसंगीत क्षेत्र मार्फत जीवन धान्न सक्ने अवस्था नभएको कारण थुप्रै व्यक्तिहरु पलायन समेत भइसकेका छन् । क्षमतावान् व्यक्ति माथि उठ्ने वातावरण बन्न सकेमात्र मुलुकले राम्रो प्रगति गर्न सक्ने कुरालाई विचार गर्दै आगामी दिनमा राज्य पक्षले पनि आफ्नो दायित्ववोध गर्नु जरुरी देखिन्छ ।
    यसको साथै राज्यले कलाकारिता क्षेत्रमा संलग्न सबै पक्ष मध्येबाट सबैको सही मूल्यांकन गरी उत्कृष्टलाई सम्मान र पुरष्कारको व्यवस्था गर्नु जरुरी छ । कतिपय गीतहरुमा रचनाकार, संगीतकार लगायत ओझेलमा पर्ने तर गायकगायिका मात्र चर्चामा आउने गरेको प्रति समेत सङ्केत गर्दै गायिका गौतम सबै पक्षको उचित सम्मान हुनुपर्ने कुरामा जोड दिन्छिन् ।

    सहयोगको अपिल :
    गीतसंगीत क्षेत्रमा संलग्न रहेर अघी बढ्ने क्रममा शुरुवातका दिनहरुमा गीत निकाल्न आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्थापन आफैंले नै गरेकी गौतम सधैं त्यो सम्भव नभएको कारण पछिल्लो समय उनले गीतसंगीतलाई माया गर्ने व्यक्ति वा संस्थाहरुबाट सहयोग जुटाउँदै आफूलाई यस यात्रामा अघी बढाइकी छिन् ।

    गीतसंगीत क्षेत्रका चुनौती :
    पछिल्लो समय नेपालमा गीतसंगीत क्षेत्रमा राम्रो स्वर, ज्ञान र अनुभव नभएका व्यक्तिहरुले पनि आफूसँग प्रयाप्त रकम भएको कारण बजारमा निकै छोटो अवधिमा पनि राम्रो चर्चा कमाइरहेको अवस्था छ । यसले कतिपय क्षमतावान् व्यक्तिहरुलाई अगाडि आउनमा बाधा पुग्ने गौतमले अनुभव छ । माथिल्लो तहका व्यक्तिहरुसँगको राम्रो सम्पर्क र सञ्चार माध्यमहरुसँगको निकटताको कारण कुनै गीत मार्फत माथि आउने व्यक्तिको पर्दा पछाडिको वास्तविकता भने केही फरक हुन सक्ने र यसले क्षमतावान्लाई अघी बढ्न बाधा सृजना हुने गौतमको धारणा छ ।

    गीतलाई संस्कार सँग जोड्नुपर्ने मान्यतामा गौतम :
    गौतम आफूले बजारमा ल्याएका हरेक गीत नेपाली संस्कारलाई जोड्ने किसिमका रहेको बताउँछिन् । पछिल्लो समय रेकर्ड गरिएको तीज गीतमा पनि परम्परागत रुपमा चल्दै आएको तीज पर्व मान्ने क्रममा यसलाई भड्किलो बनाउनु हुँदैन भन्ने सन्देश प्रस्तुत गरिएको बताउँछिन् । यद्यपि अहिलेको पुस्ताका युवाहरु सन्देश भन्दा पनि तडकभडकमा बढी चासो राख्ने भएको बताउँदै अबका दिनमा सन्देशमूलक गीतसंगीत प्रति चासो राख्न आग्रह गर्छिन् ।

    दर्शक र श्रोताहरु प्रति भन्नुपर्ने कुुरा :
    अब युवाहरुको चाहना बमोजिमका सन्देशमूलक गुणस्तरीय गीत तर्फ आफू आकर्षित भएको बताउँदै गीतसंगीत मार्फत आफ्ना योजनाहरुलाई सार्थक बनाउनमा सबैभन्दा महत्वपूर्ण भूमीका दर्शक र श्रोताहरुकै भएको कारण आफ्ना राम्रा र नराम्रा दुवै पक्षलाई औंल्याइदिएर अघी बढ्न हौसला दिनुपर्ने उनको धारणा छ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: