गुणस्तरीय पर्यटन प्रवर्द्धनको योजनामा युनिग्लोबल ट्राभल


सङ्कर न्याैपाने, अध्यक्ष, युनिग्लाेबल ट्राभल एण्ड एक्सपिडिसन

नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । यसैकारण पर्यटन क्षेत्रमा लगानी समेत पछिल्लो समय निकै नै बढिरहेको छ । पर्यटन क्षेत्र आफैंमा निकै फराकिलो क्षेत्र समेत हो । यसैकारण अहिले पर्यटन क्षेत्रमा लगानी आकर्षित हुँदै गएको बुझ्न सकिन्छ । पछिल्लो समय केही महिना पहिले देखि मात्रै पर्यटन क्षेत्रमा रहेर सेवाग्राहीहरुलाई राम्रो सेवा प्रदान गर्दै व्यावसायिक तवरले समेत अघी बढ्नुपर्छ भन्ने मान्यताको साथ काठमाडौंबाट युनिग्लोबल ट्राभल एण्ड एक्सपिडिसन प्रा.लि सञ्चालनमा आएको छ । सुविधासम्पन्न बसहरु सञ्चालनमा ल्याई गुणस्तरीय पर्यटन प्रवद्र्धनमा जोड दिने उद्धेश्यले सञ्चालनमा आएको यस कम्पनीले नेपालका धार्मिक स्थलहरु, पुरातात्मिक क्षेत्रहरु, ऐतिहासिक तथा पर्यटकीय महत्वका अन्य क्षेत्रहरुमा प्याकेज वेस्डमा सेवाहरु प्रदान गर्ने उद्धेश्य लिएको छ । साथै स्वदेशी तथा विदेशको निम्ति टिकटिङ तथा होटल बुकिङ लगायतका कामहरु समेत यस कम्पनीले गर्नेछ । यस कम्पनीले टिकट काट्ने वा होटल बुकिङ गर्ने मात्र नभई जुन क्षेत्र जुन कार्यको निम्ति प्रसिद्ध छ, सोही क्षेत्रलाई सोही बमोजिम चिनाउन तथा त्यस मार्फत स्थानीयहरुलाई समेत लाभान्वित बनाउने भन्ने किसिमले समेत आफ्ना कार्यक्रमहरु अघी बढाउनेछ ।
नेपालमा गुणस्तरीय पर्यटनको विकासमा सहयोग पुग्ने मान्यताको साथ सञ्चालनमा आएको यस कम्पनीले आगामी दिनमा सुविधा सम्पन्न बसहरु सञ्चालनमा ल्याई पोखरा, चितवन र लुम्बिनी लगायतका क्षेत्रहरुमा बस सञ्चालन गर्ने योजना बनाएको छ । सञ्चालनमा आउने सबै बसहरुमा बससेविका समेत रहने गरी सेवा उपलब्ध गराउने र कम्पनी अन्तरगत सञ्चालनमा आउने बसहरुमा पर्यटकहरुलाई आवश्यक पर्ने अन्य थप सेवाहरु समेत उपलब्ध गराउने कम्पनीको योजना छ । बस भित्र नै खाजा तथा पेयपदार्र्थहरु उपलब्ध गराउने साथै आवश्यकता बमोजिमका अन्य सुविधाहरु समेत उपलब्ध गराउने योजनामा आफूहरु रहेको युनि ग्लोबल ट्राभल एण्ड एक्सपिडिसन प्रा.लि.का अध्यक्ष सङ्कर न्यौपानेले बताउनुभयो ।

कम्पनीले उपलब्ध गराउने सेवाहरु ः
कम्पनीले नेपालको आन्तरिक पर्यटनमा विशेष जोड दिने योजना बनाएको छ । यसैबमोजिम चितवन, पोखरा, हुम्ला, मुक्तिनाथ, पाथिभरा, हलेसी महादेव, राराताल, लुम्बिनी लगायतका नेपालका चर्चित क्षेत्रहरुमा धार्मिक, सांस्कृतिक तथा एड्भेन्चर लगायत विभिन्न प्रकृतिका पर्यटनको प्रवद्र्धनमा विशेष सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
नेपालमा आउने पर्यटकहरुलाई राम्रो सुविधा दिनुपर्छ भन्ने मान्यताले सञ्चालनमा आएको यस कम्पनीले एकपछि अर्को गर्दै विभिन्न योजनाहरु अघी सार्नेछ । पर्यटन प्रवद्र्धनको निम्ति विभिन्न ठाऊँहरुमा होमस्टे तथा रिसोर्टहरु समेत सञ्चालन गर्ने र नेपालमा ठूलो परिणाममा पर्यटकहरु भित्र्याउने तथा नेपालको आन्तरिक रोजगारी सृजनामा समेत विशेष योगदान दिने योजनामा कम्पनी छ ।

‘पर्यटन क्षेत्रमा किन संलग्न हुनुभयो ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा युनिग्लोबल ट्राभल एण्ड एक्सपिडिसन प्रा.लि.का अध्यक्ष सङ्कर न्यौपाने आफूहरुले विगत लामो समय देखि ट्राभल क्षेत्रसँग सम्बन्धित रहेर काम गरेको अनुभव समेत बटुलेको कारण आफू यस क्षेत्रमा आकर्षित भएको बताउनुभयो । साथै पछिल्लो समय नेपालमा राज्य पक्षले समेत पर्यटन क्षेत्रलाई आफ्नो प्राथमिकताको क्षेत्रको रुपमा विकास गर्दै लगेको र यसबाट आफूहरुलाई आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा राज्य पक्षसँग समेत सहकार्य गर्दै अघी बढ्न थप सहज हुने अध्यक्ष न्यौपानेको धारणा छ । समृद्ध नेपाल निर्माणको निम्ति पर्यटन क्षेत्रले राम्रो सम्भावना बोकेको क्षत्र र यस क्षेत्र मार्फत काम गर्नको निम्ति अब राम्रो वातावरण समेत बन्दै गएको कारण यस क्षेत्रलाई आफूहरुले प्राथमिकताको साथ अघी बढाएको समेत न्यौपाने बताउनुहुन्छ ।

लगानी विविधिकरणको क्रममा नयाँ क्षेत्र बन्दै पर्यटन ः
विगत लामो समय देखि पाल्पामा वृन्दावन एकेडेमी सञ्चालन गरी शिक्षा क्षेत्रमा संलग्न रहँदै आउनुभएका न्यौपानेले लगानी विविधिकरणको क्रममा नयाँ क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुभएको हो । मुलुकको विकासको निम्ति पर्यटन र जलस्रोत मुख्य सम्भावनाका क्षेत्रको रुपमा रहेको बताउँदै जलस्रोतमा लगानी गर्न ठूलो रकम आवश्यक रहने र एक÷दुई व्यक्तिको लगानीबाट त्यो सम्भव नहुने भएको कारण आफ्नो क्षमता बमोजिमकै लगानीबाट काम अघी बढाउन सकिने पर्यटन क्षेत्रमा लगानी विस्तार गरेको बताउनुहुन्छ । ट्राभल क्षेत्रमा लगानी विस्तार गर्ने क्रममा तत्काल काठमाडौं, पोखरा र चितवनमा बस सञ्चालन गर्ने र आवश्यकता अनुसार सेवा विस्तार गर्दै योजनामा आफूहरु रहेको न्यौपानेले बताउनुभयो । हाल ६ ओटा ठूला बसहरु सञ्चालनमा ल्याउने योजनामा रहेको आफ्ना कार्यक्रमहरु अघी बढाउने योजनामा छ युनिग्लोबल ट्राभल एण्ड एक्सपिडिसन ।

कहाँबाट पाउन सकिन्छ ट्राभल सेवा ः
हाल काठमाडौैंको नयाँ बानेश्वरमा कार्यालय रहेको र पानीपोखरीमा सिटी अफिस सञ्चालनमा ल्याएको यस कम्पनीले प्याकेज वेस्ड भई हाल सोही बमोजिम सेवाहरु सञ्चालन गर्दै आएको छ । आगामी दिनमा निश्चित रुटमा समेत आफ्ना गाडीहरु सञ्चालन गर्ने योजनामा रहेको यस कम्पनीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट टिकट काउन्टर सञ्चालन गरी २४ घण्टा नै सेवा दिने योजना बनाएको छ ।

आगामी योजना ः
विगतमा अन्य क्षेत्रहरुमा लगानी गर्दै आएको एचएस लिंक कम्पनी अन्तरगत पर्यटन सेवा विस्तारको उद्धेश्यले नयाँ क्षेत्रको रुपमा सञ्चालनमा आएको युनिग्लोबल ट्राभलले आगामी दिनमा आफ्नो टीममा अन्य लगानीकर्ताहरु समेत थप्ने र ठूलो व्यावसायिक समूहको रुपमा थप सेवाहरु समेत विस्तार गर्दै जाने योजना बनाएको छ ।
खासगरी अधिकांश विदेशी पर्यटकहरुलाई नै लक्षित गरी सेवा सञ्चालन गर्न लागेको यस कम्पनीले सुविधा सहितको यात्रालाई विशेष लक्षित गरेर कार्यक्रमहरु अघी बढाइरहेको छ ।

को हुनुहुन्छ सङ्कर न्यौपाने ?
विगत लामो समय देखि शिक्षा, स्वदेशी तथा विदेशी विभिन्न उत्पादनहरुको वितरक हुँदै मदिराको समेत कारोबार गरिरहनुभएका न्यौपानेले पछिल्लो समय औषधी उद्योगमा समेत लगानी विस्तार गर्नुभएको छ । व्यवसायमा प्रवेश गर्नु पहिले लामो समय नेपालका विभिन्न प्रतिष्ठित कम्पनीहरुमा उच्च पदस्थ कर्मचारीको रुपमा नै कार्यअनुभव समेट्नुभएको छ ।
लामो समय औषधी क्षेत्रमा समेत काम गरी अनुभव बटुलेकै कारण अहिले आफूले औषधी क्षेत्रमा लगानी विस्तार गर्नुभएको हो । उनै न्यौपाने हाल भने ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्न सकिने र यसबाट मुलुकको आर्थिक अवस्था माथि उठाउन समेत निकै महत्वपूर्ण हुने मान्यता बमोजिम अघी बढिरहनुभएको छ । एकैपटक वितरक, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्नुभएका न्यौपाने आफूहरु व्यवसायमा नयाँ भएको तर ठूलो लक्ष्यको साथ अघी बढिरहेको बताउँदै आगामी दिनमा पनि सोही बमोजिम परिस्थितिले साथ दिए अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्न तयार हुने बताउनुहुन्छ ।

उद्योग-व्यवसाय सञ्चालनको सोच ः
विगतमा आफू लामो समय विभिन्न कम्पनीहरुमा उच्च पदमा नै रहेर काम गर्ने क्रममा आफु कुनै कम्पनीमा सेवारत रहँदा त्यसबाट आफू मात्र बाँच्न सकिने तर समाज र राष्ट्रको लागि ठूलो योगदान दिन नसकिने साथै आफूमा रहेको क्षमतालाई समेत सही तवरले प्रयोगमा ल्याउन नसकिने बुझेको कारण सोही समय देखि नै उत्पादनमूलक क्षेत्रमा संलग्न हुनुपर्ने मान्यता ऊहाँमा विकास भएको थियो । आफू शुरुमा जागिरबाट नै सेवा क्षेत्रमा प्रवेश गरेपनि जागिर आफ्नो रोजाईको क्षेत्र नभएको कारण ढिलोछिटो जागिरबाट बाहिरिएर अन्य क्षेत्रमा नै संलग्न हुने निधो जागिरेकालमा नै गर्नुभएको थियो ।

नेपालमा व्यवसाय सञ्चालनका समस्याहरु ः
नेपालमा कुनै काम शुरु गर्ने क्रममा आफ्नो स्थायी सम्पत्ति नै धितो राखेर मात्र बैंकबाट कर्जा लिन पाउने अवस्था छ । यसबाट नेपालमा नै रहेर केही गर्न उद्यमशिल मानसिकताका मानिसहरुलाई आफ्नो योजनामा अघी बढ्न असहज अवस्था छ । मुलुकमा लगानी सुरक्षित हुने वातावरण समेत छैन । राज्यले मुलुकमा नै रहेर काम गर्न चाहने व्यक्तिहरुको निम्ति विशेष सहज वातावरण बनाइदिनुपर्छ । राज्यलाई जसले राम्रो आउटपुट दिइरहेको छ, त्यस क्षेत्रलाई सम्मान गर्दै आत्मबल बढाउने किसिमले कामहरु हुनु जरुरी छ । अहिले पनि नेपालमा निजी क्षेत्रले राज्यले प्रदान गर्न नसकेका सेवाहरु प्रदान गरेर निकै महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको छ ।

राज्य पक्षको दायित्व ः
नेपालमा राज्य पक्ष पनि व्यवसायमैत्री हुनु जरुरी छ । यद्यपि राज्य पक्षबाट व्यावसाय प्रवद्र्धनको लागि गर्नुपर्ने ठूलो दायित्व त खासै देखिँदैन । तर राज्य पक्षले कर तथा राजस्व तिरेर राज्य संयन्त्र सञ्चालन तथा रोजगारी सृजनामा महत्वपूर्ण भूमीका निर्वाह गर्ने व्यवसायीहरुलाई सम्मान गर्न सक्नुपर्छ । विकसित देशहरुमा जस्तै नेपालमा पनि विजनेश इन्स्योरेन्स सिष्टम आवश्यक देखिएको छ । यसबाट व्यवसायीलाई थप हौसला प्राप्त हुने अवस्था आउनेछ । साथै कम्पनीबाट उत्पादित वस्तुमा राज्यले भ्याट लिँदा हरेक वस्तुमा एमआरपी तोकेर सोही बमोजिम भ्याट लिने सिष्टम बनाउनु जरुरी छ । यसो हुन सकेको खण्डमा मात्र नेपालमा सम्बन्धित उत्पादनबाट राज्यलाई प्राप्त हुनुपर्ने पूर्ण रकम संकलनमा सहजता हुनेछ । साथै वाहिरबाट आयात हुने वस्तुहरुलाई पनि भन्सारबाट भित्रिने क्रममा नै ती वस्तुहरु मार्फत एमआरपी तोकेर सोहीबमोजिम रकम सङ्कलन गर्नुपर्छ । साना व्यवसायीहरुलाई झन्झट वा दुख दिने काम राज्यले गर्नुहुँदैन । साथै राज्यले व्यवसाय दर्ता देखि बैंकिङ तथा फाइनान्सियल कुराहरुमा समेत सहयोग पुग्ने किसिमले नीतिगत व्यवस्था गरिदिनुपर्छ । व्यवसायको उद्धेश्य नाफा कमाउने नै भएपनि विभिन्न कारणले व्यवसायको अवस्था सधैं एकै किसिमको नरहन सक्छ । यसैकारण व्यवसाय डुब्न सक्ने अवस्थामा व्यवसायीलाई राज्यको साथ अनिवार्य रहन्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: