नारायणगढ–मुग्लिन सडकको यात्रा जोखिमपूर्ण


भरतपुर । विज्ञहरूले आँल्याएको भन्दा पनि नयाँ नयाँ ठाउँबाट पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकको यात्रा थप जोखिम बनेको छ । बाटो विस्तारका क्रममा काटिएका पहाड अहिले विस्तारै पहिरो बनेर खस्न थालेपछि सडकको यात्रा नै जोखिमसँगै अनिश्चित बनेको छ । “कुन दिन कहाँ नयाँ ठाउँमा पहिरो खस्ने हो पत्तो छैन”, काठमाडौँबाट नारायणगढ आउँदै गर्नुभएका भरतपुरका राजु थापाले भन्नुभयो, “ पहिरोका कारण घण्टौ राजमार्गमै अलपत्र हुनुपर्ने अवस्था त छँदै छ वाटो खुलिहाले पनि डराई डराई जोखिममा यात्रा गर्नुपर्ने वाध्यता छ ।”

मङगलबार टेप्पो खोलामा आएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक ११ घण्टा रोकिएको थियो । सडक अवरूद्ध भएपछि यात्रु दिनभर भोकै बस्न बाध्य भए । दाङबाट काठमाडौँ हिँडेका मनोज वैश्यले चाउचाउका भरमा दिन बिताएको गुनासो गर्नुभयो ।

बस्ती नभएको ठाउँमा जाममा परेका कतिपय यात्रु भने पानीको भरमा मात्रै दिन कटाएर बस्न बाध्य भए । सडक निर्माण भएसँगै सहज यात्राको कल्पना गरिएका यात्रु पनि पहिरोको जोखिमले मनमा डर र त्रास बोकेर यात्रा गर्न बाध्य भइरहेका छन् ।
“सडक निर्माणकै क्रममा पहिरो सम्भावित क्षेत्रमा सजगता अपनाउनुपर्नेमा त्यसो नगरिएकोले कतिखेर कहाँ पहिरो खस्छ भन्ने नै थाहा हुँदैन”, यात्रु वैश्यले भन्नुभयो ।

यस्तै वुधबार पनि चार किलोमा पहिरो झर्दा नारायणगढ —मुग्लिन सडक आधा दिन नै नै अवरुद्ध रह्यो । बिहान साढे ६ बजे खसेको पहिरो दिउँसो १२ बजे पन्छाइएपछि सडक खुला भएको थियो । सडक खुला नै भए पनि दिनभरी जसो नै यात्रा भने सहज हुन सकेन । बाटो खुलेपछिको ट्राफिक जामको समस्या यात्रुले झेल्नु प¥यो ।

“भूगर्भ विज्ञहरूले पहिरो खस्दैन भनेकै ठाउँबाट अहिले पहिरो खसेर समस्या वनेको छ”, नारायणगढ —मुग्लिन सडक आयोजनाका प्रमुख गोविन्द खनाल भन्नुहुन्छ, “नारायणगढ— मुग्लिन सडकमा ३१ वटा ठाउँमा पहिरोको जोखिम आँैल्याइएका क्षेत्रमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तर पहिरो नयाँ नयाँ ठाउँवाट झर्दा समस्या भएको हो ।”

नयाँ नयाँ ठाउँबाट पहिरो झर्न थालेपछि यो वर्षादको समयमा यात्रुले अझैे दुःख पाउने सम्भावना बढी भएको पनि उहाँले औँल्याउनुभयो ।

“वर्षाद्भरि नै पहिरो पन्छाउने बाटो चलाउनेको विकल्प रहेन”, उहाँले भन्नुभयो, “बाटोमा झर्ने पहिरो पन्छाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखेका छौँ ।”

नारायणगढ —मुग्लिन सडकमा अहिले टोपे खोला, चार किलो, जलविरे, भालुढुङ्गेलगायतका ठाउँमा पहिरो झरी रहेको छ । जुन ठाउँलाई विज्ञहरूले यस अघि पहिरो झर्ने जोखिम क्षेत्रका रुपमा औँल्याएका थिएनन् । टोपेखोलामा त एक हप्ता अघि फुस्रो पहिरो खसेर ट्रक पुर्दा चालकको मृत्यु भएको थियो ।

पुनःनिर्माणको क्रममा पहाड काटिएको नारायणगढ —मुग्लिन सडक खण्डमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टर कन्टिनेन्टल कन्सल्टेन्ड एन्ड टेक्नोक्रेट (आईसीटी)ले अध्ययन गरी प्राविधिक सुझाव दिएको थियो ।

आईसीटीका आवासीय इन्जिनियर पुष्कर रेग्मी आफ्ना विज्ञहरूले प्राविधिक सुझाव दिएका ठाउँमा अहिले पहिरो नियन्त्रण भएको र नयाँ पहिरो खसेका स्थानमा अध्ययन नै नभएको दावी गर्नुहुन्छ ।
“हामीले भूगर्भ विज्ञ नै लगाएर सम्भावित जोखिम क्षेत्रहरुको अध्ययन गरेका हौँ । हामीले अध्ययन गरेर काम गरिरहेका ठाउँमा पहिरो नियन्त्रण पनि भइरहेको छ”, उहाँले भन्नुभयो, “नयाँ पहिरो झरी रहेका ठाउँमा पनि अव विज्ञ बोलाएर अध्ययन गर्न सकिन्छ ।”

आईसीटीको विज्ञ टोलीले नै सडकको ३१ स्थानको पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि आयोजनालाई सुझाव दिएको हो । सोही प्राविधिक सुझावका आधारमा पहिरो नियन्त्रणका लागि काम पनि भइरहेको छ ।

“पहिरो नियन्त्रणका लागि भनेर हामीले १४ करोड रुपियाँ खर्च गरि रहेका छौँ । यसले पहिला वढी जोखिम क्षेत्रहरुको पहिरो नियन्त्रणको काम सुरु गरेका छौ ”, प्रमुख खनालले भन्नुभयो ।

नारायणगढ —मुग्लिन सडकमा मुग्लिनदेखि सेती दोभानसम्म पहिरोको जोखिम वढी रहेको छ । यो क्षेत्र सडक विस्तारका क्रममा पहाड काटिएका क्षेत्र भएकाले पहिरो जोखिम वढेको हो । नयाँ नयाँ ठाउँको पहिरोले अहिले सवैलाइ सास्ति दिएको छ ।

आयोजनाले पहिरो नियन्त्रणका लागि गरिँदै गरिएका कामहरुमा रुख विरुवाहरु रोपेर पहिरो नियन्त्रण गरिने प्रविधि ‘वायोइन्जिनियरिङ’ गर्दै छ । यो प्रविधि नेपालको आफ्नै मौलिक प्रविधि हो । यसलाई पहिलो पटक पृथ्वीराजमार्गको कृष्णभीरमा प्रयोग गरिएको थियो । यसका साथै जुटका बोरामा माटो राखेर पहिरो झर्न रोक्ने र त्यहाँ जरा भएका घास रोप्ने कामलाई ‘जुट मेटिङ’ भनिन्छ । यहाँ यो प्रविधि पनि अवलम्वन गरिएका छन् ।

“जसरी हुन्छ माथिबाट खस्ने कमजोर माटोलाई खस्नबाट रोक्ने काम गर्ने हो”, उहाँले भन्नुभयो । उहाँ थप्नुहुन्छ “केही ठाउँहरूमा पहिरो नियन्त्रणको प्रयास त भइरहेको छ तर त्यो प्रयाप्त छैन अहिले वर्षाद् सुरु हँुदै गर्दा पहिरो खस्नेक्रम सुरु भइसकेको छ । यो वर्ष वर्षादमा पहिरोले सडकलाइ धेरै दुःख दिने छ ।”

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: